ममी जेल परेपछि
म १६ वर्षकी भएँ । मसँग अहिले ममी बुबा र भाइ छैनन् । मेरी ममी जेल पर्नुभएको त्यो दिन सम्झँदा अझै पनि मुटुमा काँडा रोपिएजस्तो हुन्छ ।
त्यति बेला हाम्रो परिवार खुसी र सुखी थियो । ममी, बुबा र सानिमा मिलेर काम गर्नुहुन्थ्यो । पैसा कमाउनुहुन्थ्यो । ममी र बुबाको बिहे गलैंचा कारखानामै भएको थियो रे । तर म जन्मेको तीन महिनापछि नै बुबाले आमालाई छोडेर जानुभएको रहेछ । त्यसपछि ममीले धेरै दुःख पाउनुभयो । ममीले मलाई १६ वर्षकै उमेरमा जन्माउनुभएकाले घरव्यवहारमा उहाँले ठूलो कठिनाई भोग्नुप¥यो ।
जब म तीन वर्षको भएँ, बुबा टुप्लुक्क फर्केर आइपुग्नुभयो । म चार वर्ष लाग्दै गर्दा खेल्ने क्रममा आगोमा परेँ । शरीरका विभिन्न भाग जल्न पुग्यो । सानो हुँदा ममीले पूरा लुगा लगाइदिनुहुन्थ्यो । पछि ठूली हुँदै गएपछि मलाई छोटा कपडा लगाउन मन लाग्यो । साथीहरूले लगाएको त्यस्ता कपडा राम्रो लाग्थ्यो । तर मेरो शरीरमा दाग देखेर साथीहरूले जिस्काउँछन् भन्ने चिन्ता पनि लाग्थ्यो । आफू जलेको कुरा कुनै पनि साथीलाई थाहा थिएन, किनकि मैलै यो कुरा लुकाउँदै आइरहेकी थिएँ ।
२०६४ साल पुस २४ गते भाइ जन्मियो– मनीष । ममीबुबा अति खुसी हुनुभयो । भाइ पाएकोमा खुसीले मेरो खुट्टा भुइँमा थिएन । भाइलाई म यति माया गर्र्थें कि, संसारभरकै दिदीहरूले पनि आफ्नो भाइलाई यति माया गर्दैनन् जस्तो लाग्थ्यो !
मेरो भाइ दिनप्रतिदिन बढ्दै गयो । उसको मिठो तोतेबोलीले सबैलाई लठ्ठ बनाउँथ्यो । बोली फुट्न थालेपछि उसले मलाई मन्जु नभनी ‘मज्जु...’ भन्थ्यो । भाइ दुई वर्षको पुग्दै थियो । मसँग रमाउँदै खेल्थ्यो ।
एक दिन अचानक माइती नेपालबाट आएका मान्छेले ममीलाई लिएर गए । किन लगियो कसैलाई थाहा भएन । भोलिपल्ट बुबाहरू जेल गएर ममीलाई भेटेर आउनुभएछ । त्यसपछि थाहा भयो– ममी ‘जिउ मास्ने बेच्ने’ केसमा पर्नुभएको रहेछ । ममीले त्यस्तो के गर्नुभयो, मलाई केही थाहा थिएन । ममी जेलभित्र पस्नु भएपछि बिचरा दूधे भाइको बिचल्ली भयो । ऊ दूधबाहेक केही खाँदैन थियो । हामी अलमलमा प¥यौं, उसलाई अब के खुवाउने भनेर । ऊ बेलुका दूध खान नपाएर रुने गथ्र्यो तर बुबा भने ‘चुप लाग्’ भन्दै पिट्न थाल्नुहुन्थ्यो । त्यो देख्दा मनमनै रुन्थेँ र भाइलाई बोकेर बाहिर डुलाउँदै फकाउँथेँ ।
पछि भाइलाई पनि ममीसँगै राख्न मिल्छ भन्ने सुनेपछि हामीले उसलाई ममीसँगै छोडिदियौं । ममी र भाइ नभएको घर सुनसान लाग्थ्यो । घरिघरि एकान्तमा बसेर सम्झीसम्झी रुन्थेँ । भाइको समस्या त ट¥यो तर मानिसहरूको मुख थुन्न सकिएन । ममी जेल परेपछि वरिवरिका मान्छेले अनेक नराम्रा कुरा गर्थे । हुँदाहुँदा ममीकै पुरानो साथीले उनको छोराको निहुँमा मलाई पिट्न थालिन् । नानाथरी गाली गरिन् । ममी भए त म उहाँलाई सुनाउँथे होला । तर बुबाले वास्तै गर्नुहुन्न थियो ।
पहिले म सधैं प्रथम हुन्थेँ । पढाइ राम्रो थियो । ममी जेल जानुभएपछि छ कक्षामा छ वटै विषयमा फेल खाएँ । पढाइ र घरको काममा मलाई एकदमै गाह्रो हुन थाल्यो । अहिले म नौ कक्षामा पढ्छु । यता बुबाले घरका सामान बेच्दै जान थाल्नुभयो । रक्सी खान थाल्नुभयो । हामीले काम गर्ने गरेको कारखाना बन्द भयो । त्यसपछि हामी कोठा लिएर भाडामा बस्न थाल्यौं । बुबाले तीन–चार महिनासम्म त समयमै भाडा तिर्दै हुनुहुन्थ्यो । पछिपछि ढलान गरेर दिनमै कमाएको पाँच सय रुपैयाँ तास खेलेर सिध्याउन थाल्नुभयो । पहिला त सानिमा पनि हामीसँगै बस्नुहुन्थ्यो । बुबाको बानीले गर्दा अन्यत्रै जानुभयो । अन्ततः कोठामा बुबा र ममात्र भयौं ।
