कतिसम्म गर्न सक्छ चौधरी ग्रुपले ?


पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रुपैयाँ स्रोत नखुलेको रकम चौधरीका नाममा भेटियो। अनुसन्धान गर्दै जाँदा त्यो रकम चौधरीले भारतमा वाईवाई, डाल्डा घ्यु लगायतका वस्तु बिक्री गरेर ल्याएर राखेको पत्ता लाग्यो। कर र जरिवाना तिरेर झण्डै पाँच करोड रुपैयाँ चौधरीले तिर्नुपर्‍यो। यो मुद्दा उठाउने र कारवाही गर्ने राजस्व अनुसन्धानका हाकिम सुरुमा अर्थमन्त्रालय तानिए त्यसपछि लोकसेवा आयोगमा फालिए। चौधरीको यही बैंक खाताबारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी छतबाट खसेर मरे। भन्ने बेलामा यसलाई कानुनी रुपमा ‘आत्महत्या’ भनियो। नेपालको वाणिज्य क्षेत्रमा प्रख्यात रहेको चौधरी ग्रुपले रकम असुल्नका लागि निर्दोष व्यक्तिलाई आफ्नो घरमा बन्दी बनाउने गर्छ भन्दा जो कोहीलाई पत्याउन मुश्किल पर्छ। तर नेपालका ४४ ओटा मानवअधिकारवादी संस्थाको साझा सञ्जाल मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको स्थलगत अध्ययन टोलीले यससम्बन्धमा गरेको अनुसन्धानपछि यही तथ्य फेला पारेको थियो। चौधरी ग्रुपले एक व्यक्तिलाई ५७ दिनसम्म निजी हिरासतमा राखेका थिए। यसका लागि प्रशासनले समेत सघाएको थियो। पैसाको रवाफका कारण यो समाचारलाई कुनै मिडियाले प्राथमिकता दिएन। त्यतिबेला वैकल्पिक मिडिया पनि थिएनन्। तर सत्य लुकाइए पनि मेटिएको छैन। हेर्नुस्, धेरैलाई थाहै नदिई लुकाइएको घटनाबारे मानवअधिकारवादी संस्थाहरुको स्थलगत अध्ययन टोलीको प्रतिवेदन जस्ताको तस्तै-
चौधरी ग्रुपद्वारा ५७ दिन बन्धक बनाइएका
भारतीय नागरिक लक्ष्मीकान्त शर्मासम्बन्धी
स्थलगत अध्ययन प्रतिवेदन ०६३
प्रतिवेदन सार्वजनिक भएको मितिः ०६३ असोज ४ गते, काठमाडौं।
मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको सचिवालय
घटना भएको स्थानः ललितपुरको हरिसिद्धिको माउण्टभ्यू कोलनी र जिल्ला प्रहरी
कार्यालय, हनुमानढोका।
घटना भएको अवधिः ०६३ असार ९ देखि ०६३ भदौ ५ गतेसम्म
अध्ययन गरिएको अवधिः ०६३ भदौ २० गतेदेखि ०६३ भदौ २२ गतेसम्म
अध्ययन गरिएको स्थानः ललितपुरको हरिसिद्धि, जावलाखेल र सानेपाका विभिन्न
स्थान र काठमाडौंस्थित उपत्यका अपराध अनुसन्धान शाखा, हनुमानढोका।

निचोड तथा सिफारिश

यस घटनामा चौधरी ग्रुपले लक्ष्मीकान्तलाई ५७ दिन निजी हिरासतमा गोप्य रुपमा
बन्धक बनाएर राखिएको पाइयो। लक्ष्मीकान्तलाई प्रहरीले पक्राउ गरी चौधरी ग्रुपलाई
बुझाएको पाइयो। उनका छोरा शशिकान्तलाई प्रहरीले २७ दिन गैरकानुनी थुनामा
राखी यातना दिएको र केरकारका क्रममा विष्णु महेश्वरीको उपत्यका अपराध
अनुसन्धान शाखा, हनुमानढोकाभित्रै रहस्यमय मृत्यु भएको पाइयो।
घटनामा चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी, महेशराज पन्त, जीपी साह, मोहन
ओझा र प्रहरीको महत्वपूर्ण हात रहेको पाइयो। खासगरी चौधरी ग्रुपको ज्यादतीप्रति
प्रशासन मौन रहेको देखिन्छ। घटनाका तथ्यहरुले चौधरी ग्रुपलाई प्रहरीले सघाएको
देखिन आउँछ।
चौधरी ग्रुपले प्रहरीलाई बुझाएका शशिकान्तलाई रकम हिनामिनाको आरोपमा पक्राउ
गरी २७ दिन बिना पूर्जि प्रहरी हिरासतमा राखेर यातना दिई भदौ ४ गते मात्र
मुद्दाको प्रक्रिया शुरु गरिएको पाइयो।
लक्ष्मीकान्तलाई ५७ दिन निजी हिरासतमा राख्ने चौधरी ग्रुपका सो कार्यमा संलग्न र
अध्यक्ष बिनोद चौधरीले कानुन विपरितको कार्य गरेकाले दोषीहरूलाई कानुन
बमोजिम कारवाही गर्न र सो कार्यमा सहयोग गर्ने प्रहरीलाई तत्काल कारवाही गर्नु
पर्दछ। साथै चौधरी ग्रुपले लक्ष्मीकान्तको उपचारका लागि नर्भिक अस्पतालबाट दुई
जना चिकित्सकलाई गोप्य रुपमा प्रयोग गरेको तर तिनको नाम सार्वजनिक नगरेकोले
यो घटनामा नर्भिक अस्पतालको पनि अप्रत्यक्ष रुपमा संलग्नता रहेको देखिन्छ। तसर्थ
लक्ष्मीकान्त शर्माको उपचारमा संलग्न चिकित्सकको नाम सार्वजनिक नगरेकोले
यसमा स्वास्थ्यकर्मीलाई समेत दुरुपयोग गरेको देखिएकोले यसको जिम्मेवारी चौधरी
ग्रुपले लिनु पर्दछ।
त्यसैगरी केरकारका क्रममा विष्णु महेश्वरीको उपत्यका अपराध अनुसन्धान शाखा,
हनुमानढोकामा रहस्यमय मृत्यु भएको घटनाको छानबिन गरी दोषीहरूलाई कारवाही
गरिनु पर्दछ।
बिना पूर्जी र मुद्दाको प्रक्रिया विना २७ गैरकानुनी हिरासतमा राख्ने उपत्यका अपराध
अनुसन्धान शाखा र जिल्ला प्रहरी कार्यालयका दोषीहरूलाई तत्काल कारवाही गरिनु
पर्दछ। लक्ष्मीकान्त शर्मालाई ५७ दिन गोप्य रुपमा बन्धक बनाउने चौधरी ग्रुपबाट
पीडितलाई कानुन अनुसार क्षतिपूर्ति दिलाउन र चौधरी ग्रुपद्वारा जफत गरिएका सबै
सामान तत्काल फिर्ता गराइनु पर्दछ।
उपत्यका अपराध अनुसन्धान शाखामा अभियुक्तलाई केरकार गर्ने क्रममा विष्णु
महेश्वरी बाहेक यसअघि अरु चार जनाको समेत ज्यान गएको बताइएकोले सो
सम्बन्धमा तत्काल छानबिन गरी दोषीलाई कारवाही गरिनु पर्दछ।
प्रहरीबाट अपराध अनुसन्धान र तहकिकातका समयमा गरिने केरकार र यातना
मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरू विपरित भएकाले त्यस्ता कार्य रोकिनु
पर्दछ। त्यस्ता कार्यमा संलग्नहरूलाई कारवाही गरिनु पर्दछ।
भारतीय राजदुतावासले भारतका नागरिक शकिकान्तलाई नेपाल झिकाउन चौधरी
ग्रुपलाई सहयोग गरेको देखिन्छ, तर आफ्नो नागरिकलाई नेपाल बुझाएर प्रहरीको
जिम्मा लगाउन दुतावासले कुन कानुन अन्तर्गत किन आवश्यक ठानेको हो? स्पष्ट
भएको छैन्। यस बारेमा दुतावासले आधिकारिक भनाई सार्वजनिक गर्नु पर्दछ।

