देखाउने जस्तो शरीर पनि चाहिन्छ मसँग छ देखाउछु!





नायिकाका रूपमा पूजनाको सार्वजनिक जीवन सुरु भएको १० वर्ष वित्यो। यसबीच उनी विभिन्न स्क्यान्डलमा मुछिइन्। उत्तेजक र कामुक दृश्य दिन अलिकति पनि नहच्कने पूजना कहिले नाम फेर्ने, कहिले विकनी लगाउने, कहिले नेटकर्किङ व्यवसायसँग जोडिने र कहिले साधिकाका  रूपमा ध्यान गरिरहेकी भेटिने भएकाले पनि सञ्चारमाध्यममा छाइरहेकी छिन्। पछिल्लो समय चलचित्र रक्षामा उनले दिएको अन्तरंग दृश्य  धेरैका लागि जिब्रो टोक्ने कारण बन्यो। कुन्ती मोक्तानको 'म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर' गीत रुचाउने पूजना सञ्चारमाध्यममा  आइरहेका कुनै पनि गसिपबाट प्रभावित देखिइनन्। चम्किला आँखा नचाउँदै पूजनाले यसपटक साप्ताहिकसँग आफ्नो सेक्स इमेजका बारेमा त  कुरा गरिन् नै, आफ्ना जीवनका अति गोप्य कुरा पनि खोलिदिइन्।
हिजो हामीले पूजा प्रधान भनेर लेख्नुपथ्र्यो, त्यसैमा बानी भइयो, आज पूजना भन्नुपर्दा गाह्रो हुन्छ, यसरी अप्ठ्यारो पार्न पाइन्छ ?

लौ सुरुमै रिसाउनु पो भयो। नथर्काउनु न, प्लिज। जमिसकेको नाम फेर्नुपर्ने केही बाध्यता पो पर्‍यो कि भनेर सोचिदिनु न, कुरा सकिइहाल्यो  नि।

जन्मदेखिको नाम, त्यो पनि बजारमा चलिसकेको अवस्थामा किन फेर्नुपर्‍यो त ?

हिरो चलचित्रबाट रेखा थापा र म सँगै यो फिल्मीनगरीमा छिरेका थियौं। रेखाजी एकपछि अर्को गर्दै माथि उक्लन थाल्नुभो, म जहाँको त्यहीँ।  नामकै कारण म पछाडि परेँ भन्ने लाग्यो त्यसैले।

जीवनमा सफलता-असफलताको कारण नाम हुन सक्छ र ?

हुँदो रहेछ। हिन्दी चलचित्रमा पूजा भट्ट, पूजा वेदी, नेपाली चलचित्रमा पूजा चन्द, पूजा लामा कोही चलेनन्। मसँग अभिनय र नृत्य कौशल  छ। म सौन्दर्यको हिसाबले पनि कम छैन्ा। यति हुँदाहुँदै पनि मैले त्यति चलचित्र पाइनँ, पाएका जति पनि चलेनन्। यो सबै नामकै कारण  भएको हो भन्ने लाग्यो र परिवर्तन गरें।

पूजना नाम राखेपछि पनि खासै जमेजस्तो त लाग्दैन ?

जुन बेला पूजना नामबाट फोटोसेसन गरें, त्यो बम पड्केजस्तो धमाकेदार भयो। बिकिनी लगाएर खिचेको तस्बिर साइवर संसार र  साप्ताहिकमा वर्षकै हिट तस्बिरका रूपमा छानिए। त्यो बेला कुनै दिन यस्तो भएन, जुन दिन मेरो तस्बिर पत्रपत्रिकामा नछापिएका हुन्। पूजना  नामले त बबाल गर्‍यो ।

त्यो पूजना नाम राखेर होइन, विकनी लगाएकाले हिट भएको होइन र ?

आखिर जे भए पनि हिट त भयो नि। त्यो बेला बिकनी लगाएर त्यसरी सेसन गर्ने म पहिलो नायिका थिएँ। नाम परिवर्तन गरेपछि केही धमाका  गर्नुपर्‍यो भन्ने लाग्यो भने भाग्यले पनि साथ दियो।

कपडा खोलेर चर्चा पाउनु पनि भाग्य हो र भन्या ?


