२० वर्षे जापानी युवती मिनामी मिनेगिसी जीवनको सबैभन्दा ठूलो सपना साकार हुने दिनको पर्खाइमा थिइन् । जापानको सबैभन्दा प्रतिष्ठित सांगीतिक समूह एकेबी ४८ ले अघिल्लो वर्ष अमेरिकाको न्युयोर्कमा स्टेज शोको तयारी गरिरहेको थियो । जापान मात्र होइन चीन, कोरिया र ताइवानमा अतुलनीय लोकप्रियता कमाएको यो समूहको प्रस्तुति अमेरिकी टेलिभिजनबाट संसारभर प्रत्यक्ष प्रसारण हँुदै छ भन्ने जानकारीले मिनेगिसी र उनका साथीहरू उत्साही र रोमाञ्चित थिए । अमेरिका उड्ने दिन आउँदै थियो । तर, त्यसअघि आयो मिनेगिसीको तस्बिर जापानका पत्रिका बुनसुनमा । टाउकोमा टेनिस क्याप र अनुहारमा सर्जिकल मास्क लगाएकी उनको तस्बिरको क्याप्सनमा लेखिएको थियो, ‘एकेबी ४८ की सदस्य ब्वायफ्रेन्डको अपार्टमेन्टबाट निस्कँदै ।’
एकेबी ४८ ले जापान र छिमेकमा म्युजिकल सेन्सेसन मात्र मच्चाएको होइन, संस्कार र अनुशासनमा पनि असाधारण नाम कमाएको थियो । समूहले भन्दै आएको थियो, ‘हाम्रो समूहका कुनै पनि युवती डेटिङमा जाने छैनन्, युवालाई संस्कार र सभ्यता सिकाउनु हाम्रो मूलमन्त्र हो ।’ त्यसैले अभिभावक पनि आफ्ना छोराछोरीलाई भन्थे, ‘एकेबी ४८ का गीत सुन, उनीहरूको स्टेज शो हेर्न जाऊ ।’ त्यसैले एकेबी ४८ जापानी समाजमा सांगीतिक मात्र होइन, सांस्कृतिक आदर्श बनेको थियो, तर त्यही आदर्श समूहकी एक सदस्य ब्वायफ्रेन्डका घरमा रात बिताएर बिहानै अनुहार छोपेर निस्कँदै गरेको तस्बिरले जापानी समाज मर्माहत भयो । पत्रिकामा छापिएको घन्टाभरमै मिनेगिसीको तस्बिर इन्टरनेटमा भाइरल बन्यो । हजार होइन, लाखौँ जापानीले मिनेगिसीलाई दुत्कारे, तिम्रो जीवन धिक्कार छ भनेर थुके ।
लाखौँ प्रशंसकले बहिष्कार गर्ने चेतावनी दिएपछि एकेबीले ४८ ले असभ्यतासँग सम्झौता नगर्ने भन्दै मिनेगिसीलाई समूहबाट निष्कासन गरेको घोषणा गर्यो । समूहबाट निष्कासित, प्रशंसकबाट बहिष्कृत र सिंगो समाजबाट तिरस्कृत युवतीले केही दिनमा आफ्नो भिडियो सार्वजनिक गरिन् । प्रायश्चितमा कपाल मुडाएकी मिनेगिसी आँखाभरि आँसु पारेर, अवरुद्ध गलामा भन्दै थिइन्, ‘मैले तपाईंहरूको यति ठूलो सद्भाव र विश्वासलाई एउटा केटासाथीको बेडरुमको बन्दी बनाएँ, मैले तपाईंहरूको शिर झुकाएँ, लाखौँको शिर झुकाउने मेरो शिरमा कपाल सुहाउँदैन, त्यसैले मैले आफैँ मुडाएँ । म योभन्दा ठूलो सजायको भागिदार थिएँ होला, तर मैले यति मात्र गर्न सकेँ, सक्नुभयो भने माफ गर्नुहोला ।’ उनको फोटो जसरी फैलिएको थियो, त्योभन्दा तीव्र गतिमा उनको भिडियो इन्टरनेटमा फैलियो । जापानी टेलिभिजन एनएचके, कोरियाली टेलिभिजन एरिर्याङ र चाइनिज टेलिभिजन सिसिटिभी ९ ले मात्र होइन, अमेरिकी टेलिभिजन सिएएनले समेत उनको भिडियो प्रसारण गरे ।