मुन्टो हल्लाएर पन्छिए रेग्मी !

khilraj regmiन्युयोर्क, आश्विन १४ - कार्यक्रमलाई अन्तरक्रियाको नाम दिइएको थियो । उपस्थिति उल्लेखीय नभएपनि धेरै जसोहरु प्रश्नहरुको फेहरिस्त लिएर गएका थिए । तर, त्यसको ठिक उल्टो, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी भने लिखित भाषण लिएर उपस्थिति भएदिए ।
सहभागीहरुले प्रश्नहरु ओइराए, तर रेग्मीले कहिले मुन्टो हल्लाउँदै, कहिले गालामा हात राख्दै, अनि मौन रहँदै जिज्ञाशाहरुको बेवास्ता गर्दै गए । समयको पाउबन्दी भन्दै लिखित मन्तव्य दिएर रेग्मी फुत्किन खोजेका थिए । तर प्रश्नहरु आइरो लागिहाले । 
आदिवासी जनजाति महासंघ अमेरिका र उसका सहयोगी संस्थाहरुले आयोजना गरेको सो अन्तरक्रियाको सुरुवातमै आयोजक मध्येकी एक परिता राजभण्डारीले पहिलो पटक संविधान बनाउने नसक्ने असफल पार्टीहरुका नेताहरुले पाठ सिकुन् भन्दै कविता पाठ गर्दा, त्यसलाई समर्थन गरेझैं रेग्मी मुन्टो हल्लाउँदै थिए ।
अर्का एक वक्ताले भने' प्रवासीहरुको चापलाई मध्यनजर गर्दै सरकारले छुट्टै न्युयोर्कमा काउन्सुलर अफिस खोल्नु पर्छ ।' शायद कुरो, मन्त्रिपरिषद अध्यक्ष रेग्मीका लागि चित्त बुझेको हुनुपर्छ, मनले खाए झैं उनले राम्रै सँग टाउको हल्लाए । आयोजक संस्थाका अध्यक्ष विनोद पोमु र राष्ट्र संघका लागि नेपाली प्रतिनिधि दुर्गा भट्टराईको बीचमा बसेका रेग्मी पटक पटक भट्टराईसँग कानेखुशी गर्थे ।
धेरै जसो समय मलिन देखिएका रेग्मीलाई सहभागीहरुको प्रश्नहरुले अप्ठारो पारेको जस्तो देखिए पनि उनी सजिलै पन्छिन्थ्ये ।  मधेस मुलका एक अर्का सहभागीले ठाडै सोधे'तपाई संघीयताको पक्ष वा विपक्षमा ? संघीयताले देश जोडछ् कि फुटछ् ?' प्रतिउत्तरमा रेग्मीले भने 'संविधान सभाको निर्वाचन पछिको स्थितिलाई मैले आंकलन नगरौं र अभिब्यक्ति नदिउँ ।' सहभागीहरुले फेरि भाँझो हाले, 'एउटै ब्यक्ति मुलुकका दुई महत्त्पूर्ण पदमा बस्न तपाईंको नैतिकताले दिन्छ् ?'
आफू कसरी, किन मन्त्रिपरिषदको अध्यक्ष बन्ने बिषयमा उनले पुरानै भनाइ दोर्‍याए  भने 'पद, मैले चाहेको होइन्, परिस्थितिबाट सिर्जना भएको हो ।' शक्ति पृथकिकरणबारे उनको आफनै तर्क थियो 'म शक्ति पृथकीकरणलाई सम्मान गर्ने ब्यक्ति हुँ । दुई पदमा आसिन भए पनि म अहिले न्याय क्षेत्रमा सक्रिय छैन् ।' उनको प्रतिप्रश्न थियो,'यो अवस्था कसरी शक्ति पृथकीकरण विपरीत भयो ?'
रेग्मीलाई सेना परिचालन र वैद्य समूहको बहिष्कारको सम्बन्धमा प्रश्न गरिँदा उनले सेना परिचालन कसैविरुद्व नभएर चुनावको सुनिश्चितताका लागि भएको दाबी गरे । आफ्नो राजीनामाको मागको बिषयलाई अप्रत्यक्ष रुपमा सम्बोधन गरेका रेग्मीको भनाइ थियो,'एउटै कुरालाई बारम्बार उठाएर घुर्कि लगाउँदैमा चुनाव रोकिँदैन् ।' भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई भेटवार्ता गरेको केहि घण्टापछि आयोजित कार्यक्रममा बोल्दै भने,' ८० प्रतिशतले भाग लिएपछि, अरुले के गर्छन्, त्यसले अर्थ खासै अर्थ राख्दैन ।'

के हामी आत्मदाह गरौँ?

