बिल गेट्स सबैभन्दा प्रशंसनीय

लन्डन (एजेन्सी), पुस २९ - अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछि पार्दै माइक्रोसफ्टका संस्थापक बिल गेट्स संसारकै सबैभन्दा प्रशंसनीय व्यक्ति बनेका छन् । बेलायती टाइम्स म्यागेजिनका लागि युगोभले गरेको विश्वव्यापी मत सर्वेक्षणमा परोपकारी व्यक्तित्व गेट्सले सबैलाई उछिनेका हुन् । १३ देशका १३ हजार ८ सय ९५ जनाबीच गरिएको मत सर्वेक्षणमा गेट्सलाई १०.१० प्रतिशत मत प्राप्त भएको थियो । ओबामा दोस्रो, रुसी राष्ट्रपति भ्लादमिर पुटिन तेस्रो, क्याथोलिक धर्मगुरु पोप फ्रान्सिस चौथो, भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर पाँचौं, चिनियाँ राष्ट्रपति सि जिन पिङ छैटौं, गुजरातका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदी सातौं र अमेरिकी उद्योगपति तथा परोपकारी व्यक्तित्व वारेन बफेट आठौं स्थानमा छन् । बलिउड सुपरस्टार अमिताभ बच्चन नवौं र भारतकै पूर्वराष्ट्रपति अब्दुल कलाम आजाद १० औं बनेका छन् । भ्रष्टाचार विरोधी आन्दोलनका अभियन्ता अन्ना हजारे १४, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल १८, फुटबल स्टार लियोनेल मेस्सी १५, क्रिस्टियानो रोनाल्डो २२, बेलायती भौतिक शास्त्री स्टेफेन हकिङ १६, बेलायतकी महारानी एलिजावेथ १७, हलिउड नायिका एन्जेलिना जोली १९, ओपरा विन्फ्रे २०, एन्जेला मर्केल २६, अमेरिकी पूर्वविदेश मन्त्री हिलारी क्लिन्टन २७, चिनियाँ लोक गायिका पेङ लियुआन २८, पाकिस्तानी पूर्वक्रिकेटर इमरान खान १२, पाकिस्तान कै अब्दुल सत्तार इदी २९, तिब्बती धर्मगुरु दलाई लामा १४ र भारतीय उद्योगी रतन टाटा ३० औं स्थानमा आएका छन् ।

No comments:

Post a Comment