एउटी २० वर्षे युवती जो आफ्ना लामो कपाल लहराउँदै गीत गाएर संसारभरका टेलिभिजनमा आउन चाहन्थिन् । उनी टेलिभिजनमा त आइन् तर कपाल मुडिएको, मन कुडिएको र आँसु बगिरहेको अवस्थामा । संसार आश्चर्यचकित भयो, जापानी समाज ऐठनमा पर्यो । ती जापानी जसले समाजकी भँडुवा भनेर मिनेगिसीलाई दुत्कारेका थिए, उनीहरू भुल स्विकार्ने र आफैँलाई दण्डित गर्ने युवतीको महानता देखेर स्तब्ध भए । लगत्तै लाखौँ ट्विटको बाढी आयो जसमा भनिएको थियो, ‘मिनेगिसी तिमी महान् छौ, हामी आफूले गरेका हजारौँ भूललाई बिर्सिएर एउटा भूलका लागि तिमीलाई प्रताडीत गर्यौँ, तिमीले त्यो पनि स्विकार्यौ । तिमी महान् छौँ मिनेगिसी, तिमी अब हाम्रो जीवनको सबैभन्दा ठूलो आदर्श हौ ।’
इन्टरनेट र सोसल मिडियाले व्यापक बनाएका यो घटना संसारका लागि एउटा असाधारण उदाहरण हो । एउटी २० वर्षे युवतीले आफ्नो गल्ती स्विकारेर समाजप्रति सम्मान दर्शाउने कोसिस गरिन् । यता ६६ वर्षीय गृहमन्त्री आफ्नो गल्तीमाथि औँला उठाउनेलाई तर्साएर तह लगाउने कोसिसमा छन् । २० वर्षकी युवती केटा साथीको अपार्टमेन्टमा गएर संसारमा कसैले नगरेको अपराध गरेकी होइनन् । तर, समाजले मबाट अनुशासन र सभ्यता अपेक्षा गर्छ भन्ने उनले बुझिन्, सर्मिन्दा भएर क्षमा मागिन् । गृहमन्त्री वामदेव गौतमले जनताले आफूबाट कस्तो संस्कार र सभ्यता अपेक्षा गर्छन् भन्ने बुझ्न कोसिस गरेका छैनन् । त्यसैले उनी लाठो लगाएर तर्साउने, धपाउने र चुप लगाउने बाटो रोजेका छन् । यो सत्ताको अहंकारभन्दा अरू केही होइन ।
डोरी नाघेर बाटो काट्ने वामदेव गौतम नेपालका एक मात्र अजुवा प्राणी होइनन् । तर, उनी यो देशका सर्वसाधारण नागरिक पनि होइनन्, उपप्रधानमन्त्री तथा गृहमन्त्री हुन् । उनी समाजका अगुवा र कानुनका रक्षकका रूपमा अपेक्षित छन् । त्यसैले जब उनी दौरा–सुरुवाल लगाएर, सुरक्षाकर्मी पछि लगाएर सडकमा डोरी नाघ्छन्, जनता स्तब्ध हुन्छन् । आफ्नो अगुवाले नियम, कानुनको खिल्ली उडाइरहेको देखेर जनता आहत हुन्छन्, त्यो दु:ख, वेदना र आक्रोश आफूले भेटेको फोरममा पोख्छन् । किनकि सर्वसाधारणलाई लाग्छ– वामदेवले सडकका व्यापारी धपाएको पनि सडक व्यवस्थित गर्नकै लागि हो, आफैँ देउडा नाच्न होइन ।
