चीनको कोरलादेखि भारतको सुनौलीसम्म पुग्ने उक्त मार्ग निर्माणले नयाँ व्यापारिक रुट पहिचान हुनेछ। उत्तर-दक्षिण जोड्ने उक्त मार्ग अहिलेसम्मकै छोटो दूरी तीन सय ५३ किलोमिटरको हुनेछ।
उक्त मार्ग चीनको कोरला नाकासँग जोडिएपछि त्यहाँबाट मानसरोवरसम्म पुग्न करिब पौने तीन सय किलोमिटरमात्र दूरी पार गर्नुपर्ने हुनाले हिन्दुहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ हुँदै भगवान् शिवको तपोभूमि कैलाश मानसरोवरसम्मको धार्मिक पर्यटनको सम्भावना समेत यसले जोड्नेछ।
कालीगण्डकी नदीको किनारैकिनार जाने यो मार्गको अवधारणा १७ वर्षअघि सार्वजनिक भएको थियो।
सरकारले २०६४ सालदेखि बागलुङ बजारमा कार्यालय स्थापना गरी निर्माण थालेको हो। हाल उक्त कार्यालय पाल्पामा सारिएको छ।
कालीगण्डकी करिडोर केन्द्रीय सरोकार समितिका प्रवक्ता टीकाराम ढकालले यो सडकबाट हिमालदेखि तराईसम्मका नौ जिल्लाका दुई सय ३१ गविसले प्रत्यक्ष फाइदा लिने बताए।
भारत र चीनका लागि पनि यो मार्ग छोटो पर्ने भएकाले व्यापारिक दृष्टिमा दुई मुलुकलाई समेत फाइदा पुग्ने ढकाल बताउँछन्। 'यो मार्गको पर्यायवाची नाम विविधता मार्ग भन्न सकिन्छ', ढकालले भने, ‘पर्यटन, जैविक खानी र जलस्रोतका लागि करिडोर विकासको ढोका हो।'
पर्यटन, जलविद्युत्, कृषि, धार्मिक सम्पदामार्फत स्थानीय र राज्यलाई नै दीर्घकालमा करिडोरले महत्वपूर्ण फाइदा पुर्याउनेछ।
दुई वर्ष पहिले नै करिडोरको ट्र्याक खोल्ने कार्ययोजना भए पनि अझै २८ किलोमिटर ट्र्याक खोल्न बाँकी छ।
करिडोरमा बागलुङखण्डको मालढुगादेखि गुल्मी-बागलुङको सिमाना पालुङखोलासम्मको ट्र्याक खोल्न बाँकी रहेको हो।
निर्माण व्यवसायीले समयमा काम नगरेपछि उक्त खण्डको मालढुंगादेखि अमलाचौर गाविसको टाकुरीसम्मको १२ किलोमिटरमा हाल नेपाली सेनाले काम गरिरहेको छ।
ढकालका अनुसार यो मार्गको आसपासमा नेपालमा भएका प्रायः सबै संस्कृति र जातजातिको बसोवास छ। 'जलस्रोत, पर्यटन, जैविक विविधता र कृषि नै करिडोर निर्माणपछिका विकासका सूचक हुन्', ढकालले भने, ‘स्थानीयको जीवनस्तर उकास्न यो मार्ग कोसेढुगा साबित हुनेछ।'
कोरला नाकादेखि मुस्ताङको कागबेनीसम्म ९५ किमि, कागबेनीदेखि बागलुङसम्म ९५ किमि, बागलुङदेखि गुल्मीको रिडीसम्म ७० किमि, रिडीदेखि बुटवलसम्म ६८ किमि र बुटवलदेखि सुनौलीसम्म २५ किमि करिडोरअन्तर्गत पर्छ।
योमध्ये तीन सय २५ किलोमिटरमा ट्र्याक खोली अहिले सवारी सञ्चालनमा छन्। कोरलादेखि १७ किलोमिटर उत्तर गएपछि चीनको पक्की सडकसँग यो मार्ग जोडिन्छ।
ढकालले चीनको कोरला नाका र भारतको सुनौली नाकालाई जोड्ने यो मार्गको पूर्ण सञ्चालनले तराईदेखि हिमालकै बहुआयामिक विकास हुने दाबी गरे।
'करिडोर हुन व्यापारिक नाका मुख्य आधार हो', लामो समयदेखि यो सडक बनाउन क्रियाशील ढकालले भने, 'सामान्य नागरिकदेखि राज्य तहसम्म नै यो करिडोरले फाइदा पु्र्याउँछ।'
कालीगण्डकी करिडोर निर्माणले अल्पविकसित पहाडी जिल्लाहरूको तीव्र विकास गर्न सहयोग गर्ने उनले बताए।
सरकारले आयोजनालाई प्राथमिकतामा राखेको भए पनि पर्याप्त स्रोतसाधन नहुँदा करिडोर निर्माणमा ढिलाइ भएको ढकालको बुझाइ छ।
उनले भने, ‘राज्यका नियम निर्माणव्यवसायीले नमान्दासमेत आयोजना प्रभावित भएको छ।'
आयोजनाका प्रमुख गुरूप्रसाद अधिकारीका अनुसार आर्थिक वर्ष ७५÷७६ सम्ममा करिडोरको अधिकांश भाग पिच गरिसक्ने योजना छ।
'हामिले तीन वर्षमा गैंडाकोटदेखि रिडीसम्मको खण्ड पिच गर्नेछौं', उनले भने, ‘अरू क्षेत्रमा ट्र्याक खोली स्तरोन्नतिका काम सञ्चालन हुनेछन्।'
बागलुङखण्डको बाँकी २८ किलोमिटर ट्र्याक खुलेपछि उत्तर-दक्षिण सीधा यातायात सञ्चालन हुनेछ।
करिडोर निर्माण सम्पन्न गर्न हालको मूल्यमा २२ अर्ब ६२ करोड ३५ लाख रूपैयाँ लाग्ने आयोजनाले बनाएको प्रारम्भिक योजनामा उल्लेख छ।
