राजधानी सहर काठमाडौंको पुरानो विशेषता हो- पानी परे हिलो, घाम लागे धुलो । त्यसमाथि अहिले त सारा सरकारी सयन्त्र मिलेर सहरमा हिलो र धुलोको एउटा रंगहीन लुकामारी चलाएजस्तो लाग्छ । गन्तव्यमा पुग्दा न त पैदल यात्रीका जुत्ता र कपडा चोखा रहन्छन् न मोटरसाइकल सवारका ज्याकेट । निकै मलिलो मानिने काठमाडौंको माटोमा अहिले मान्छे र सवारीसाधन गुड्ने होइन, चिप्लेटी खेलिरहेका छन् । सडकमा मानिसहरु नाक मुख नदेखिने गरी रुमाल बाँधेर आँखामा चस्मा लगाएर मोटरसाइकल कुदाएका देखिन्छन् । धुलोका कणले लुगामात्र नभई, आँखा र मुखमा पनि उत्तिकै बास गर्न थालेका छन् ।
रोपाइ गर्न ठीक्क पारिएको जस्तो हाल सहरको यसै भएको होइन । एक वर्षअघि सुरु गरिएको सडक चौडा पार्ने महाअभियान तन्किएको तन्कियै भएकाले काठमाडौंको यस्तो विभत्स रुप हुन गएको हो । चौडा सडकमा विना जाम गुड्न पाइने आशा गरेका राजधानीवासी अहिले अलपत्र सडक देखेर दिक्कार मानिरहेका भेटिन्छन् ।
तीनकुनेदेखि माइतीघरसम्म सेतो कपडा लगाएर हिँडे कालो, कालो लगाएर हिँडे सेतो हुन्छ । लैनचैरदेखि महाराजगन्जसम्म उस्तै छ । ज्ञानेश्वरदेखि गौशाला निस्कने उस्तै छ । नयाँ पिच गरेको सडकमा पनि खाल्डा खुल्डी छन् । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर निस्कने बाटो उस्तै छ ।
कहिलेसम्म यस्तो ?
उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर श्याम खरेलको भनाइलाई मान्ने हो भने आउँदो दसैं वा त्योभन्दा बढी ढिलो भए मंसिरसम्ममा भत्किएका सडक बन्नेछन् । २०६८ मंसिरमा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला राजधानीका सडकको चौडाइ बढाउने अभियान सुरु भएको थियो । त्यो बेलाको अस्तव्यस्त ट्राफिक जामलाई नियन्त्रण गर्न नगर विकास समितिलाई जिम्मा दिएको थियो । त्यसपछि उपत्यका सडक विस्तार आयोजनालाई काम सुम्पियो ।
सुरुमा ५ वटा सडक मात्र चौडा बनाउन सुरु गरिएको थियो । त्यसमध्ये अरनिको राजमार्ग पहिलो थियो । तीनकुनेमा चीन सरकारले बनाइदिएको ६ लेनको सडकको बाँकी भागदेखि माइतीघरसम्मको सडकको काम पहिला सुरु गरिएको थियो । पहिलो काम नै त्यो सडकबाट थालनी गरिएको भए पनि सकिन भने अझै समय लाग्ने भएको छ । इन्जियिनर खरेल १५ महिनामा काम सक्ने योजना बनाएको भए पनि सडक विस्तारका क्रममा आएका केही व्यवधानले सक्न नसकेको बताए । उनका अनुसार २०६९ वैशाखदेखि भत्काउने काम सुरु भएको थियो । त्यो लगत्तै संविधानसभाको विषयलाई लिएर नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । दिनहुँ बन्द, हड्ताल र विरोध जुलुसले एक महिना काम पूरै ठप्प भयो । त्यसपछि वर्षायाम सुरु भएकाले काम गर्न अर्को मुस्किल भयो । मनसुनको बेलामा सडकमा काम गर्न नसकिने उनको भनाइ छ ।
तीनकुने-माइतीघर सडक विस्तारका लागि सरकारले झन्डै ५० करोडको बजेट दिएको छ । त्यो बजेट विभिन्न ठेकदार कम्पनीले लिएर काम गरिरहेका छन् । खरेलका अनुसार शर्मा, कान्छाराम, डाँफे, टुण्डीरमन र बिरुवा कम्पनीले काम गरिरहेका छन् । इन्जिनियर खरेलका अनुसार ठूला ठेकेदार कम्पनीले काठमाडौ ंभित्रका सडकमा काम गर्न इच्छा देखाउँदैनन् । २४ सै घन्टा व्यस्त हुने सडक र गुन्डागर्दीका कारण उनीहरूले यस्ता सडकमा काम गर्न इच्छा नदेखाउँदा सानातिना कम्पनीले उनीहरूको फारम लिएर काम गर्ने गर्छन् । साना कम्पनीसँग म्यानपावर, इक्युप्मेन्टका सामानहरू राम्रो र गुणस्तरका नहुने हुँदा काम ढिलो हुन्छ । सवारी चलिरहेका सडकमा काम गर्न अझ ढिलासुस्ती हुने उनको भनाइ छ । राजधानीको सडक विस्तार गर्नका लागि अझै ४ सयवटा घर भत्काउनुपर्नेछ । लैनचौरदेखि बुढानीलकण्ठ, कालिमाटी, शंखमूललगायत गरेर घर भत्काउनुपर्ने हो । क्षतिपूर्तिको विषयमा कुरा मिलेलगत्तै ती ठाउँमा पनि काम सुरु गरिने उनले बताएका छन् ।
- See more at: http://www.ekantipur.com/np/2070/5/8/full-story/374559.html#sthash.wSX3Fitd.dpuf
No comments:
Post a Comment