-दीपक भेटवाल-
dohaउता मुलुकमा राजनीतिको सपना-खेतीबाट वाक्क भएका सर्वसाधारण नेपालीहरुको सजिलै काँचो पसिना बिक्ने ठाउँ भनेको खाडी नै हो। सबै साक्षी हुनुहुन्छ कतारका नेपालीहरुले टन्टलापुर घाममा खेपेका हैरानी र सास्तिहरुको। वर्षौदेखि आफनै देशका शासक प्रशासकबाट ठगिँदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्। जब तिनले पाउनु पर्ने हक, अधिकार सम्मानमा धमिरा लागेर यातना, अवहेलना र डसाईले ‘गलित’ भएर ठगिन्छन्, आफ्नो दुःख र गुनासोको पोको लिएर केही होला कि भन्ने आशामा सहाराको अन्तिम त्यान्द्रो दुतावासको ढोका समाउँछन्। तर जब दुतावास पुग्छन्‌ अनि तिनको आत्मसम्मान, पिडकसँग कानुनी लडाई लडछु भन्ने आत्मबल र आफनै देशको दुतावासप्रतिको तिनको भरोसा सबै धुलिसात हुन्छन। दुतावासभित्र तिनको हात समातेर, ध्यानपूर्वक तिनको गुनासो सुनेर तिनले पाउनु पर्ने हक, अधिकार र सम्मानको पक्षमा खरो पैरवी गर्ने कोही भेटिँदैन। यो कोठाबाट त्यो कोठामा जाऊ भनिन्छ, त्यो कोठाबाट यो कोठामा जाऊ भनिन्छ। तलबाट माथि जाऊ भनिन्छ, माथिबाट तल जाऊ भनिन्छ। अथक प्रयासपछि भनेको कोठामा पुग्यो, झन् उल्टै किन नबुझी आएको त? हामीलाई सोधेर आएको हो र? भन्ने जवाफसँगै हुर्मत लिने अर्को श्रृङ्खला सुरु हुन्छ। 

हुनलाई दुतावासको आरामदायी कुर्सीमा विराजमान रातो पासपोर्टधारीहरु नेपाली मजदुरहरुको पीडा, हैरानीको बुझबुझारथ गर्न गरिब राज्यको ढुकुटीबाट यथेष्ट सेवा सुविधा खाएर बसेका छन्। तर जब दुतावासमा आफ्नो हक स्थापित गराइमाग्न नेपाली मजदुर सुस्केरा काड्दै आउँछन्, तिनलाई ढाढस दिने, हामी छौँ नि भनेर तिनको आत्मबल उकास्ने लन्ठो कसैले गर्दैन। मजदुरको नाम तलब भत्ता खाने रातो पासपोर्टधारीहरुलाई दुतावासमा दैनिक कुनै गोरखधन्दा लिएर आउने मजदुर-पीडक ठगदलालहरुको सेवा सत्कारमा खटिँदै फुर्सद हुँदैन। मानौं, तिनले राज्यले तिनलाई ठगदलालहरुको सेवा सत्कारको खातिर खटाइएको हो। तैपनि केही हातलागी हुन्छ कि भनेर कोठा-कोठा चहार्दै पीडित मजदुर राजदुतको कोठाभित्र छिर्न खोज्छन्। राजदुतको कोठाबाहिर बस्ने जब्बर ढोकेले पीडितलाई झ्याप्पै रोक्छ। यो ढोकेको काम बडो लोभलाग्दो छ। ठग, दलाल कम्पनीको मालिक आए सुरुक्क भित्र छिराउँछ, झुत्रा/मैला मजदुर आएमा बाहिरै तिनको सातो लिइन्छ। ‘किन आएको? के काम छ? राजदुत भित्र मिटिङमा हुनुहुन्छ। एकछिन पख्नुस्।’
तर पर्खँदापर्खँदै घाम डुब्छ। यसरी आशा र भरोसाको अन्तिम त्यान्द्रो पनि चुँडिएपछि कोही कम्पनी छाडेर भाग्छन, कोही ज्यान बचाउन आफ्नो पाउनुपर्ने पसिनाको कमाई माया मारेर जेलको नारकीय बाटो हुँदै स्वदेश फर्कन्छन। कोही आत्मदाह गरेर मर्छन्। कोही बेपत्ता हुन्छन्। समालको मरुभूमिमा खाली पैतालाले तातो बालुवा टेकेर भेडा चराइरहेको वीरबहादुर १३ वर्ष भयो देश नफिरेको। तपाईँका स्वाभिमानी नागरिकले कहिलेसम्म यो नियती भोगिरहने राष्ट्रपति महोदय? महोदय, दुतावास ओहोर दोहोर गरिरहने भुक्तभोगीहरुले सुनाएको दुई थान घटनाको म वर्णन गर्न चाहन्छु :
१) दुतावासमा राजदुतको ढोकाबाहिर आफनो समस्याको पोको फुकाउन ओठतालु सुकाएर अत्यासलाग्दो मुद्रामा पीडितहरुको घुइँचो छ। कहिले पालो आउला भनेर ढोकातिर हेर्दै ढोकेसँग चाहना गरिरहेका छन्। भित्रबाट बोलावटको केही सुइँको आउँदैन। आफ्नै चुच्चोले आफनै घाउ ठुँग्न विवस कुनै अभागी चराजस्ता आफनो घाउ आफै ठुँगेर पीडितहरु खुइ गरिरहेका छन्। तैपनि भेट्ने पालो आउँदैन। महामहिम राजदुतसँग घण्टौँ चियागफ लडाएर बाहिर निस्केको रैथाने नारदले शहरभरी खबर बाँडिरहेको हुन्छ कि त्यसबेला महामहिम मस्तमुद्रामा जी च्यानलको सिरियल हेरेर बसिरहेकी रहिछिन्। हे पशुपति, यो मजदुरका गुनासाहरुले भरिएको कतारको नेपाली नियोग हो कि कुनै युरोपेली शानशौकतको केन्द्र?
२) एउटा नेपाली म्यानपावरवालाले तलबमान र सेवा सुविधा झुक्याएर कामदारहरु पठाएछ। पीडित कामदारहरु म्यानपावरउपर कारवाही गरीपाऊँ भनेर जाहेरी गर्न जाँदा उसैगरी ढोकेले छेकेछ र, घण्टौँ बाहिर कुराएछ। बुझ्दै जाँदा थाहा लागेछ- महामहिम राजदुत त भित्र तिनै पीडितलाई झुक्याउने म्यानपावर मालिकलाई चिया सत्कार गदै हुनोहुँदोरहेछ। पीडितबाहिर फलामे कुर्सीमा न्याय कुरेर बसेका छन्, पीडकहरु भने भित्र मखलेल मुद्रामा महामहिमसँग आरामदायी सोफामा बसेर चियागफमा व्यस्त छन्। राष्ट्रपति महोदय, यी निरीह तपाईँका नागरिक अब कहाँ जाने? पत्याउँदा मुटु चसक्क हुन्छ तर महोदय, कतारको नेपाली दुतावासको कठोर सत्य यही हो।
उसो त राजदुत मायाकुमारी शर्मा नियुक्तिको कथा पनि बडो बिद्रुप खालको छ। सर्वहारा वर्गको मसिहा भनिने माओवादीले राजदुत नियुक्ति गर्दा हामीलाई लागेको थियो, आम नेपाली मजदुरहरुको बास रहेको कतारका नेपालीहरुको अब कल्याण हुने भो। मजदुर पार्टीको राजदुतले कम्तिमा मजदुरको हेलाहोचोको सुनुवाई गर्नेछिन्। तर जसै मजदुर पार्टीको घरानियाँ राजदुतले कतारमा पाइला टेकिन्, हाम्रा सबै आशहरु खरानी भए। अझ गजबको कुरा त यो संसदीय सुनुवाईको फलामे ढोकाबाट यस्तो अक्षम राजदुत कसरी पास भइन्? के संसदीय सुनवाई समितिमा पनि दलीय भागवण्डामा परेका अक्षमहरुको भीड मात्र छ? कुटनीतिक मामलामा दक्ष, विषय र जिम्मेवारीलाई गम्भिरतापूर्वक बोध गर्न सक्ने क्षमता, आफूले दुतावास सम्हालेको मुलुकमा आफनो राज्यको तर्फबाट गर्नुपर्ने प्राथमिक कामको सूचिहरु के-के हुन् भनेर समेत पहिल्याउन नसक्ने उम्मेदवारलाई माओवादीले कसरी राजदुतमा सिफारिश गर्‍यो? संसदीय समितिले के-के अन्तर्वार्ता लियो? ठूलो पार्टी भनिएको माओवादीको गैरजिम्मेवारीपनले गर्दा पीडित नेपाली मजदुर यो परदेशी भूमिमा आँसु र पसिना पिउन बाध्य मात्र छैनन्, अन्य मुलुकका दौतरीहरु सामु पनि हाम्रो शिर झुकेको छ। ति शिर ठाडो पारेर सोध्छन्- ‘तिम्रो मुलुकमा राजदुत हुन लायक मान्छे कोही छैनन्?’ के उत्तर दिनु हामीले?
सर्वहारा पाटीले सिफारीस गरेको घरानियाँ राजदुतको कुरा भनिसाध्य छैन। नेपाली दुःखीहरुको पीडाको घाउ पाकेर कतारको नेपाली दुतावास दुर्गन्धले भरिएको छ। जहाँ नागरिककै शिर झुकेको छ, त्यहाँ चन्द्रसुर्य अंकित झण्डाको पनि के शान? दुतावासको धुरीमा ठडिएको नेपालको राष्ट्रिय झण्डाको सान निहुरमुन्टी बनेको देखिन्छ। हामीले धेरै पटक भन्यौ, धेरैलाई भन्यौ। तत्कालिन माओवादीको सरकारलाई भन्यौँ। प्रशासन हाँकेर बसेका मुलि प्रशासकहरुलाई भन्यौ। सिफारिशकर्ता माओवादीका ठुलै नेतालाई पनि घरानियाँ राजदुत फिर्ता गराएर मजदुर हितैषी राजदुत पठाईपाउँ भनेर भन्यौँ। ती नेताहरु आए, भाषण ठोके, आश्वासन दिए र गए। भन्ने ठाउँमा भनेका भन्यै छौ। लेख्ने ठाउँमा लेखेका लेख्यै छौँ। तैपनि हामी यस्तो अक्षम राजदुत खेप्न बाध्य छौ। बोलेका बोल्यै छौ। बोल्यो हावाले उडाउँछ। न छाति पिटेर रुनु, न भित्तामा टाउको फुटाउनु। मान्छे एउटा निर्भिक प्राणी हो, चारैतिरबाट इमानमा बाँझो पल्टेर सत्यको घाँटी रेटेको हेरिरहँदा उकुसमुकस भएपछि मान्छेले आत्मदाह समेत गर्न पछि नपर्ने रहेछ। के हामी राजदुत फिर्ता गराईपाउँ भनेर अब आत्मदाह गरौँ?
(लेखक कतारस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समितिका संस्थापक अध्यक्ष एवं मजदुर प्रतिनिधि हुन्)

