क्रिमियाको गलत नजिर

पूर्वी युरोपेली राष्ट्र युक्रेनसँग नेपालको नियमित कूटनीतिक या राजनीतिक सम्बन्ध छैन । तर, त्यहाँ भइरहेको भूराजनीतिक उथलपुथल ठूला शक्ति राष्ट्रहरूबाट घेरिएका नेपालजस्ता राष्ट्रले चासो राख्नुपर्ने किसिमका छन् । युक्रेनमा विगत एक महिनाभित्र भएका तीनवटा घटना विचारणीय छन् । पहिलो, राजधानी किभमा भएको जनप्रदर्शनको बलमा रुस समर्थक राष्ट्रपतिलाई पदच्युत गरियो । दोस्रो, युक्रेनको रुसीभाषी क्रिमिया प्रदेशले जनमतसंग्रह गरेर युक्रेनबाट अलग्गिने निर्णय लियो, भलै त्यस्तो विषयमा जनमतसंग्रहमा जाने छुट युक्रेनी संविधानले दिएको छैन । तेस्रो, रुसले त्यही जनमतलाई आधार बनाउँदै सैन्यशक्तिको बलमा क्रिमियालाई आपmनो मुलुकमा गाभ्यो । तत्कालीन सोभियत संघको विघटनपछि सन् १९९१ मा अलग राष्ट्र बनेको युक्रेनको यो विभाजन र त्यसलाई लिएर अमेरिका/युरोप-रुसबीच जारी सैन्य तनाव विश्व-शान्तिका निम्ति चिन्ताको विषय बनेको छ । युक्रेन स्वतन्त्रता र पराधीनताको लामो उथलपुथलबाट गुज्रेको मुलुक हो, जसको पूर्वी भागका क्रिमियालगायतका प्रदेशहरूमा रुसीभाषीहरूको वर्चस्व छ, जहाँ इतिहासको लामो कालखण्डमा रुसी नियन्त्रण नै थियो । तर, रुसका महत्वाकांक्षी राष्ट्रपति भ्लादिमिर पुटिनले भाषिक, सांस्कृतिक या ऐतिहासिक कारणले मात्र क्रिमियालाई आफ्नो राष्ट्रमा गाभेका होइनन्, त्यसका पछाडि मूलतः भूराजनीतिक स्वार्थ जोडिएको छ । सामरिक दृष्टिले निकै महत्त्वपूर्ण मानिएको क्रिमियालगायतका क्षेत्रमाथि प्रभाव बढाउन अमेरिका, युरोपलगायत पश्चिमा शक्तिहरू र रुस लामो समयदेखि आमने-सामने भइरहेका थिए । अहिलेको घटनाक्रम त्यसैको उत्कर्ष हो, जसले पुरानो शीतयुद्धलाई नयाँ शिराबाट पुनः जागृत गराउन सक्छ । तत्कालीन सोभियत संघको विघटनपछि जन्मेका नयाँ राष्ट्रहरूमा पश्चिमा समर्थनमा भइरहेको सत्तापलट र बढ्दो अमेरिकी/युरोपेली प्रभावलाई रुसले रुचाइरहेको थिएन । त्यही क्रममा युक्रेनमा समेत रुस समर्थित राष्ट्रपति भिक्टर यानुकोभिचलाई हटाइएको हालैको घटनालाई उसले निकै गम्भीरतापूर्वक लियो । पुटिनले पूर्वसोभियत गणराज्यहरूलाई लिएर युरोपेली युनियन -इयू) को समानान्तरमा युरेसियन इकोनमिक युनियन बनाउन चाहेका छन् । तर, इयूले युक्रेनलगायतलाई आफूतिर तान्न र अमेरिकाले ँनेटो’ सैन्य गठबन्धनमा राख्न खोजेका छन् । युरोपको सबभन्दा ठूलो राष्ट्र युक्रेन कतातिर ढल्कन्छ भन्ने कुराले त्यस क्षेत्रको भूराजनीतिमा सर्वाधिक महत्त्व राख्छ । यस्तो स्थितिमा अमेरिका/युरोपले युक्रेनलाई तानेर आफूलाई घेर्न चाहेको रूपमा मस्कोले लिएको छ । तर यी तमाम भूराजनीतिक दाउपेच हुँदाहुँदै पनि छिमेकी मुलुकको भूभाग जबर्जस्ती कब्जामा लिने र गाभ्ने रुसी प्रयत्नलाई कुनै