नेपालमा भेटियो नयाँ रोग चिकनगुनिया

mosquitoकाठमाडौ, असार १ - मुलुकमा नयाँ रोग फेला परेको छ । 'चिकनगुनिया' ले संक्रमित भएका तीन व्यक्ति भेटिइसकेका छन् । लामखुट्टेका कारण हुने यो रोग यसअघि हाम्रो मुलुकमा भेटिएको थिएन ।
राजधानीको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउन आएकाहरूमध्ये धादिङका तीन व्यक्तिमा उक्त रोगको संक्रमण देखिएको हो । २० देखि ४० वर्ष सम्मका तीनैजना रोग लाग्नुअघि धादिङबाहिर गएका थिएनन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, चिकनगुनिया भाइरसबाट हुने संक्रमण हो । यो रोग लामखुट्टेले सार्छ । यो संक्रमण एडिस एजिप्टी र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेले टोक्दा सर्छ । यस्ता लामखुट्टेले डेंगी भाइरससमेत सार्ने गर्छन् । यी लामखुट्टे बिहान र अपराह्नपछि बढी सक्रिय हुन्छन् । एडिस एजिप्टीले घरभित्रसमेत टोक्ने गरेको छ । चिकनगुनिया संक्रमण प्रत्यक्ष रूपमा नसर्ने डब्लूएचओले जनाएको छ । अर्थात्, कुनै रोगीबाट अरूमा सर्दैन । लामखुट्टेले टोक्दा मात्र यो संक्रमण हुन्छ ।
चिकिनगुनिया अपि|mकी शब्द हो, जसको शाब्दिक अर्थ 'मोडिदिनु' हुन्छ । यो संक्रमण सन् १९५२ मा तान्जानियामा पहिलो पटक पाइएको थियो । विस्तारै पश्चिम, मध्य र दक्षिण अपि|mकी क्षेत्र हुँदै एसियामा आएको विज्ञहरू बताउँछन् । भारतका धेरैजसो क्षेत्रमा यो रोग पाइएको छ ।
'यो रोगको हाल कुनै खास उपचार छैन,' शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन् । यो रोगको उपचार लक्षण र प्रयोगशाला परीक्षण प्रतिवेदनका आधारमा गरिन्छ । उनका अनुसार, सम्बन्धित लामखुट्टेले टोकेपछि दुईदेखि १२ दिनसम्म ज्वरो आइरहन्छ । तर पीडा महिनौंसम्म रहन सक्छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, संक्रमित लामखुट्टेले टोकेको चारदेखि आठ दिनपछि सामान्य व्यक्ति बिरामी पर्न सक्छ ।  
चिकनगुनियाको संक्रमण धेरैजसो केसमा प्राणघातक नहुने र धेरैजसो बिरामी केही दिनमा आफैं स्वस्थ हुने जनाउँदै टेकु अस्पतालकै डा. राजेश साह भन्छन्, 'तर बिरामीमा यसको असर धेरै लामो समयसम्म रहन सक्छ । धेरै सातासम्म थकानले सताउन सक्छ । जोर्नीहरूमा महिनौंसम्म पीडा भइरहन सक्छ ।'
डब्लूएचओका अनुसार, यो रोगको केही लक्षण डेंगीजस्तै हुन्छ । त्यसैले डेंगीको संक्रमण देखिने इलाकामा यसको सही पहिचान नहुन सक्छ । यसको जटिलता दुर्लभ देखिए पनि एक वर्षमुनिका बालबालिका र ६५ वर्षमाथिका व्यक्तिहरूले अनाहकमा दुःख पाइरहन सक्छन् । मधुमेह, उच्च रक्तचाप जस्ता अन्य जटिल शारीरिक समस्या भएकाहरूमा यो रोगले थप पीडा दिन सक्ने सिडिसिले जनाएको छ ।
लक्षण
चिकनगुनिया हुँदा एक्कासि उच्च ज्वरो आउँछ । हाडजोर्नी दुख्छ । हातखुट्टामा पीडा हुन थाल्छ । मांसपेसी दुख्न सक्छ । टाउको दुख्ने, वाकवाकी लाग्ने, थकाइ लाग्ने हुन्छ । संक्रमितमध्ये केहीको शरीरमा बिमिरा निस्कन सक्छ ।
संक्रमणबाट जोगिन
    लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ
    पूरा बाहुला भएको सर्ट लगानुपर्छ
    खुट्टा खाली राख्नु हुन्न
    शरीरको खुला भागमा लामखुट्टेले नटोक्ने मलम लगाउनुपर्छ
    घरमा झ्यालढोका धेरै खुला राख्नु
    विषादी उपचारित झुलभित्र सुत्ने गर्नुपर्छ
    घर छेउछाउमा लामखुट्टेको प्रजनन रोक्ने प्रयास गर्नुपर्छ
    आँगन वा करेसाबारीतिर पानी जम्न दिनु हुन्न
    झाडी भए फाँड्नुपर्छ

No comments:

Post a Comment