देशकै अग्लो झोलुंगे पुल निर्माण

देशको अग्लो र लामो झोलुंंगे पुलको परिचय फेरिने भएको छ । हालसम्म चिनिएको कुश्मा-ज्ञादी पुललाई उछिनेर बागलुङको नारायणस्थान ९ कैयालाई कुश्मा बजारमा जोड्ने पुलले विस्थापित गर्न लागेको हो । कालीगण्डकी नदीमाथि निर्मित ३ सय ४६ मिटर लम्बाइ र १ सय ५६ मिटर अग्लो पुल अन्तिम चरणमा पुगेको निर्माण समितिका अध्यक्ष मीनप्रसाद श्रेष्ठले बताए । त्यसका लागि १६ मध्ये ८ वटा लठ्ठा टाँगिसकिएको छ । कुश्मा-ज्ञादी जोड्ने मोदीखोलाको झोलुंगे पुल १ सय ३५ मिटर अग्लो र ३ सय ४४ मिटर लामो थियो । 

उक्त पुलले बागलुङका १६ गाविसका बासिन्दालाई कुश्मा बजार पुग्न सहज बनाउनेछ । 'पैदल डेढदेखि २ घन्टा लाग्ने बाटो पुलले १० मिनेटमा छोट््याइदिनेछ,' श्रेष्ठले भने, 'त्यसका कारण १६ गाविसवासीले कुश्मा आउजाउ गर्दा व्यवसायसमेत बढ््ने आशा छ ।' पुलका कारण बागलुङको बलेबास्थित विमानस्थल सञ्चालनका लागि पनि सहज हुने उनले बताए । 

बलेबा पुग्न बागलुङ बजारबाट जिपमा २ घन्टा लाग्छ । २ सय रुपैयाँ भाडा लाग्नेमा अब ४० रुपैयाँ र १० मिनेटमा पुग्न सकिने नारायणस्थान ९ का राजेन्द्र ढकालले बताए । बलेबावासीले केही वर्षदेखि विमानस्थल सञ्चालनको माग गर्दै आएका छन् । सहज पहुँच अभावमा विमानस्थल सञ्चालनमा आएको छैन । अब सञ्चालनको सम्भावना बढेको श्रेष्ठले बताए । 

'देशकै सबैभन्दा अग्लो र दोस्रो अग्लो पुल एउटै नगरमा देख्न र यात्रा गर्न पाउने भएपछि पर्यटक पनि भित्र्याउन सकिन्छ,' पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण कर्माचार्यले भने, 'केबुलकार प्रकारको यान्त्रिक पुल पनि कुश्मा बजारदेखि बलेबा जोडिएकाले पर्यटकले एउटै नगरभित्र ३ थरी अनुभव लिन सक्छन् ।' 

No comments:

Post a Comment