हालतमा जायज मान्न सकिन्न । यो उसको विस्तारवादी कदम नै हो, भलै त्यसलाई उत्प्रेरित गर्नमा अमेरिकाको छद्म विस्तारवाद पनि उत्तिकै जिम्मेवार छ । आफ्नो जातिका मानिसलाई संरक्षण दिने बहानामा या सुरक्षा स्वार्थ जोडिएको छ भन्ने नाममा भूभाग कब्जा वा विलय गर्दै जाने हो भने विश्व मध्ययुगतिर र्फकनेछ । क्रिमियामा जे भयो, त्यसलाई संयुक्त राष्ट्रसंघ जस्तो निकायले पनि रोक्न नसक्नु र निष्प्रभावी देखिनु साना मुलुकहरूको अस्तित्व रक्षाका दृष्टिले सबभन्दा डरलाग्दो दृष्टान्त हो । क्रिमियाको विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद्मा मतदान हुँदा १३ देश विपक्षमा थिए, तर शक्तिराष्ट्र रुसले ँभिटो’ लगाइदिंदा त्यो अर्थहीन भयो । राष्ट्रसंघले कुनै देशको विभाजन र विभाजित भूखण्डलाई आफूलाई मिलाउने शक्तिशाली छिमेकीको कदममा समेत अंकुश लगाउन सकेन । यो चिन्ताको विषय हो, जसलाई मध्यनजर गर्दै राष्ट्रसंघले आफ्नो भूमिका प्रभावकारी बनाउनेतर्फ सोच्नैपर्छ । यो घटनाले कुनै मुलुकको राष्ट्रिय अखण्डतामा प्रतिकूल असर पार्ने विषयमा सुरक्षा परिषद्को स्थायी सदस्य रहेका आणविक शक्तिसम्पन्न राष्ट्रहरूलाई भिटो प्रयोगको छुट दिन नहुने टड्कारो आवश्यकता पनि देखिएको छ । क्रिमिया प्रकरणलाई लिएर आणविक शक्तिराष्ट्रहरू शीतयुद्धको समाप्तिपछि पहिलोपटक खुला टकरावमा उत्रेका छन् । त्यसैले सम्भावित युद्ध टार्ने भूमिका पनि राष्ट्रसंघजस्तो विश्व-मञ्चले खेल्नुपर्छ । युक्रेनको घटनाले हाम्रो छेउछाउमै केही दशकअघि भएका सिक्किम र तिब्बत विलयका घटनालाई ताजा बनाएका छन् । त्यसमध्ये सिक्किममा त क्रिमियामा झैं पहिले जनमतसंग्रह गरेर भारतमा गाभिने निर्णय लिइएको थियो र त्यसपछि भारतीय फौजले त्यो हिमाली अधिराज्यलाई कब्जामा लिएको थियो । अहिले अमेरिकी स्वार्थमा धक्का पुर्‍याउने गरी क्रिमियामा जे भयो, त्यसको नजिर वास्तवमा कोसोभोमा सन् २००८ मै कोरिएको थियो । त्यसबेला सर्बियाबाट छुट्टिने कोसोभोको कदमप्रति अमेरिकाले समर्थन जनाएको थियो, जसलाई अहिले रुसले पछ्याएको छ । ठूला शक्तिले चाहँदा र निर्बल राष्ट्रले कूटनीतिक कौशल देखाउन नसक्दा राष्ट्रको विभाजन या अस्तित्वसमेत मेटिन सक्दोरहेछ भन्ने दुःखान्त कोसोभो र क्रिमियाका घटनाले पुनः प्रमाणित गरेका छन् । त्यससँगै संघीय संरचना कुन आधारमा कोर्ने, प्रदेशहरूलाई के-कति अधिकार दिने, संविधानमा जनमतसंग्रहको प्रावधान राख्दा भौगोलिक अखण्डता र सार्वभौमिकतामा आँच नआउनेतर्फ विशेष ध्यान पुर्‍याउनुपर्नेबारे नेपालजस्ता संक्रमणकालीन राष्ट्रले विशेष ध्यान पुर्‍याउनुपर्ने रहेछ । राज्यको पुनर्संरचना गरिरहेका नेपाली नीतिकारहरूले क्रिमियाका घटनाक्रमबाट पाठ सिकेमा मुलुकका खातिर राम्रै हुनेछ ।