सडक पूरा गर्न २५ वटा पुल निर्माण गर्नुपर्छ। ती पुल निर्माणका लागि विभागले सर्भे जारी राखेको जानकारी अधिकारीले दिए।
करिडोरमा हालसम्म करिब २२ करोड रूपैयाँ खर्च भइसकेको पनि उनले बताए।
‘ग्रामीण क्षेत्रका सम्भावनाको विकास गर्न पनि करिडोर आवश्यक छ', अधिकारीले भने, ‘नयाँ सम्भावना खोजी गरी कृषिलाई आधुनिकीकरण गर्न सजिलो हुनेछ।'
यो सडकमा पूर्व-पश्चिम जोड्ने मध्यपहाडी (पुष्पलाल) राजमार्ग पनि जोडिने हुँदा आर्थिक समृद्धिका लागि यो मार्ग उत्तम हुनेछ।
यहाँका विभिन्न क्षेत्रमा रहेका फलामखानी, सिसाखानी र कालीगण्डकीकिनारमा पाइने सुुनबाट धेरै फाइदा लिन सकिने अधिकारीले बताए।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्तकुमार श्रेष्ठले व्यापारिक मार्गका रूपमा करिडोरलाई विकास गरी विभिन्न ठाउँमा बस्ती बसाइ बागलुङलाई व्यापारिक नाकाका रूपमा विकास गर्न सकिने बताए।
'करिडोरको ट्रान्जिट प्वाइन्टका रूपमा यहाँ विकास गर्न सकिन्छ', श्रेष्ठले भने, 'उद्योगव्यवसाय सँगै आन्तरिक उत्पादनलाई बजारीकरण गर्न करिडोरले सहयोग गर्छ।'
जिल्लामा प्रशस्त धार्मिक सम्पदा भएकाले करिडोरमार्फत धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने श्रेष्ठ बताउँछन्।
सहरीकरण र बस्ती विकासको नयाँ गन्तव्य
निर्माणाधीन कालीगण्डकी करिडोरको अर्को फाइदा सहरीकरण र बस्ती विकासका लागि नयाँ गन्तव्य बन्नु हो।
कालीगण्डकी किनारवारिपारि गरी १५ ठाउँमा नयाँ बस्तीको विकास गर्न सकिने सरोकारवालाहरू बताउँछन्।
'अहिले सबै सुविधायुक्त र सुरक्षित बसाइको खोजीमा छन्', प्रवक्ता ढकालले भने, 'सुविधाका दृष्टिले नयाँ बस्तीहरू उत्तम हुनेछन्।
'ती बस्तीहरू व्यापार र उद्योगधन्धाका लागिसमेत उपयुक्त हुने उनी बताउँछन्।
‘करिडोर प्रभावित क्षेत्रका एक बस्तीमा दस हजार घरधुरी बसाउन सकिन्छ', उनले भने, ‘पहाडी र तराई क्षेत्रमा एक लाख ५० हजार धरधुरीलाई नयाँ बस्तीमा राख्न सकिन्छ।'
ढकालका अनुसार करिडोरअन्तर्गत बागलुङको बलेवा, अर्जेवाको सुम्सादेखि छिस्ती, पर्वतको फलेबास, बाच्छा, रानीपानी, बर्राचौर, गुल्मीको अर्वेणी, अस्लेवा, स्याङ्जाको मिर्मी, बिर्घा, चापाकोट, पाल्पाको रामपुर, अर्गली र नवलसरासीको गुग्लीङटारदेखि कुस्टारसम्म नयाँ बस्ती विकास गर्न सकिन्छ।
सहरीकरण र बस्ती विकासका लागि यी क्षेत्र भौतिक पूर्वाधारमा बलिया छन्।
सम्भावनामा जलस्रोत र पर्यटन
उत्तरदेखि दक्षिणसम्म नै कालीगण्डकीकिनारमा पर्ने उक्त करिडोरमा करिब २० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ।
ऊर्जा इन्जिनियरहरूले कालीगण्डकी आसपासबाट उक्त परिमाणमा विद्युत् उत्पादनको सम्भाव्यता औंल्याएको करिडोर सरोकार समितिले जनाएको छ।
कालीगण्डकी करिडोरको अर्को फाइदा पर्यटन व्यवसाय फस्टाउनु हो।
उत्तर-दक्षिण छोटो मार्ग पाएपछि सबै पर्यटकले यही मार्ग नै प्रयोग गर्नेछन्।
विशेषगरी धार्मिक पर्यटकका लागि यो मार्ग उपयुक्त मार्ग बन्न सक्छ।
कालीगण्डकीकको स्नानपछि यहाँ रहेका धार्मिक स्थलहरू पर्यटकले एकै दिनमा भ्रमण गरेर सक्नेछन्।
लुम्बिनी आएका पर्यटकलाई मुक्तिनाथ लैजान र मुक्तिनाथमा आएकालाई लुम्बिनी पुर्याउन यो मार्ग उपयुक्त विकल्प हो।
हिन्दु र बौद्ध धर्मावलम्बीहरूले यो मार्गको प्रचुर उपयोग गर्न सक्नेछन्।
करिडोरअन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदरकुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन्।
उक्त करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन्। कालीगण्डमीमा मात्र पाइने शालिग्राम दर्शनका लागिसमेत धार्मिक पर्यटक आउने ढकाल बताउँछन्।
कोरलाबाट दुई सय ५७ किमि पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि उत्तम छ।