के हामी आत्मदाह गरौँ?

-दीपक भेटवाल-
dohaउता मुलुकमा राजनीतिको सपना-खेतीबाट वाक्क भएका सर्वसाधारण नेपालीहरुको सजिलै काँचो पसिना बिक्ने ठाउँ भनेको खाडी नै हो। सबै साक्षी हुनुहुन्छ कतारका नेपालीहरुले टन्टलापुर घाममा खेपेका हैरानी र सास्तिहरुको। वर्षौदेखि आफनै देशका शासक प्रशासकबाट ठगिँदै आएका सोझा जनता यता विदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्। जब तिनले पाउनु पर्ने हक, अधिकार सम्मानमा धमिरा लागेर यातना, अवहेलना र डसाईले ‘गलित’ भएर ठगिन्छन्, आफ्नो दुःख र गुनासोको पोको लिएर केही होला कि भन्ने आशामा सहाराको अन्तिम त्यान्द्रो दुतावासको ढोका समाउँछन्। तर जब दुतावास पुग्छन्‌ अनि तिनको आत्मसम्मान, पिडकसँग कानुनी लडाई लडछु भन्ने आत्मबल र आफनै देशको दुतावासप्रतिको तिनको भरोसा सबै धुलिसात हुन्छन। दुतावासभित्र तिनको हात समातेर, ध्यानपूर्वक तिनको गुनासो सुनेर तिनले पाउनु पर्ने हक, अधिकार र सम्मानको पक्षमा खरो पैरवी गर्ने कोही भेटिँदैन। यो कोठाबाट त्यो कोठामा जाऊ भनिन्छ, त्यो कोठाबाट यो कोठामा जाऊ भनिन्छ। तलबाट माथि जाऊ भनिन्छ, माथिबाट तल जाऊ भनिन्छ। अथक प्रयासपछि भनेको कोठामा पुग्यो, झन् उल्टै किन नबुझी आएको त? हामीलाई सोधेर आएको हो र? भन्ने जवाफसँगै हुर्मत लिने अर्को श्रृङ्खला सुरु हुन्छ। 