बिजुली किन्ने बंगलादेशको प्रस्ताव

काठमाडौ, फाल्गुन २५ - बंगलादेशले नेपालको जलविद्युत् क्षेत्रमा संयुक्त लगानी गर्ने र यहाँबाट अमेरिकी डलरमा बिजुली किन्ने प्रस्ताव गरेको छ । बढ्दो ऊर्जा संकट सामना गरिरहेको बंगलादेश सरकारका तर्फबाट त्यहाँका विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मनोवार इस्लामले यस्तो प्रस्ताव राखेका हुन् । सचिव इस्लामले ऊर्जामन्त्री राधा ज्ञवाली र सचिव विश्वप्रकाश पण्डितसित बिहीबार भेटवार्ता गरी यो प्रस्ताव गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले जानकारी दिए । उनी विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को पहलमा भएको जलस्रोतसम्बन्धी सम्मेलनमा भाग लिन आएका थिए । 'नेपालको जलस्रोत विकासको उच्च सम्भाव्यतालाई कसरी यथार्थमा रूपान्तरण गर्ने' विषयक सम्मेलन राजधानीमा मार्च ३ र ४ मा भएको थियो । सम्मेलनमा भारतका विद्युत् सचिव प्रदीपकुमार सिन्हासहितका अधिकारी सहभागी थिए । आईएफसी नेपालमा भारत र बंगलादेशको ऊर्जा संकटसमेत समाधान गर्ने सम्भावना भएका ठूला जलविद्युत् आयोजनामा लगानी आकषिर्त गर्न चाहन्छ । त्यस्ता आयोजनामा ऋण लगानी गर्न इच्छुक उसले त्रिदेशीय सहकार्यमा जलविद्युत् विकासनिम्ति समन्वय पहल गरिरहेको छ । बंगलादेशले दीर्घकालीन रूपमा नेपालबाट ४ हजार मेगावाटसम्म बिजुली किन्ने प्रस्ताव गरेको ऊर्जा मन्त्रालयका अधिकारीले बताए । उसले भारतबाट ५ सय मेगावाट बिजुली किनिरहेको छ । बंगलादेश मुख्यतः प्राकृतिक ग्यासबाट उत्पादित ऊर्जामा निर्भर छ । उसले ८ हजार मेगावाट ऊर्जा खपत गर्छ । सन् २०२० सम्ममा ऊर्जा आवश्यकता १५/२० हजार मेगावाटसम्म पुग्दैछ । प्राकृतिक ग्यास भण्डार रित्तिँदै जाँदा नेपालबाट बिजुली किन्ने प्रस्ताव गरेको हो । 'बंगलादेशले नेपालका आयोजनाबाट उत्पादित विद्युत् डलरमा खरिद गर्न प्रस्ताव गरेको छ,' इस्लामसँगको वार्तामा सहभागी एक अधिकारीले भने, 'बंगलादेश आफ्नो सरकार र बंगलादेशी निजी क्षेत्रले नेपाली या विदेशी साझेदारसित मिलेर संयुक्त लगानी गरी आयोजना निर्माण गरेर बिजुली लैजान तयार छ ।' इस्लामले स्वदेश फर्किएपछि शुक्रबारै नेपाली समकक्षी पण्डितलाई इमेलमार्फत पनि नेपालबाट डलरमा विद्युत् किन्ने र मिलेर लगानी गर्ने प्रस्ताव राखेको ऊर्जा मन्त्रालयका अधिकारीले बताए । यस प्रस्तावले आफूहरू उत्साही भएको ऊर्जाका अधिकारीहरूले बताए । नेपाल र बंगलादेश सीमाको दूरी करिब ३० किलोमिटर छ । नेपालबाट त्यहाँ बिजुली निर्यात गर्न ४/५ हजार मेगावाटसम्म बिजुली पठाउन सकिने ठूलो क्षमताको प्रसारण लाइन बनाएर भारतीय प्रसारण लाइनमा जोडे पुग्छ । नेपालको बिजुली बंगलादेशले भारतीय प्रसारण लाइनबाटै लान सक्ने ऊर्जाका