आक्रोश पोख्ने अश्लील र हिंस्रक शैलीलाई कुनै पनि सभ्य समाजले ताली बजाएर स्वागत गर्न सक्दैन । अझ त्यसमा पनि सरकारी अधिकारी राजुप्रसाद साहले देशका गृहमन्त्रीप्रति आक्रोश पोख्न जुन शब्द चयन गरे, त्यो सतत आपत्तिजनक छ । उनीमाथि कानुनअनुसार कारबाही हुनुपर्छ भन्नेमा विवेकशील समाजले असहमति राख्नै सक्दैन । तर, सडकको डोरी नाघ्न खुट्टा उठाउने उनै वामदेवले राजुप्रसादमाथि कुन नैतिकताका आधारमा कानुनको डन्डा उठाउन सके ? आफैँ लाखौँ जनताको प्रश्नको कठघराभित्र मौन बसेर एउटा कर्मचारीलाई पाता कसेर वीरगन्जबाट रातारात काठमाडौं ल्याउने बल उनलाई कहाँबाट मिल्यो ? आफूले डोरी नाघेकोमा किञ्चित पनि प्रायश्चित नगरी त्यही डोरीले आफ्ना कर्मचारीको घाँटीमा फन्दा लगाउन उनले कसरी सके ? वामदेवसँग पनि नैतिकताको प्रश्न गर्ने भनेर उनी खुलेआम सोध्छन् भने फरक कुरा हो । होइन भने आफ्नो विषयमा मौन बसेर कर्मचारी र सर्वसाधारणमाथि कानुनको तरबार उठाउने हिम्मत उनले नगर्नुपर्ने हो । तर, दुर्भाग्य, वामदेव आफूमाथि उठेका लाखौँ प्रश्नलाई सम्बोधन गर्न चाहँदैनन्, बरु निमोठ्न चाहन्छन् । किनभने वामदेव यतिखेर सिंहदरबारमा छन्, सिंहदरबारको अहंकारले वामदेवको तस्बिर उतार्ने, छाप्ने, सेयर गर्ने र प्रतिक्रिया पोख्ने सबै सबैलाई अराष्ट्रिय देख्छ, तिनीहरूलाई कानुनको दायरामा ल्याउनु नै राज्यको सबैभन्दा ठूलो चुनौती मान्छ ।
सिंहदरबारको दृष्टिदोषले भ्रम भएको हुन सक्छ । तर, जनताले के देखेका छन् भने, ‘वामदेव यो देशको एक नम्बर भ्रष्टाचारी हो’ भनेर टुँडिखेलबाट सार्वजनिक घोषणा गर्ने प्रदीप नेपाल गृहमन्त्री वामदेवको राजनीतिक सल्लाहकारका रूपमा सम्मानित भएका छन् । प्रदीप नेपाल एमाले मात्रै होइनन्, नेता पनि हुन् । त्यसैले उनलाई वामदेवले सिंहदरबारको आफ्नै कार्यकक्षमा रातो कार्पेट ओछ्याएका छन् । त्यस्तै राजुप्रसाद साहका बाबु गेनलालप्रसाद साह पनि एमाले नै हुन्, तर नेता होइनन् । त्यसैले सूर्य चिह्नमा छाप लगाएका हात जोडेर थरथर काम्दै माफी देऊ भनेर याचना गर्दा पनि उनी आफ्नै पार्टी मुख्यालयमा तिरस्कृत हुन्छन् । नैतिक संकटले घेरिएको यो संवेदनशील वेलामा वामदेव आफैँले सोच्नुपर्ने हो, आलोचना गर्नेलाई बहिष्कार गर्ने र याचना गर्नेलाई तिरस्कार गर्ने हो भने सिंहदरबारको उन्माद प्रत्युत्पादक हुनेछ । यसै पनि दुनियाँलाई शंका छ– बालुवाटारमा घस्रिने प्रधानमन्त्री र रत्नपार्कमा उफ्रिने उपप्रधानमन्त्रीको सरकार गतिमा जाला कि दुर्गतिमा ? सौजन्य: नयाँ पत्रिका
No comments:
Post a Comment