 किन होइन ? मैले फोटोसेसन गरेपछि कतिले बिकनी लगाए, मेरो जति चर्चा कहाँ भयो र ? देखाउने मिल्ने बडी स्टक्चर पनि हुनुपर्छ। मसँग  थियो र देखाएँ, अनि पो हिट भयो।

के छ त्यस्तो तपाईंमा ?

मेरो फेस नेपालीजस्तो छैन, ग्लोबल लुक्स छ। यस्तो लुक्स भएका युवतीलाई जस्तो पनि रूप दिन सकिन्छ। त्यसमाथि बडीको सेप पनि  आकर्षक छ। मैले नै यस्तो फोटोसेसन गर्छु भनेर साइबर संसारसँग प्रस्ताव राखेको हुँ। सुरुमा उहाँहरू नै आत्तिनुभएको थियो।

त्यसपछि पनि खासै जम्नुभएन, किन होला ?

त्यसपछि लगातार चलचित्र पाइरहेकी छु नि। द निर्मला, श्रीमान्, पापी मान्छे-२ ले कति राम्रो चर्चा पायो। पैसा पनि कमाए। र्‍याम्प मोडलिङमा  पनि उत्तिकै व्यस्त भएँ। अहिलेको अवस्थामा म सन्तुष्ट छु।

अहिले चलचित्र रक्षामा दिएको अन्तरंग दृश्य धेरैले पचाउन सकिरहेका छैनन्, के भन्नुहुन्छ ?

त्यो त केही होइन। म त राम्रो निर्देशकले आँटे भने नग्न दृश्य पनि दिन तयार छु। यसको अर्थ कथामा त्यो जबरजस्ती आएजस्तो नहोस्।  टाइटनिकमा जस्तै सन्दर्भ मिल्ने हो भने म तयार छु।

तपाईं आजभोलि ध्यान गर्न थाल्नुभएको छ, भगवानको भजन गाउनुहुन्छ र सादा जीवनमा विश्वास गर्नुहुन्छ। गफ भने यस्ता गर्नुहुन्छ, कुरा  मिल्यो त ?

अध्यात्मिक मेरो व्यक्तिगत जीवन हो भने कलाकारिता सार्वजनिक। कलाकारिता दर्शकको चाहनाबमोजिम चल्छ, किनभने दर्शकले त्यसका  लागि मूल्य तिरेका हुन्छन्। ध्यान, भजन र योग म आफ्ना लागि गर्छु।

पूजना प्रधानबाट पूजना स्त्री हुनुको कारणचाहिँ के हो ?

संसारमा दुईवटा मात्र जात छ, एउटा पुरुष, एउटा स्त्री। संसार धेरै वर्गमा विभाजन हुनु हुँदैन भनेर स्त्री राखेको हो। अहिले म प्रधान होइन,  स्त्रीनै हुँ।

आखिर यो परिवर्तन किन ?

किनभने परिवर्तन नै संसारको नियम हो।

तपाईंले धेरै पढ्न सक्नुभएन, गफ त गहिरो गर्नुहुन्छ ?

मैले बाध्यताले पढ्न पाइनँ। जीवन जिउँदै जाँदा धेरै कुरा सिक्दै गइँदो रहेछ।

तपाईंले आमाको थर (प्रधान) राख्नुभयो, किन ?

यो कुरा बताउन त चाहन्नथेँ। तपाईंसँग चाहिँ कुरा लुकाउन सकिँदैन। त्यसैले पहिलो पटक भन्दैछु, बुबाले हामीलाई छोडेर हिँडे। हामीलाई  साह्रै दुःख भयो। उनी गुरुङ थिए, हामी तीन जना सन्तानको नागरिकता बनाइदिन पनि आमाले संघर्ष गर्नुपर्‍यो। नागरिकतामा मेरो नाम पूजा  गुरुङ भए पनि स्कुल र सार्वजनिक नाम पूजा प्रधान नै रह्यो।

भनेपछि पूजा गुरुङ, पूजा प्रधान, पुजना प्रधान र अहिले पूजना स्त्री, सबै नामकी एउटै स्त्री ?

हो, मैले भनिहाले नि, परिस्थितिअनुसार मेरो काम र नाम फेरिँदै गयो।

पहिले नृत्याङ्गना हुनुहुन्थ्यो हैन ?

हो।

साधारण डान्सबारमा नाच्ने एउटी केटी, अहिले नायिका भनेर चिनिँदा के फरक भयो जस्तो लाग्छ ?

हिजो नराम्रो भन्नेहरू धेरै थिए, अहिले कम भएका छन्। भन्नेहरूले त अहिले पनि कहाँ बाँकी राखेका छन् र ? तर म अरूजस्तो ग्राहकको  टेबुलमा गएर काखमा बसेर बियर पिउने खालकी नृत्यांगना होइन। म स्टेजबाट कहिल्यै तल ओर्लिनँ। त्यही कारणले ढुक्कसाथ यो कुरा भन्न  सक्छु। मलाई यसमा गर्व पनि छ।

तपाईं कुनै बेला २ हजार ५ सय रुपैयाँमा महिनाभरि रेस्टुराँमा नाच्नुहुन्थ्यो भन्दा कस्तो लाग्छ ?

मलाइ ग्लानि हुँदैन। नत्र यो कुरा नलेखिदिनु भनेर भन्न सक्थें। बुबाले छाडेर गएपछि आमालाई घर चलाउन धेरै गाह्रो भएको मैले थाहा पाएँ।  मैले १२ वर्षदेखि आफ्ना लागि आफैं कमाउन थालेकी हुँ।

के गर्नुभयो ?

गार्मेन्टमा कपडा प्याकिङको काम गरें। महिनाको ९ सय पाउँथे। त्यस्तो अवस्थामा नाच्नका लागि २ हजार ५ सय दिन्छु भन्ने मानिस फेला  पार्दा हामी कति खुसी भयौं होला ? त्यो त डान्स गर्न सुरु गर्दाको कुरा हो। पछि क्यासिनोमा १० हजार अनि अर्को रेस्टुराँमा १५ हजार पाउने  गरी डबल सिफ्ट नाच्न थाले। आमाले पनि भन्नुभयो, 'आफ्नो कला देखाएर खान केही हुँदैन, गलत बाटोतिर भने नलाग्नू।' दाइ कुलतमा  लागेका कारण पनि म निकै सचेत थिएँ। आमाको यही हौसलाले यहाँसम्म आइपुगें।

चलचित्रको अफर कसरी पाउनुभयो?

१० वर्षअघि छवि ओझा र श्याम खेतानले हिरो चलचित्र बनाउने निर्णय गर्नुभएको रहेछ। त्यो बेला दुईवटा नयाँ अनुहार चाहिएको रहेछ।  राम्रो नाच्न जान्ने मानिस खोज्दै उहाँहरू हाम्रो रेस्टुराँमा आउनुभएछ। डान्स देखेपछि मेरा बारेमा सोधपुछ भयो। मेरो बानी बेहोरा पनि ठीक  छ भन्ने सुनेपछि उहाँहरू मलाई चलचित्रमा लिन तयार हुनुभएको रहेछ। म भने उहाँहरूलाई अरू ग्राहक जस्तै खराब मनसाय राख्ने व्यक्ति  मानेर छेउमै परिनँ। धेरै दिनको प्रयासमा पनि उहाँहरूलाई विश्वास नगरेपछि पाको कलाकार मोहन निरौलाले नानी तिमी नडराऊ, उहाँहरू  साच्चैको चलचित्र निर्माता हो भनेर आमाको अघि मेरो जिम्मा लिनुभयो। त्यसपछि म चलचित्रमा जान तयार भएँ।

'हिरो' मा रेखा र तपाईं सँगै हुनुहुन्थ्यो, रेखाजी नम्बर एक हिरोइन हुनुभएको छ, कस्तो लाग्छ ?

पहिले रेखाको रोल मलाई दिएको भए म नम्बर वान हुने रहेछु, ममाथि अन्याय भयो भन्ने लागेको थियो। किनभने त्यो रोल मलाई दिने कुरा  थियो। आजभोलि पो थाहा पाएँ, मानिस मेहनत र भाग्यले माथि जाँदो रहेछ।

यो कुरा कसरी थाहा पाउनुभयो ?

योग र ध्यान गर्न थालेपछि।

कसरी ?

जसले दुःख गर्छ, भगवानले उसैलाई मद्दत गर्छन् भन्ने मेरो व्यक्तिगत अनुभव हो। हिरोमा काम गरेपछि म हिरोइन भैहालें, अब मानिसले  मलाई फोन गरेर मेरो चलचित्रमा काम गर्नु भनेर लाइन लाग्छन् भन्ने लाग्यो। मैले यो क्षेत्रको कसैलाई पनि चिनेकी थिइनँ। जबकि रेखाजी  मेहनत गर्न थाल्नुभयो। म चुप लागेर बसें। त्यहीँ मेरो कमजोरी रहेछ।

यो उमेरमै अध्यात्मतिर छिर्नु अचम्म होइन ? कसरी आकषिर्त हुनुभयो ?

पुष्पराज गुरुको जय संगत आश्रम छ। उहाँ कलाकार पनि हो। उहाँले एउटा गीतको सुटिङमा आश्रमको नाम लिइरहनुहुन्थ्यो। मलाई योग  भनेको शरीरलाई ठीक राख्ने उपाय हो भन्ने लाग्थ्यो। त्यो बेला म मोटाएकी थिएँ। केही दुब्लाउनुपर्‍यो भनेर उहाँको नौ दिनको कोर्स गरें।  मलाई त अचम्मको शान्ति पो भयो। त्यसपछि तीन महिनाको कोर्स गरें अनि त्यसको नशामा परिहालें।

के रहेछ आध्यात्मको नशा ?

हामीमध्ये धेरैजसो मीठो खाएर, राम्रो लाएर, घुमेर, यौनसम्पर्क गरेर आनन्द हुन्छ भन्ने मान्छौ। म पनि त्यस्तै मान्थें। त्यस्तो आनन्द क्षणिक  हुन्छ भन्ने कुरा ध्यानमा बसेपछि थाहा पाएँ। ध्यानको आनन्द बाहिरी आनन्दभन्दा बढी हुँदो रहेछ। यो कुरा थाहा पाएपछि मैले सबै बाहिरी  कुरा छाडेर ध्यानलाई महत्व दिन थालें। नभन्दै बाहिरी कुराले भन्दा ध्यानले बढी आनन्द दिन थाल्यो।

यौनसम्पर्कमा भन्दा बढी आनन्द ?

हो, जति आनन्द यौनसम्पर्कमा छ त्योभन्दा कैयौं बढी आनन्द ध्यानमा छ।

त्यसो भए अब विवाह पनि नगर्ने ?

होइन, गर्ने। आध्यात्मले जोगी बनाउँछ भन्छन् मानिसहरू। मेरो विचारमा आध्यात्मले मानिसलाई व्यावहारिक बनाउँछ। यौनसम्पर्क भन्ने कुरा  भगवान्ले जथाभावी प्रयोग गर्न बनाएका होइन रहेछन्, सन्तान जन्माउनका लागि निर्माण गरेका रहेछन्। यौनसम्पर्कले त भएको ऊर्जा पो  खेर फाल्दो रहेछ। अब म यौनसम्पर्कलाई सन्तान उत्पादनका लागि मात्र प्रयोग गर्ने योजनामा छु।

दर्शकलाई चाहिँ बोल्ड दृश्य दिएर बिगार्ने, आफूचाहिँ यौनसम्पर्क खराब हो भन्ने  ?

मैले अघि नै भनें, मैले ध्यान गरेको हेर्न कसैले पनि टिकट काट्दैनन्। दर्शकलाई पूजनाकै शरीर हेर्न मन छ त म के गरौं

No comments:

Post a Comment