रकम लिएर बलात्कार घटना मिलाए प्रहरी प्रमुखले


rapeलहान, माघ २५ - सिरहाको वस्तीपुरमा गत शुक्रबार एक किशोरीमाथि भएको बलात्कार घटना मिलाउन स्थानीय प्रहरी चौकीका प्रमुखले रकम लिएको खुलासा भएको छ ।

शुक्रबार बेलुकी खेत हेर्न गइरहेकी बस्तीपुर–६ की १४ वर्षीया किशोरीलाई एक्लै देखेपछि बगैचामा रहेको झुपडीमा रातभरी बलात्कार गरिएको घटना वस्तीपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहिणी पोखरेलले जाहेरी लिनुका साटो रकमको लेनदेन गरि स्थानीय अगुवाको रोहवरमा मिलाएको हो ।

स्थानीय वस्तीपुर ६ का जोगेन्द्र यादव, ओम प्रकास महतो, बस्तीपुर ८ कै रामसुन्दर यादव, सिग्नेश्वर पासमान, गोविन्दपुर २ का रामलोचन महतोको रोहवरमा पीडित पक्षलाई क्षतिपूर्तिस्वरुप एक लाख रुपियाँ दिनुपर्ने निर्णय गराएर घटना ढाकछोप गर्ने प्रयास गरिएको हो ।

बेलुकी खेत हेर्न गइरहेको किशोरीलाई छिमेकी १८ वर्षीय नागे यादवले जबजस्ती तानेर नजिकै रहेको बगैंचामा पुर्याए पनि बगैंचामा रहेका नागेका दाजु २५ वर्षीय मागेन भन्ने चन्देश्वर यादवले किशोरीलाई देखेपछि भाइलाई घर पठाई त्यही रहेको झुपडीमा रात बलात्कार गरेका थिए ।

घटनाको जानकारी स्थानीय बासिन्दाबाट गोप्य रुपमा वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले मंगलबार पाएपछि मात्र घटना सार्बजनिक भएको थियो । घटनाको जानकारी पाउने बित्तिकै प्रहरी निरीक्षक खतिवडाले उक्त चौकीका प्रमुख पोखरेललाई निगरानीमा राखी कारबाही चलाउनुका साथै बलात्कृत किशोरीलाई उपचारको लागि राजबिराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको छ ।

बलात्कृत किशोरीले घटनाबारे आफ्ना बुवालाई बताएपछि उनी छोरीलाई बलात्कार गर्ने पीडकलाई कारबाही गर्न भन्दै शनिवार बस्तीपुरस्थित प्रहरी चौकी पक्की टोल पुगेका थिए । तर सो चौकीका पोखरेलले पीडितलाई न्याय दिलाउनुको साटो त्यस दिनभरी आफ्नै चौकीमा समाजका केही अगुवाहरुलाई बोलाई पञ्चेयती गरेर रकमको लेनदेन गर्दै ढाकछोप गरी घटना मिलाउने प्रयास गरेका थिए ।

‘मातहतको कार्यालय भए पनि बलात्कारजस्तो जघन्य घटनाको जानकारी हामीलाई दिइएन’, वडा प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक खतिवडाले भने ‘वस्तीपुरकै सर्वसाधारणबाट बलात्कारको घटनालाई रकमको लेनदेन गर्दै थामथुम पारिएको सूचना प्राप्त भएपछि तत्कालै सो चौकीका प्रमुख पोखरेललाई निगरानीका लागि नियन्त्रणमा लियौं ।’

बेलुकी एक्लै किशोरीलाई खेततर्फ गइरहेको देखेपछि भाइ नागेले नै जबर्दस्ती करणी गर्ने उद्देश्यले बगैंचामा लिएर गएको अनुसन्धानमा खुलेको छ’, प्रहरी निरीक्षक खतिवडाले भने ‘तर बगैंचाभित्र उनको दाई चन्देश्वर यादवले किशोरीसहित भाइलाई देखेपछि भाइलाई घर पठाई त्यहीभित्र रहेको झुपडीमा रातभरी किशोरीलाई बलात्कार गरेको पाइएको छ ।’

जाहेरी लिनु र सोको जानकारी माथि पठाउनुको साटो प्रहरी चौकीका प्रमुख पोखरेलले स्थानीय अगुवाको रोहवरमा छलफल गराई पीडित पक्षलाई क्षतिपूर्तिस्वरुप एक लाख रुपियाँ दिनुपर्ने निर्णय गराएका थिए । सोही निर्णय अनुसार पीडकका पिता बेचन यादवले आइतबार एक लाख रुपैयाँया प्रसनि पोखरेलसमक्ष जम्मा गरेका थिए । पोखरेलले भने त्यसमध्ये ९० हजार मात्र पीडित किशोरीका पितालाई बुझाएका थिए । घटना मिलाउन पीडकको तर्फबाट आफुले २५ हजार नगद लिएको वडा प्रहरी कार्यालय लहानको निगरानीमा राखिएका प्रहरी सहायक निरीक्षक पोखरेलले सञ्चारकर्मी समक्ष स्वीकारे ।

वस्तीपुर प्रहरी चौकीका प्रमुख पोखरेललाई मङ्गलबारै नियन्त्रणमा लिइएको सूचना पाउने बित्तिकै किशोरीलाई बलात्कार गर्ने चन्देश्वर यादव र उनका भाइ नागे यादव तथा पिता बेचन यादव फरार छन् ।

तीन पक्राउ

प्रसनि पोखरेलको पहलमा छलफलमा बस्ने पाँच मध्ये वस्तीपुर–६ मा बस्ने जोगेन्द्र यादव तथा बस्तीपुर–८ मा बस्ने रामसुन्दर यादवलाई वडा प्रहरी कार्यालय लहानले मङ्गलबार राति र सिग्नेश्वर पासमानलाई बुधबार अपरान्ह पक्राऊ गरिएको छ । छलफलमा रहेका अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका जोगेन्द्र र रामसुन्दर यादवलाई सार्वजनिक मुद्धा चलाइएको प्रहरीले जनायो । बलात्कारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनायो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णहरि शर्माले बलात्कारजस्तो जघन्य अपराधलाई समेत ढाकछोप गरी मिलाउने प्रयास गर्ने स्थानीय प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रोहिणी पोखरेललाई कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जनाए ।

No comments:

Post a Comment