युरोपमा मानव तस्करको फन्दामा नेपाली




 अवैध बाटो हुँदै अमेरिका पुग्ने लोभमा धेरै नेपालीले मेक्सिको तथा ग्वाटेमालामा बन्दी जीवन बिताइरहेका छन् ।
केही चेलीहरु अफ्रिकामा नारकीय जीवन बिताउन बाध्य भैरहेका छन् । अफ्रिकाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पुगेका विद्यार्थीहरुले पनि सास्ती खेपिरहेका छन् ।
अमेरिका र अफ्रिका एउटा उदारहण मात्र हो । बाहिर त्यति सार्वजनिक नभएपनि युरोपमा दलालमार्फत पुग्ने नेपालीहरुले पाएको सास्ती पनि उत्तिकै दर्दनाक नै छ । युरोप छिर्ने क्रममा रोमनिया र हंगेरीको सिमानामा समातिएका केही नेपाली विगतमा जेल जीवन बिताएर स्वदेश फर्किसकेका छन् ।
खकुलो नीतिका कारण युरोप छिरेकाहरु वैधानिक बन्न पोर्चुगल जाने क्रम बढ्न थालेको छ । विषेशत बेल्जियम, स्पेन, नेदरल्याण्डस् र फ्रान्सको तुलनामा शरण लिन नपर्ने हुनाले पनि त्यता चाप बढेको हो ।
विभिन्न कार्यक्रमका लागि भनेर नाम चलेका संस्थाहरुले नेपालीहरु युरोप पुर्‍याउने गर्छन् । केही दिनअघि मात्र बेल्जियममा च्यारिटी सो को लागि भनेर कलाकारहरुसँग आएका थप १७ जना फर्केनन् । त्यस्तै गरेर एसेन्टा २०१३ मा पनि धेरै व्यक्तिहरु बेल्जियम छिरेर यतै बसेको तथ्य सार्वजनिक भैसकेको छ ।
अहिलेको समयमा युरोप छिर्ने सबैले १० देखि १५ लाख रुपैयाँसम्म दलाललाई बुझाउने गर्छन् । तर उनीहरुले तिरेको मोटो रकम ३/४ वर्षसम्म पनि उठ्न हम्मे पर्ने गर्छ । वैधानिक हुने/नहुने त्यो पनि निश्चित हुँदैन । भैहाले पनि उनीहरुको लगानीले डाँडा काटिसकेको हुन्छ । युरोपको कुनै पनि देशमा वैधानिक काम पाइहालेमा आफ्नो दैनिक गुजारा चलाउनमै ठिक्क हुने गर्छ ।
विभिन्न माध्यमबाट कार्यक्रमको लागि भनेर पुग्नेहरु फर्के वा फर्केनन् भन्ने कुरा न त सम्बन्धित देशले नै वास्ता गर्छ, न त नेपाल सरकारले नै । नाम चलेका संस्थाहरु गरिखाने भाँडो भएका छन् । नेपाली कलाकारहरुलाई पनि प्रयोग गरिएका छन् ।
युरोपमा नेपाल प्रवद्र्धनका नाममा हुने विभिन्न व्यवसायिक कार्यक्रमहरु मानव तस्करीको दह्रो माध्यम भएका छन् । खाडी मुलुकमा गएर दुःख पाउने नेपालीको जस्तै पीडा युरोपमा नेपालीहरुले भोगिरहेका छन् ।
युरोपको आर्थिक मन्दीको अवस्थामा मोटो रकम खर्चेर जानेहरुका लागि केही कडा नियम नेपाल सरकारबाट हुनु जरुरी छ । यतिका धेरै रकम नेपालमै खर्च गरेर केही इलम गर्न सकेको खण्डमा बरु आउनेहरुलाई नै फाइदा पुग्ने देखिन्छ । अर्कोतर्फ यसरी ल्याउने व्यक्तिहरुलाई पनि कानुनी कार्वाहीको दायराभित्र ल्याउनु आजको आवश्यकता छ ।
तसर्थ ठूलाठूला सपनाहरु बुनेर अहिलेको अवस्थामा युरोप छिर्न खोज्नु मुर्खता नै हो । यहाँ सोचे जस्तो सहज छैन । निकै कठिन छ, यहाँको अवैधानिक जिन्दगी । वैधानिक हुने योजनाका साथ वर्षौंसम्म यतै बस्न खोज्नेहरुको आफ्नै समस्या छ ।
युरोपका देशहरुमा दिन प्रतिदिन नियम कानुन कडा बनाउँदै लगिएका छन् । अझै नयाँ आगन्तुक शरण लिनेहरुलाई त फलामको चिउरा चपाउनु सरह नै छ, युरोपियन जिन्दगी ।
युरोपियन देशहरुमा विभिन्न माध्यमबाट हुने मानव तस्करका गतिविधिलाई रोक्न नेपाल सरकार चनाखो हुन जरुरी छ ।
विभिन्न कार्यक्रमका लागि भनेर यता आएका व्यक्ति स्वदेश फर्कन्छन् वा फर्कँदैनन्, त्यसको कडा निगरानी हुन आवश्यक छ । अन्यथा कुनै दिन देशको इज्जत नेपाली तस्कर दलालहरुले माटोमा नमिलाउलान् भन्न सकिँदैन ।

१० वर्षमा ३५ लाख रोजगारीको प्रतिबद्धता माग


काठमाडौ, आश्विन ११ - दोस्रो संविधानसभाको निर्वाचनका टिकट बाँडफाट तीव्र भइरहेका बेला उद्योग वाणिज्य महासंघले १० वर्षमा ३५ लाख रोजगारी दिन सक्ने आधार तयार पार्न दलहरूलाई चुनौती दिएको छ । संविधानमै बजेट ल्याउने मिति तोकिनुपर्ने, ठूला पूर्वाधारमा निर्वाध लगानीको वातावरण बनाइनुपर्ने र हालको आर्थिक वृद्धिदरलाई कम्तीमा ३ गुणा बढाउने कार्ययोजना दलहरूले घोषणापत्रमै समेट्नुपर्ने सुझाव महासंघको छ ।
सरकार पछिको ठूलो सञ्जाल रहेको महासंघले ३ ठूला दलका नेतृत्वसँग अन्तक्रिया गरी लिखित सुझाव दिएको हो । महासंघले निजी क्षेत्रको साझेदारीमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सार्वजनिक गर्नुपर्ने माग राखेको छ ।
रोजगारी बढाउन नीति निर्माण तहमा पुग्नेहरूले प्रशासनिक झन्झट हटाई लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने, उद्यमशीलता बढाउन तालिम लगानीकर्तालाई सहुलियत उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।
'लगानीलाई कुल गार्हस्थ उत्पादनको कम्तीमा ४० प्रतिशत पुर्‍याउने । उत्पादनमूलक क्षेत्रमा लगानी र बचत गर्न प्रोत्साहन गर्ने,' महासंघ अध्यक्ष सुरज वैद्यद्वारा प्रस्तुत सुझावपत्रमा भनिएको छ, 'सामाजिक सुरक्षा, श्रम लचकतासहितको कानुन, निजी र सरकारी क्षेत्रको निरन्तर संवाद हुने संरचनाको व्यवस्था, निजी संस्थालाई स्वतन्त्र सञ्चालन गर्ने विशेष ऐन -चेम्बर कानुन) को व्यवस्था गर्नुपर्ने हुन्छ ।' महासंघले अर्थतन्त्रका मजबुत पार्न ९ शीर्षक बनाई सुझावपत्र पेस गरेको हो ।
दलहरूले पाँचवर्षे रणनीतिमा साझा आर्थिक एजेन्डामा पनि सहमति जनाउन महासंघले भनेको छ । संविधानसभामा व्यावसायिक क्षेत्रको पाँच प्रतिशत प्रतिनिधित्व, ऊर्जालाई आर्थिक वृद्धिको माध्यमका रूपमा प्राथमिकता, सरकारको लगानीमा एक हजार मेगावाटका जलाशययुक्त आयोजनाको निर्माण गर्नुपर्ने सुझावसमेत दिइएको छ  । '१५ वर्षसम्म स्थानीय चुनाव नभई विकास निर्माण ठप्प भएकाले यथाशीघ्र स्थानीय निकायको चुनाव हुनुपर्ने छ,' सुझावपत्रमा उल्लेख छ ।
४ प्रतिशतभन्दा कमको आर्थिक वृद्धिदर, उत्पादनमूलक क्षेत्रको योगदान ६ प्रतिशतमा सीमित, आकासिँदो व्यापार घाटा, वाषिर्क ४ लाख श्रमशक्तिको पलायन, ५० प्रतिशतभन्दा कम क्षमतामा उद्योग सञ्चालन, भ्रष्टाचार र आर्थिक अनियमिततामा कमजोर प्रशासन प्रणाली मौलाउँदै गएको भन्दै महासंघले दलको घोषणापत्रमै उक्त कुरा समावेश गर्न दलहरूलाई दबाब दिएको महासंघले जनाएको छ ।
'सत्ता सञ्चालनमा पुग्ने दलले चुनावी घोषणपत्रमै उक्त कुरा उल्लेख गरेर लगानीमैत्री वातावरण सृजना गरे निजी क्षेत्रले १० वर्षमा ३५ लाख रोजगारी सृजना गर्न सक्छ भन्ने सन्देश पनि हो,' महासंघका महानिर्देशक हेमन्त दवाडीले भने, 'त्यसका लागि निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन हुनुपर्‍यो ।'
दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न माथिल्लो कणर्ाली, पश्चिम सेती, बुढी गण्डकी, माथिल्लो मस्र्याङ्दी, तल्लो अरुण, अरुण तेस्रो, माथिल्लो तमोरजस्ता आयोजना निर्माण गरिनुपर्ने माग महासंघको छ । 'उत्तर-दक्षिण जोड्ने ४ सडक, पूर्व-पश्चिम रेलमार्ग, पूर्व- पश्चिम लोकमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्र गतिमा गर्नुपर्ने हुन्छ,' सुझावमा भनिएको छ ।
निजी क्षेत्र प्रोत्साहन र झन्झटिलो व्यवस्थाको अन्त्य गर्न विशेष आर्थिक क्षेत्र ऐन, औद्योगिक व्यवसाय ऐन, ऊर्जा सम्बन्धी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, कम्पनी, श्रम र करार खेती ऐन ल्याउन पनि निजी क्षेत्रले अनुरोध गरेको छ । महासंघले जनाएअनुसार २ वर्षभित्र १ खर्ब निर्यात पुर्‍याउने लक्ष्य, सम्भाव्यताको आधारमा निर्यात प्रवर्द्धन, खानी र कृषिजन्य उद्योगलाई जोड, नयाँ र विशिष्ट वस्तुको पहिचान, भेन्चर क्यापिटलको व्यवस्था, लघु तथा साना व्यवसायीलाई ऋण सहुलियत र ठूला व्यवसायीसँग सामन्जस्यतालगायतको नीतिमा जोड दिइएको छ ।
सामाजिक पूर्वाधार विकासतर्फ पनि दलहरूको ध्यान पुग्न जरुरी ठानेको जनाइएको छ । त्यसका लागि शिक्षा स्वास्थ्यमा राजनीतीकरणको अन्त्य र ऐन नियमको सरलीकरण, समुदायमार्फत सेवा प्रवाह, पूर्ण प्रतिस्पर्धालाई प्रवर्द्धन, स्वतन्त्र र पारदर्शी नियमन गर्ने संयन्त्रको विकास गर्नुपर्ने सुझाव दलहरूलाई दिइएको छ ।

सेनाका क्याप्टेन करोडौं ठगेर फरार

काठमाडौ, आश्विन १३ - प्लटिङको जग्गा मिलाइदिने भन्दै नेपाली सेनाका बहालवाला क्याप्टेन करोडौं रुपैयाँ लिएर फरार भएका छन् । नेपाली सेनाको ४ नम्बर वाहिनी अड्डा नेपालगन्जमा कार्यरत क्याप्टेन रेवन्त केसी र उनकी पत्नी किरण सिंह ठकुरी भन्ने विष्णु सिंह ठकुरीले झन्डै दुई दर्जन व्यक्तिबाट ६२ लाख रुपैयाँ ठगी गरेका हुन् ।
उनीहरूले २०६८ साल चैतदेखि विभिन्न व्यक्तिबाट रकम असुलेर जग्गा नदिएको पाइएको छ । पीडित भएका ७ जनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् । काठमाडौं परिसरले सैनिक प्रहरीलाई पत्राचार गर्दै क्याप्टेन केसीलाई उपस्थित गराइदिन भनेको छ । क्याप्टेन केसीले सानो भर्‍याङकी गीता कार्की, सुकेधाराकी रीता केसी, सुकेधारा बस्ने माधव भुजेल, मैतीदेवीकी हरिकुमारी राई, चाबहिलकी नीला तिम्सिनालगायत ७ जनालाई ठगी गरेका हुन् ।

बजेटमा परेको विद्युत आयोजनका लागि सरकारले थप १ अर्ब दिने

 सरकारले बजेटमा समावेश भएका विद्युत आयोजना निर्माणका लागि थप एक अर्ब रुपैयाँ दिने भएको छ ।
विद्युत प्राधिकरणका कर्मचारीसँगको भेटमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले यस्तो जानकारी दिनुभएको हो ।
उहाँले यस्ता आयोजनाको काम द्रुत गतिमा अघि बढाउन पनि आग्रह गर्नुभएको छ । सरकार आफैंलेले बनाउन लागेका परियोजना समयमै सम्पन्न गर्न परेका नीतिगत, व्यावहारिक र प्रक्रियागत सुधार समन्वय गरेर अघि बढाउने भन्दै कोइरालाले त्यसका लागि राष्ट्रिय योजना आयोग, सरोकारवाला मन्त्रालयहरुसँग बसेर समाधान खोज्ने बताउनुभयो ।
उहाँले वन र स्थानीय स्तरमा उब्जिएका झिनामसिना समस्याले राष्ट्रिय आयोजनाहरु नै प्रभावित भएको दृष्टान्त दिँदै मुआब्जा बढाएरै भएपनि ट्रान्समिसन विस्तारका कामलाई प्रभावित हुन नदिन सल्लाह दिनुभयो ।
सरकारले लागु गरेका लोडसेडिङ न्यूनिकरण कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आग्रह गर्दै कोइरालाले स्वदेशी विद्युत आयोजना निर्माणका सामग्रीमा एक प्रतिशत मात्र भन्सार शुल्क सीमित गरिने जानकारी दिनुभयो ।
सरकारसँग लिन बाँकी वक्यौता रकम लिन प्रक्रिया अघि बढाउन आग्रह गर्दै उहाँले ऊर्जा क्षेत्रका हरेक काममा सरकार साधक बन्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा रविन्द्रमान शाक्यले तत्काल परिणाम आउने खालका कार्यक्रम अघि बढाउन आग्रह गर्नुभयो । उहाँले त्यसका लागि आइपर्ने समस्या समाधान गर्न वैकल्पिक बाटो उपयोग गरिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
यस्तै अर्थ सचिव शान्तराज सुवेदीले सरकारलाई बुझाउने कर तिर्न नभएर विकास आयोजना सम्पन्न गर्न सरकारले लगानी गर्ने स्पष्ट गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरणका अध्यक्ष तथा ऊर्जा सचिव विश्वप्रकाश पण्डितले पैसाको अभाव नहुने हो भने एक वर्षभित्र सरकारले सञ्चालन गरेका कम्तिमा चारवटा आयोजनाहरु सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

