मेलम्चीको सुरुङ निर्माण सुरु

melamchiकाठमाडौं, पुस १८ - मेलम्ची खानेपानी आयोजनाको सबैभन्दा महत्त्वपूर्ण संरचना सुरुङ खन्ने कार्य बुधबार सुरु गरिएको छ । ठेकदार इटालियन कम्पनी सीएमसीले सुन्दरीजलबाट सुरुङ निर्माण सुरु गरेको हो ।
चिनियाँ ठेकेदारसितको ठेक्का तोडिएपछि अनिश्चित बनेको मेलम्ची आयोजनाको सुरुङ निर्माण कार्य पुनः सुरु भएपछि अब साढे दुई वर्षमा बन्ने निश्चित भएको छ । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुने उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने सरकारको योजना छ । सुन्दरीजलमा आयोजित कार्यक्रममा सहरी विकासमन्त्री छविराज पन्तले सुरुङ निर्माण सुरुआत गरे । खन्न बाँकी २१ किलोमिटर सुरुङ २०७२ चैतभित्र पूरा गरिसक्ने र २०७३ वैशाख १ देखि राजधानीका घरघरमा पुर्‍याउने लक्ष्यसाथ काम धमाधम अघि बढ्ने आयोजना प्रमुख कृष्ण आचार्यले बताए ।
ठेक्का सम्झौताअनुसार सीएमसीले २०७३ भदौभित्र मेलम्ची खोलामा बाँध र सुरुङ निर्माण सकी राजधानीसम्म पानी ल्याइसक्नुपर्ने छ । तर, सरकारले ठेकेदारलाई छिटो काम गर्न बोनस दिएर २०७२ चैतभित्र गराउने र २०७३ वैशाख १ देखि राजधानीमा मेलम्चीको पानी ल्याइपुर्‍याउने योजना छ । बोनस दिएर निर्धारित समयभन्दा छ महिना पहिले सक्ने योजना सरकारको छ ।
ठेक्का सम्झौताअनुसार ठेकेदारले निर्धारित समयभन्दा जति दिन पहिले सुरुङ पूरा गर्छ, उसलाई त्यति दिनको कुल ठेक्का रकमको ०.०५ प्रतिशतका दरले बोनस दिइनेछ । छ महिना छिटो सकेमा ठेक्का रकमकै १० प्रतिशतसम्म बोनस पाउनेछ ।
आयोजना प्रमुखका अनुसार सुन्दरीजलको एक ठाउँबाट सुरु गरेको ठेकेदारले अबको एक महिनापछि अम्बाथान, ग्याल्थुम, सिन्धु गरी तीन अडिट दुवैतर्फ गरी ७ ठाउँबाट सुरुङ खन्न थाल्ने छ । आयोजनाको अर्को मुख्य संरचना सुन्दरीजलमा बनाइने पानी प्रशोधन केन्द्रको निर्माण कार्यसमेत ठेकेदार कम्पनीले माघ १ देखि निर्माण सुरु गर्दैछ । पानी प्रशोधन केन्द्रको निर्माण २०१६ मार्च अर्थात् २०७२ फागुनभित्रै सक्ने योजना रहेको जानकारीसमेत आचार्यले दिए ।
सीएमसीले ७ अर्ब ७१ करोड रुपैयाँमा मेलम्चीबाट राजधानीसम्म पानी ल्याउन सुरुङ (खन्न बाँकी २१ किलोमिटर) निर्माण गर्ने र खोलामा बाँध (इन्टेक) बनाउने ठेक्का पाएको हो । सन् २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदार चाइना फिफटिन रेल्वे ब्युरोले झन्डै चार वर्षमा जम्मा साढे ६ किमिमात्र सुरुङ निर्माण गरेका कारण उससितको ठेक्का गत कात्तिकमा तोडिएपछि सुरुङ निर्माणको लागत दोब्बर बढेको छ भने दोस्रो पटक टेन्डर गर्नुपर्दा आयोजना तीन वर्ष ढिलो हुन पुगेको हो ।
चिनियाँ ठेकेदारले साढे २७ किमि सुरुङ र इन्टेक बनाउन ४ अर्ब २८ करोड रुपैयाँमा ठेक्का पाएको थियो । ६० करोड बिल भुक्तानी लिएको चिनियाँ ठेकेदारले जम्मा साढे ६ किमिमात्र सुरुङ खनेको छ । चिनियाँ ठेकेदारले लापरबाही गरी नबनाएको र लामो समय खेर फालेका कारण्ा बाँकी २१ किमि सुरुङको लागत दोब्बर बढेको हो ।
चिनियाँ ठेकेदारलाई दिइसकिएको ६० करोड र बाँकी २१ किमि सुरुङ तथा इन्टेकका लागि सीएमसीले प्रस्ताव गरेका ७ अर्ब ७१ करोड गरी सुरुङ निर्माण्ा गर्न ८ अर्ब ३१ करोड रुपैयाँ लाग्ने भएको छ ।
सुरुङबाट दैनिक ल्याइने १७ करोड लिटर पानी सुन्दरीजलमा प्रशोधन गर्न बनाइने संरचना निर्माण गर्ने ठेक्का ४ अर्ब २० करोड रुपैयाँ प्रस्ताव गरेको अस्टि्रयाको भीएटेक डब्लूएबीएजी लिमिटेड र भारतको प्रतिभा इन्डस्ट्री लिमिटेडको जोइन्ट भेन्चरले पाएको छ । ठेक्का सम्झौताअनुसार काम सुरु गरेको २७ महिना अर्थात् २०७२ पुसमा पानी प्रशोधन गृह निर्माण गरिसक्नुपर्ने छ । उसले माघ १ बाट निर्माण कार्य सुरु गर्दैछ ।

No comments:

Post a Comment