अधिकारीहरूले बताए । बंगलादेशको यस्तो प्रस्तावका कारण नेपालको जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ता आकषिर्त हुने विज्ञहरूको बुझाइ छ । यसले स्वदेशी लगानीकर्तामा डलरमा ऋण लिएर भए पनि आयोजना निर्माण गर्ने विश्वास बढाउने उनीहरूको भनाइ छ । यहाँको जलविद्युत्मा लगानी गर्न युरोपेली, भारतीय र ब्राजिलका विभिन्न कम्पनीले दर्जन बढी आयोजना अध्ययन गरिरहेका छन् । तर भारत नेपालबाट व्यापारिक दरमा बिजुली किन्न इच्छुक नदेखिएको र उससित नेपालको विद्युत् खरिद सम्झौतासमेत नभएकाले ती कम्पनीहरू लगानी गर्न उत्साहित देखिएका थिएनन् । बंगलादेशको प्रस्तावपछि ती कम्पनीहरूले बंगलादेशी बजार पाउने भएकाले आयोजना अघि बढाउने वातावरण बन्ने अधिकारीहरूको विश्वास छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भइरहेकाले विद्युत् प्राधिकरण डलरमा खरिद सम्झौता गर्न चाहँदैन । त्यही भएर यस क्षेत्रमा विदेशी लगानीकर्ता आकषिर्त हुन सकेका थिएनन् । बंगालदेशी सचिव इस्लामले निर्यातको उद्देश्यले भारतीय कम्पनीले निर्माण गर्न लागेका ठूला आयोजनासमेत भ्रमण गरेका थिए । उनले जीएमआरले निर्माण गर्न अध्ययन गरिरहेको ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी आयोजनाको स्थलगत भ्रमण गरे । ऊर्जा सचिवस्तरीय संयुक्त समिति बनाउन भारतको प्रस्ताव यसैबीच भारतीय विद्युत् मन्त्रालयका सचिव प्रदीपकुमार सिन्हाले बुधबार ऊर्जामन्त्री ज्ञवाली र सचिव पण्डितलाई भेटी भारतीय विद्युत् मन्त्रालय र नेपालको ऊर्जा मन्त्रालयबीच प्रत्यक्ष वार्ता अघि बढाउन सचिवस्तरको संयुक्त 'स्टेयरिङ कमिटी' र मातहतमा सहसचिव स्तरीय प्राविधिक समिति गठन गर्ने प्रस्ताव गरेका छन् । जलस्रोत सचिवस्तरीय नेपाल-भारत संयुक्त समितिमार्फत ऊर्जामा सहकार्य अघि बढाउन प्राविधिक रूपमा समस्या परेकाले उनले सोझै दुई देशका यस्ता समिति बनाउन प्रस्ताव गरेको स्रोतले बतायो । भारत र बंगलादेशका ऊर्जा मन्त्रालयबीच पनि यस्तो समिति क्रियाशील छ । सिन्हाले लामो समयदेखि अडकएको नेपाल-भारत विद्युत् व्यापार सम्झौता प्रक्रियालाई अघि बढाउन आफ्नो देश तयार रहेको जानकारी गराएका थिए । नेपालले यस्तो सम्झौताको मस्यौदा भारतसमक्ष प्रस्ताव गरिसकेको छ । यसअघि उसले मस्यौदा अध्ययन गरिरहेको भन्दै अड्काइरहेको थियो । मस्यौदालाई छिटो अन्तिम रूप दिई सम्झौता गर्न स्टेयरिङ कमिटीमार्फत छिट्टै छलफल अघि बढाउने प्रस्तावसमेत उनले गरेका छन् । सिन्हाले भेटवार्ताका क्रममा नेपाल-भारतबीच निर्माणाधीन ढल्केबर-मुजफ्फपुर र प्रस्तावित रूपन्देही-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन छिटो सक्न आफ्नो सरकार सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका थिए ।