काम गरेर कमाएको पैसाजति बुबाले रक्सी र तासमै सखाप बनाउन थाल्नुभयो । त्यसपछि कोठा भाडा तिर्न र खाना खानका लागि पनि धौधौ प¥यो । कहिले मट्टितेल नहुने त कहिले चामल नहुने भएकाले म खाना नपकाई बस्थेँ । बुबा राति १०÷११ बजेतिर आउनुहुन्थ्यो । त्यस बेला पसल बन्द भइसकेका हुन्थे । म भोकै सुत्थेँ ।
ममी जेल परेको पीडाले म रातभर छट्पटिन्थेँ तर ‘तैंले गर्दा ममी जेल परेकी हो’ भन्दै बुबाले उल्टै मलाई पिट्नुहुन्थ्यो । त्यसपछि बुबासँग बस्न पनि डर लाग्न थाल्यो । म ठूलो ममीका तिर जान थालेँ । मेरो पीडा कसैलाई सुनाउन मन लाग्दैन थियो । रातभर रोएरै बिताउँथे ।
बुबाले इन्डिया जाने कुरा गर्न थाल्नुभयो । घरबेटीलाई पहिलाको र दुई महिना पछिसम्मको भाडा मिलाएर उहाँले पनि मलाई छोडेर जानुभयो । तर एक महिनापछि नै फर्किनुभयो अनि गाउँतिर जानुभयो । ‘सानो काम छ, छिट्टै फर्केर आउँछु’ भन्नुभएको थियो । तर फर्केर आउनुभएन । घरबेटीले मसँग भाडा माग्थे र भन्थे, ‘तेरो बुबा कहिले आउँछ ? मलाई भाडा चाहियो ।’
धेरै दिनसम्म बुबा आउनुभएन । घरबेटीले कोठामा ताल्चा लगाइदिएपछि वरिपरिका दिदीहरूकहाँ बस्न थालेँ । अर्काको कोठामा त्यत्तिकै बसिरहन अप्ठ्यारो लाग्यो । बिस्तारै मैले बालुवा चाल्ने र बोक्ने काम गर्न थालेँ । सिमेन्ट बोक्दा त कतिपटक लडेँ । काम गर्ने ठेकेदारले ‘काम गर्नै सक्दिनस्’ भन्दै हेपेर कम पैसा दिन्थे । त्यसपछि त्यो काम छोडेर म बच्चा हेर्ने काम गर्न थालेँ । सुरुमा त पढाइदिने भन्थे तर भर्ना गरिदिएनन् । त्यहाँ पनि बस्न मन लागेन ।
पछि ममीले अंकलमार्फत मलाई बोलाउनुभयो । अंकलले सुन्धाराको कारागार ल्याएर ममीसँग भेटाइदिनुभयो । म अर्ली चाइल्डहुड डेभलप्मेन्ट सेन्टर (इसिडिसी) को सदस्य बन्न पुगेँ । अहिले त मलाई सबै कुरा राम्रो छ । अरूको हेपाइ सहनुपर्दैन । मलाई कसैले पिट्दैनन्, न त भारी नै बोक्नुपरेको छ । धेरै सुविधा पाएकी छु । बालबालिकाले पाउनुपर्ने सबै अधिकार पाइरहेकी छु ।
कहिलेकाहीँ सम्झन्छु, ती दिन र अहिलेको मेरो जीवन । भक्कानिएर रुन मन लागे पनि आफैंलाई सम्हाल्छु । आखिर जीवनमा सुख–दुःख त जसलाई पनि आइलाग्छ । संघर्ष गर्न छोड्नु हुँदैन । मैले अनेक दुःख सहेर नै अहिले यहाँसम्म आइपुगेकी छु । तर मलाई माया गर्ने ममी, भाइ र बुबा मभन्दा टाढा छन् । मेरो मिल्ने साथी अर्चना, कविता, सल्मा टाढा हुँदै गइरहेका छन् ।
मेरो शरीर सानैमा जल्यो । दाग बोकेर बाँचेको छु, तर यो दागभन्दा नमेटिने दाग त मेरो छातीभित्र छ । ठूली हुँदैछु तर सानो कक्षामा पढ्छु । पहिलेजस्तो पढाइ पनि राम्रो छैन । तर इसिडिसीले मलाई धेरै हौसला र प्रोत्साहन दिइरहेको छ ।
मेहनत गरेर पढ्ने कोसिस गर्छु । राम्ररी पढेँ भने भविष्य राम्रो होला भन्ने लाग्छ । साथीहरूको माया ममीको आशीर्वाद लिएर म उन्नतिको शिखरमा चढ्न चाहन्छु ।
बयलकोटी कक्षा ९ मा अध्ययनरत छिन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment