पहिरोले कालीगण्डकी थुनियो, म्याग्दी सदरमुकाममा भागभाग

१० जेठ, काठमाडौं । आइतबार बिहान गएको ठूलो पहिरोले म्याग्दी सदरमुकामभन्दा उत्तरतर्फ कालीगण्डकी थुनिएको छ ।
नदी थुनिएपछि म्याग्दी सदरमुकाम बेनीबजार आसपासका मानिसहरु आज राति तीन बजेदेखि नै आतंकित बनेर सुरक्षित स्थानको खोजीमा छन् । स्थानीयले दिएको जानकारी अनुसार करिब ९५ प्रतिशत पानी थुनिएको छ ।
म्याग्दीको राम्चे गाउँ विकास समिति वडा नम्बर ९ बैसरीमा माथिबाट आएको पहिरोले नदी थुनिएको हो । पहिरोका कारण भगवती गाउँ विकास समिति वडा नम्बर दुईको बस्ती पुरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक हिराबहादुर गिरीले अनलाइनखबरलाई जानकारी दिए ।
बैसरीको विपरीतमा पिप्ले गाविस पर्छ । त्यसैगरी छेउका गाविस घतान, पिप्लेको घुमाउने ताल, भगवती गाविस र बेनीबजारमा यसले असर गर्न सक्छ । गलेश्वर बजार, तातोपानी, तीप्याङ, बेगरखोला, घारखोलालगायतका स्थान जोखिममा रहेको स्थानीयले बताएका छन् ।
बेनीबजारदेखि दक्षिणतर्फ खानियाँघाट, फर्चे, मालढुंगालगायतका स्थानका बस्ती त्रसित बनेका छन् ।
कालीगण्डकी नदी बेनीमा म्याग्दीखोलासँग जोडिएको छ भने दक्षिणतर्फ यो नदी चितवनको देवघाटमा नारायणी नदीसँग मिसिन्छ ।
नदी बस्तीहरु जोखिममा परेको एमाले नेतृ थममाया थापाले अनलाइनखबरलाई बताइन् ।

No comments:

Post a Comment