हुनलाई दुतावासको आरामदायी कुर्सीमा विराजमान रातो पासपोर्टधारीहरु नेपाली मजदुरहरुको पीडा, हैरानीको बुझबुझारथ गर्न गरिब राज्यको ढुकुटीबाट यथेष्ट सेवा सुविधा खाएर बसेका छन्। तर जब दुतावासमा आफ्नो हक स्थापित गराइमाग्न नेपाली मजदुर सुस्केरा काड्दै आउँछन्, तिनलाई ढाढस दिने, हामी छौँ नि भनेर तिनको आत्मबल उकास्ने लन्ठो कसैले गर्दैन। मजदुरको नाम तलब भत्ता खाने रातो पासपोर्टधारीहरुलाई दुतावासमा दैनिक कुनै गोरखधन्दा लिएर आउने मजदुर-पीडक ठगदलालहरुको सेवा सत्कारमा खटिँदै फुर्सद हुँदैन। मानौं, तिनले राज्यले तिनलाई ठगदलालहरुको सेवा सत्कारको खातिर खटाइएको हो। तैपनि केही हातलागी हुन्छ कि भनेर कोठा-कोठा चहार्दै पीडित मजदुर राजदुतको कोठाभित्र छिर्न खोज्छन्। राजदुतको कोठाबाहिर बस्ने जब्बर ढोकेले पीडितलाई झ्याप्पै रोक्छ। यो ढोकेको काम बडो लोभलाग्दो छ। ठग, दलाल कम्पनीको मालिक आए सुरुक्क भित्र छिराउँछ, झुत्रा/मैला मजदुर आएमा बाहिरै तिनको सातो लिइन्छ। ‘किन आएको? के काम छ? राजदुत भित्र मिटिङमा हुनुहुन्छ। एकछिन पख्नुस्।’
तर पर्खँदापर्खँदै घाम डुब्छ। यसरी आशा र भरोसाको अन्तिम त्यान्द्रो पनि चुँडिएपछि कोही कम्पनी छाडेर भाग्छन, कोही ज्यान बचाउन आफ्नो पाउनुपर्ने पसिनाको कमाई माया मारेर जेलको नारकीय बाटो हुँदै स्वदेश फर्कन्छन। कोही आत्मदाह गरेर मर्छन्। कोही बेपत्ता हुन्छन्। समालको मरुभूमिमा खाली पैतालाले तातो बालुवा टेकेर भेडा चराइरहेको वीरबहादुर १३ वर्ष भयो देश नफिरेको। तपाईँका स्वाभिमानी नागरिकले कहिलेसम्म यो नियती भोगिरहने राष्ट्रपति महोदय? महोदय, दुतावास ओहोर दोहोर गरिरहने भुक्तभोगीहरुले सुनाएको दुई थान घटनाको म वर्णन गर्न चाहन्छु :
१) दुतावासमा राजदुतको ढोकाबाहिर आफनो समस्याको पोको फुकाउन ओठतालु सुकाएर अत्यासलाग्दो मुद्रामा पीडितहरुको घुइँचो छ। कहिले पालो आउला भनेर ढोकातिर हेर्दै ढोकेसँग चाहना गरिरहेका छन्। भित्रबाट बोलावटको केही सुइँको आउँदैन। आफ्नै चुच्चोले आफनै घाउ ठुँग्न विवस कुनै अभागी चराजस्ता आफनो घाउ आफै ठुँगेर पीडितहरु खुइ गरिरहेका छन्। तैपनि भेट्ने पालो आउँदैन। महामहिम राजदुतसँग घण्टौँ चियागफ लडाएर बाहिर निस्केको रैथाने नारदले शहरभरी खबर बाँडिरहेको हुन्छ कि त्यसबेला महामहिम मस्तमुद्रामा जी च्यानलको सिरियल हेरेर बसिरहेकी रहिछिन्। हे पशुपति, यो मजदुरका गुनासाहरुले भरिएको कतारको नेपाली नियोग हो कि कुनै युरोपेली शानशौकतको केन्द्र?
२) एउटा नेपाली म्यानपावरवालाले तलबमान र सेवा सुविधा झुक्याएर कामदारहरु पठाएछ। पीडित कामदारहरु म्यानपावरउपर कारवाही गरीपाऊँ भनेर जाहेरी गर्न जाँदा उसैगरी ढोकेले छेकेछ र, घण्टौँ बाहिर कुराएछ। बुझ्दै जाँदा थाहा लागेछ- महामहिम राजदुत त भित्र तिनै पीडितलाई झुक्याउने म्यानपावर मालिकलाई चिया सत्कार गदै हुनोहुँदोरहेछ। पीडितबाहिर फलामे कुर्सीमा न्याय कुरेर बसेका छन्, पीडकहरु भने भित्र मखलेल मुद्रामा महामहिमसँग आरामदायी सोफामा बसेर चियागफमा व्यस्त छन्। राष्ट्रपति महोदय, यी निरीह तपाईँका नागरिक अब कहाँ जाने? पत्याउँदा मुटु चसक्क हुन्छ तर महोदय, कतारको नेपाली दुतावासको कठोर सत्य यही हो।
उसो त राजदुत मायाकुमारी शर्मा नियुक्तिको कथा पनि बडो बिद्रुप खालको छ। सर्वहारा वर्गको मसिहा भनिने माओवादीले राजदुत नियुक्ति गर्दा हामीलाई लागेको थियो, आम नेपाली मजदुरहरुको बास रहेको कतारका नेपालीहरुको अब कल्याण हुने भो। मजदुर पार्टीको राजदुतले कम्तिमा मजदुरको हेलाहोचोको सुनुवाई गर्नेछिन्। तर जसै मजदुर पार्टीको घरानियाँ राजदुतले कतारमा पाइला टेकिन्, हाम्रा सबै आशहरु खरानी भए। अझ गजबको कुरा त यो संसदीय सुनुवाईको फलामे ढोकाबाट यस्तो अक्षम राजदुत कसरी पास भइन्? के संसदीय सुनवाई समितिमा पनि दलीय भागवण्डामा परेका अक्षमहरुको भीड मात्र छ? कुटनीतिक मामलामा दक्ष, विषय र जिम्मेवारीलाई गम्भिरतापूर्वक बोध गर्न सक्ने क्षमता, आफूले दुतावास सम्हालेको मुलुकमा आफनो राज्यको तर्फबाट गर्नुपर्ने प्राथमिक कामको सूचिहरु के-के हुन् भनेर समेत पहिल्याउन नसक्ने उम्मेदवारलाई माओवादीले कसरी राजदुतमा सिफारिश गर्‍यो? संसदीय समितिले के-के अन्तर्वार्ता लियो? ठूलो पार्टी भनिएको माओवादीको गैरजिम्मेवारीपनले गर्दा पीडित नेपाली मजदुर यो परदेशी भूमिमा आँसु र पसिना पिउन बाध्य मात्र छैनन्, अन्य मुलुकका दौतरीहरु सामु पनि हाम्रो शिर झुकेको छ। ति शिर ठाडो पारेर सोध्छन्- ‘तिम्रो मुलुकमा राजदुत हुन लायक मान्छे कोही छैनन्?’ के उत्तर दिनु हामीले?
सर्वहारा पाटीले सिफारीस गरेको घरानियाँ राजदुतको कुरा भनिसाध्य छैन। नेपाली दुःखीहरुको पीडाको घाउ पाकेर कतारको नेपाली दुतावास दुर्गन्धले भरिएको छ। जहाँ नागरिककै शिर झुकेको छ, त्यहाँ चन्द्रसुर्य अंकित झण्डाको पनि के शान? दुतावासको धुरीमा ठडिएको नेपालको राष्ट्रिय झण्डाको सान निहुरमुन्टी बनेको देखिन्छ। हामीले धेरै पटक भन्यौ, धेरैलाई भन्यौ। तत्कालिन माओवादीको सरकारलाई भन्यौँ। प्रशासन हाँकेर बसेका मुलि प्रशासकहरुलाई भन्यौ। सिफारिशकर्ता माओवादीका ठुलै नेतालाई पनि घरानियाँ राजदुत फिर्ता गराएर मजदुर हितैषी राजदुत पठाईपाउँ भनेर भन्यौँ। ती नेताहरु आए, भाषण ठोके, आश्वासन दिए र गए। भन्ने ठाउँमा भनेका भन्यै छौ। लेख्ने ठाउँमा लेखेका लेख्यै छौँ। तैपनि हामी यस्तो अक्षम राजदुत खेप्न बाध्य छौ। बोलेका बोल्यै छौ। बोल्यो हावाले उडाउँछ। न छाति पिटेर रुनु, न भित्तामा टाउको फुटाउनु। मान्छे एउटा निर्भिक प्राणी हो, चारैतिरबाट इमानमा बाँझो पल्टेर सत्यको घाँटी रेटेको हेरिरहँदा उकुसमुकस भएपछि मान्छेले आत्मदाह समेत गर्न पछि नपर्ने रहेछ। के हामी राजदुत फिर्ता गराईपाउँ भनेर अब आत्मदाह गरौँ?
(लेखक कतारस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समितिका संस्थापक अध्यक्ष एवं मजदुर प्रतिनिधि हुन्)

No comments:

Post a Comment