किरिया गरेको ४ महिनापछि घर फिर्ता


Bibahaसल्यान, आश्विन ६ - चार महिनासम्म घर नफर्किएपछि परिवारले मृत्युको शंकामा काजकिरिया गरे । पत्नीको चुरा फुटाइयो । सिउँदो पखालियो । र, उनले सेता लुगा लगाइन् । तर, मृत्यु भएको ठानिएका उनै व्यक्ति शुक्रबार टुप्लुक्क घर आइपुग्दा सबै चकित भए ।
अब के गर्ने ? तत्काल छिमेकी र आफन्तले बाजागाजासहित स्वागत गरे । र, भोलिपल्ट शनिबार पत्नीसँगै दोस्रोपल्ट बिहे गराइदिए । भारत उत्तराखण्डको गौरीकुण्डमा मजदुरी गर्न गएका भल्चौर-१ फारुलाका २७ वर्षे बाबुराम विक त्यहाँको बाढीपहिरोपछि बेपत्ता थिए । लामो समयपछि उनी घर र्फकंदा आफन्तमा खुसीको फरक माहोल थियो । बाजागाजाका साथ घर भित्र्याइएका उनलाई काजकिरिया गरिसकेका कारण आफन्तले स्थानीय शिव मन्दिरमा लगेर पत्नी नोखीसँगै पुनः विवाह गराइदिएका हुन् । पतिको 'बरखी बारेकी' नोखीले असारदेखि रातो कपडा, सिन्दूर, चुरा, पोते लाउन छाडेकी थिइन् । गौरीकुण्डको बाढीमा बेपत्ता उनलाई आफन्तले लामो समय खोजी गरेका थिए । 'नभेटिँदा माया मारिसकेका थियांै । एक्कासि घर फर्केपछि खुसीसँगै चकित परेका छौं,' पत्नी नोखीले भनिन् । गाविसमा उनको मृत्यु दर्तासमेत भइसकेको छ । बाढीमा परेर घाइते बाबुरामलाई बेहोस अवस्थामा सेनाको हेलिकप्टरले उद्धार गरेको थियो । 'त्यति बेला केही थाहा भएन, होसमा आउँदा कर्णपारक अस्पतालमा थिएँ,' उनले भने, 'पुनर्जन्म पाएको महसुस गरेको छु ।' धेरैजसो साथी मरेको देखेर आफूले बाँच्छु भनेर कल्पनासमेत नगरेको उनले बताए । 'उपचार क्रममा लामो समय अस्पतालमा बस्दा घरमा खबर गर्न सकिनँ,' उनले भने, 'ठीक भएपछि घर र्फकन अस्पतालले गाडी भाडाबापत २ हजार ५ सय रुपैयाँ पनि दियो ।' उनको शरीरका विभिन्न ठाउँमा चोट लागेका खत छन् । शारीरिक अवस्था अझै कमजोर रहेको उनले बताए । गौरीकुण्डमा घाइते भएका धेरै नेपालीले उक्त अस्पतालमा उपचार गराइरहेको उनको भनाइ छ । यहाँबाट मजदुरी गर्न गएकामध्ये ३१ जनाको मृत्यु र ४१ बेपत्ता भएका थिए । तीमध्ये भल्चौरका मात्र ८ जनाको मृत्यु भएको थियो । दर्जन बेपत्ता छन् ।

ठमेल भेलामा कनकले भने, ‘ अब प्रचण्ड–बाबुरामलाई जेल हाल्नुपर्छ ’

kanak
  • ‘फुजेल हत्या कान्डमा संलग्न रामप्रसाद अधिकारी पक्राउ परे, अब यही मुद्दामा प्रचण्ड र बाबुरामहरुलाई पनि मुछेर कठघरामा ल्याउनुपर्छं । त्यसका लागि हामीले देशव्यापी लवीङ गर्नुपर्छ ।’
  • –‘शम्भुजी (शम्भु थापा)लाई अख्तियारले दुख दिइरहेको छ । भोलि दुःख पाउने पालो हाम्रो पनि आउन सक्छ । यिनीहरुलाई यही मौकामा तह लगाउनुपर्छ ।’
  • –‘डेकन्द्र थापा, बाँदर मुढे, शिक्षक मुक्ती अधिकारीलगायत सबैको मुद्दा उठाउनु पर्यो । अस्ती नेताहरुको तस्वीर राखेर गरिएको प्रचारवाजी मस्ट इभेक्टिभ भयो ।’
यो सम्बाद नेपालका मानवअधिकारवादीहरुवीचको हो । कहाँ, कसले किन यस्तो भन्यो त ?
  • दिलकुमारी लिम्बु
द्वन्दका क्रममा मारिएका गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा राजधानीको बागबजारबाट व्यवसायी रामप्रसाद अधिकारी पक्राउ परे । त्यो घटनालगत्तै शुक्रबार साँझ काठमाडौंको स्युचाटारस्थित इनसेक नामक गैर सरकारी संस्थाको टेलिफोन नम्बर ४२७८७७० मा कसैले फोन गर्यो। इनसेक कार्यालयमा एक खालको खुशीयाली थियो । इनसेक कार्यालयबाट एउटा गाडी कलंकी हुँदै ठमेलतिर सोझियो ।
उता, पाटनबाट एउटा गाडीमा सेतै कपाल फुलेको मानिस गाडीमा ठमेलतिर लाग्यो । शहीदगेटमा त्यो गाडीमा कालो कोट लगाएको एउटा होचो र जुंगे मानिस चढयो । त्यो गाडी केशरमहल हुँदै ठमेलतिर छिर्यो । केही मानवअधिकारवादी, र विदेशी डलरका नेपाली ठेकेदारहरु भेला भए, ठमेलको एउटा क्याफेमा । त्यो भेलामा चिनिने अनुहार थिए, इनसेकका अध्यक्ष सुबोध प्याकुरेल, पत्रकार कनकमणी दिक्षीत, अधिवक्ता दिनेश त्रिपाठीलगायत बार एशोसिएसननका केही सदस्य ।
त्यो जमघटमा रामप्रसाद अधिकारीको पक्राउलाई ‘ग्रेट एचिभमेन्ट’ अर्थात उल्लेखनीय उपलब्धी भएको निश्कर्ष निकालियो – त्यो कफी जमघटको निश्कर्ष थियो, ‘अब यस्ता अन्य मुद्दाहरु पनि खोस्रेर निकाल्ने र प्रचण्ड र बाबुराम भट्टराईलाई पनि जेल हाल्ने बातावरण बनाउने ।’ क्याफेमै रहेका रातो पाटी शुत्रका अनुसार त्यो जमघटमा भएको बार्ताको सार यस्तो थियो, –
‘फुजेल कान्डमा संलग्न रामप्रसाद अधिकारी पक्राउ परे, अब यही मुद्दामा प्रचण्ड र बाबुरामहरुलाई पनि मुछेर कठघरामा ल्याउनुपर्छं । त्यसका लागि हामीले देशव्यापी लविङ गर्नुपर्छ ।’
‘शम्भुजी (शम्भु थापा)लाई अख्तियारले दुख दिइरहेको छ । भोलि दुःख पाउने पालो हाम्रो पनि आउन सक्छ । यिनीहरुलाई यही मौकामा तह लगाउनुपर्छ ।’
‘डेकन्द्र थापा, बाँदर मुढे, शिक्षक मुक्ती अधिकारीलगायत सबैको मुद्दा उठाउनु । अस्ती नेताहरुको तस्वीर राखेर गरिएको प्रचारवाजी मस्ट इभेिक्टभ भयो ।’
‘खिलराजजी र प्रहरी प्रशासनलाई सुबोधजीले अलि कन्भिन्स गर्नु पर्यो । मिडियामा हामी होहल्ला गरिहाल्छौं । जनतालाई प्रोभोक पनि गर्नुपर्छ । आम हडतालका बेलामा झैं प्रतिकारमा उतार्नुपर्छ ।’
‘नयाँ भारतीय राजदूतसँग पनि हामीले लविङ गर्नुपर्छ । इन्डिया लाग्यो भने त यिनीहरु को बच्लान र ?’
केही मिडियले सहयोग गरेकै छ, तर अन्नपूर्ण पोस्ट अख्तियारको मामलामा अलि लिक आउट छ । खै किन हो, लोकमानकै पक्षमा छ । हैन भने सम्भुजीमाथिको कार्वाही नट जोक नी ।’
‘यीनलाई यसैगरी च्याप्नुपर्छ । यहीबेला हो हामी पनि बढी शक्रिय हुने । पोस्टरवाजी तरिका राम्रंो भो, फेरी एक राउन्ड प्रचण्ड र बाबुरामको मात्र फोटो राखेर काम गरौं ।’
फुजेल प्रकरणलाई लिएर सरकारले व्यवसायी रामप्रसाद अधिकारीलाई पक्राउ गरेपछि एकातीर उनको रिहाइको माग गर्र्दै एमाओवादीले काठमाडौंसहित चितवन र गोरखा जिल्ला बन्दको आव्हान गरेको छ भने यही मौकामा यस्ता मुद्दा चर्काएर माओवादी नेतृत्वलाई नै जेल हाल्ने तयारीमा जुटेका छन, मानवअधिकारवादीहरु । त्यसकै एउटा झलक थियो, ठमेलमा कनकमणीहरुको जमघट ।
प्रचण्ड र बाबुरामलाइै नै निशाना बनाउने कामको सुरुवात काँग्रेस समर्थक अधिवक्ता दिनेश त्रिपाठीले गरेका छन् । उनले भदौ
१० गतेृ प्रचण्डविरुध्द अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रुपन्देहीबाट काँग्रेसले टिकट देला र सांसद होउँला भन्ने सपना देखेका दिनेशले राजनीतिमा असफलता हात लागेपछि वकालत गर्न थालेका हुन् । अचेल दिनेश अमेरीकी संस्था एशिया फाउन्डेशनमार्फत माओवादी विरोधी कानूनी गतिविधिमा संलग्न छन् । बेला बेलामा अमेरीका भ्रमणमा गइरहने दिनेशको भूमिका केही समयदेखि संदीग्ध रहँदै आएको थियो । ठमेलको शुक्रबारको जमघटपछि मानवअधिकारवादीको एउटापक्ष यतिखेर प्रचण्ड र बाबुरामलाई कानूनी कठघरामा ल्याउने गृहकार्यमा जुटेको छ । यसका लागि एमालेका अग्नी खरेल, बारका रहेका केही पदाधिकारी र स्वयं दिनेश त्रिपाठी सँलग्न भएको बुझिएको छ । केही समयअघि काठमाडौंलगायतका क्षेत्रमा शिर्ष नेताहरुको तस्वीरसहितको पोस्टर टाँस्ने अभियानको नेतृत्व पनि यही समुहले गरेको थियो । त्यो पोस्टरमा हाल काठमाडौंमा अनसनमा बसेका कृष्णप्रसाद अधिकारीका बाबु आमा नन्दप्रसाद र गंगामायाको समस्या नसुिनएको प्रचारवाजी भएको थियो । यस प्रयोजनका लागि द्वन्द पीडितका नाममा खुलेका डलरवाला संस्थाहरु लागेका छन् । सर्वोच्चले अनसनकारीको जीवन रक्षाका लागि खाना खुवाउन आदेश दिइसकेको छ । तर यीनै मानवअधिकारवादीहरुले अधिकारी दम्पतीलाई भड्काएर अनसन जारी राख्न भनिरहेका छन् । केही दिनअघि अधिकारी दम्पतीलाई भेटन गएका पत्रकार कनकमणीले भनेका थिए, ‘तपाईहरुलाई केही हुन्न, आफनो अडान नछाडनुस् । यी हत्याराहरुलाई कठघरामा ल्याएरै छाडिने छ । तपाईहरुले हरेस नखानुहोला ।’ अधिकारी दम्पती प्रकरण मानवअधिकारवादीहरुको ‘स्टन्ट’ भएको स्पष्ट भइसकेको छ । खासमा अन्तरिम निर्वाचन मन्त्रीपरिषदलाई यसरी द्वन्दका मुद्दामा कार्वाही चलाउने अधिकार छैन । नेपालमा जारी शान्ति प्रकृया भाँडन खोज्ने पश्चिमा डलरमा हुर्कीएका मानवअधिकारवादीकै उक्साहटमा यी मुद्दा उछालिएको जगजाहेर छ । शसस्त्र द्वन्दका क्रममा १५ हजारको ज्यान गएको थियो । ति एक एक मुद्दा उठाउने हो भने शान्ति प्रकृया भाँडिन्छ । अहिले अमेरिकी उक्साहटमा कनक, सुवोध, मन्दीरा, दिनेशलगायतका मानिस त्यसकै डिजाइनमा काम गरिरहको बुिझन्छ । प्रचण्ड र बाबुरामलाई पनि पक्राउ गर्न लगाएर शान्ति प्रकृया भाँडने र यहाँ द्वन्द चर्काएर अमेरिकी हतियार माफिया र चिन विरोधी गतिविधि गर्न नेपालमा चलखेल गर्ने डिजाईनकै यो एउटा कडी हो ।