रेडकर्नर 'नोटिस'मा नेता पनि


  • (0 votes)

रेडकर्नर 'नोटिस'मा नेता पनि
अपराधको विश्वव्यापी सञ्जालमा नेपालीको उपस्थितिलाई सामान्य मान्न सकिन्न। हत्या, ठगी, चोरी तथा अपहरणका मुद्दामा नेपालीहरू दोषी देखिएका छन्। नेपालीहरू स्वदेश तथा विदेशमा अपराध गरी अन्तर्राष्ट्रिय कुख्यातिमा सामेल भएका छन्। 
विभिन्न अपराधमा फरारको सूचीमा दर्ज भई रेड कर्नर नोटिससमेत जारी भएको नेपालीको संख्या ७९ पुगिसकेको छ। नेपाल प्रहरीको इन्टरपोल शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार विभिन्न अभियोगमा नौ मुलुकले नेपाल प्रहरीकै पूर्व डिएसपीसहित ७९ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो।
चोरी, ठगी, हत्या, वन्यजन्तुको चोरी शिकारीजस्ता गम्भीर अपराधमा मुछिएको भन्दै नौ मुलुकले उनीहरूविरुद्ध नोटिस जारी गरेका हुन्। सबैभन्दा बढी भारतीय इन्टरपोलले २५ नेपालीविरुद्ध नोटिस जारी गरेको छ। कतारको दोहास्थित इन्टरपोलले २० जनाविरुद्ध, यूएईले १३, नेपालले ११, अमेरिकाले चार जनाविरुद्ध नोटिस जारी गरेका छन्। यस्तै साउदी अरेबियाले तीन जना, बेलारुस र बहराइनले एक/एक जनाविरुद्ध नोटिस जारी गरेका छन। नयाँदिल्लीले चोरी, डाँका, ठगी र हत्या आरोपमा नोटिस जारी गरेको हो भने कतार, दुबई र युएईमा धेरैजसो नेपालीमाथि चेक बाउन्स र ठगीका मुद्दामा नोटिस जारी भएका छन्।
अमेरिकाले यौन दुर्व्यवहार र ठगीको अभियोग लगाएको छ भने नेपालले रेड कर्नर नोटिस जारी गरेकामा वैदेशिक रोजगारका ठगी, अपहरणका फरार अपराधी र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न छन्।
सञ्चार उद्यमी जमिम साहको २०६६ सालमा हत्या हुँदा त्यसमा संलग्न नेपाल प्रहरीका पूर्व डिएसपी जगदीश चन्द इन्टरपोलको फरार सूचीमा छन। उनलाई नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले २०६७ मंसिरमा फरारको सूचीमा राखेको हो।

वैदेशिक रोजगारको ठगीमा काठमाडौँका भूपेन्द्र खड्का फरार छन्। उनलाई वैदेशिक रोजगार विभागले ४ करोड ५० लाख रुपैयाँको ठगी गरेको अभियोगमा रेडकर्नर नोटिस जारी गरेको हो। छजना नेपालीलाई विदेश पठाउने भन्दै उनले ठगी गरेको प्रहरीले जनाएको छ। नुवाकोटका विष्णुबहादुर लामा र रामबहादुर तामाङसहित तीनजनालाई वैदेशिक रोजगारमै २ करोड १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा रेड कर्नर नोटिस जारी गरिएको छ। एक देशमा अपराध गरेर अर्काे देशमा गई लुकेर बस्न सक्ने भएकाले रेड कर्नर नोटिस जारी गरिएको छ। नोटिस जारी भएपछि ती मुलुकको प्रहरीले अपराधीलाई पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउनुपर्छ।
ठेगाना उल्लेख नभएका टासी छिरिङलाई वन्यजन्तुका अंग व्यापार गरेको अभियोगमा रेड कर्नर नोटिस जारी गरिएको छ। भारतले काठमाडौँ, महारागञ्जका विनिता प्रधान र अनुप प्रधानलाई पनि रेडकर्नर नोटिस जारी गरेको छ। त्यसैगरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले केही दिनअगाडि एक भारतीय र एक अमेरिकन नागरिकलाई रेड कर्नर नोटिसमा राख्न सिफारिस गरेको छ। प्रहरी प्रवक्ता डिआइजी नवराज सिलवालले नेपालबाट पछिल्लो पटक दुई विदेशीलाई रेड कर्नर नोटिस जारी गरेको बताए।
डाक्टर उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटालाई अपहरण गर्ने तीनजना पनि इन्टरपोलको रेड कर्नर नोटिसमा छन्। अपहरणका मुख्य योजनाकार केशव दर्लामी मगर, राजेश छत्री भनिने गोकुल गिरी र राजु थापा इन्टरपोलको फरार सूचीमा छन्। उनीहरूलाई नेपाल प्रहरीले जहाँ भए पनि पक्राउ गरी नेपाल बुझाइदिन आग्रहसहित इन्टरपोललाई पत्र लेखेका कारण रेड कर्नर नोटिस जारी भएको हो।
इन्टरपोल सूचीमा भारतीय जाली नोटको कारोबारमा कैद काट्दै गर्दा फरार भएका पाकिस्तानी नागरिक मोहम्मद जामिल टटी पनि छन्। वन्यजन्तुको छाला गैरकानुनी रूपमा राखेका अमेरिकी नागरिक इयान वाकर पनि फरार छन्। प्रहरी प्रवक्ता सिलवालले विदेशी नागरिक त्यो देशमा अपराध गरेर नेपाल आएको अवस्थामा फर्काउन सकिनेे बताए। तर, अन्य देशमा अपराध गरेका नेपाली नेपालमा फेला परे पनि पक्राउ गरेर पठाउन नमिल्ने बताए। सुपुर्दगी कानुन नभएका कारण नेपाली नागरिकलाई पक्राउ गरेर दोस्रो मुलुक पठाउन नमिल्ने उनको भनाइ छ। 'नेपालमा सुपुर्दगी कानुन छैन, नेपाली नागरिकलाई दोस्रो मुलुकमा पठाउन मिल्दैन,' सिलवालले भने, 'तर, त्यो देशमा नेपालीले गरेको अपराधबमोजिम यहाँ पक्राउ गरेर सजाय दिन सकिन्छ।'
नेपालले विदेशीले उसको मुलुकमा अपराध गरेर नेपालमा बसेको पाए उसलाई त्यही देशमा पठाइदिने गरेको छ। २०६३ सालमा भारतमा किड्नी निकालेर बिक्री गरी फरार रहेका डाक्टर अमित कुमारलाई चितवनमा पक्राउ गरेर भारतको जिम्मा लगाइएको थियो। यस्तै नेपालमा अपराध गरेर फरार रहेका एक नेपालीलाई क्यानडा प्रहरीले रेड कर्नर नोटिसकै आधारमा पक्राउ गरी फिर्ता पठाइदिएको थियो। विभिन्न बैंकमा दुई करोड रुपैयाँभन्दा बढी ऋण लिएर फरार रहेका रोशन पाण्डेलाई क्यानडा छिर्न नदिई पक्राउ गरेर जापान हुँदै नेपाल पठाइएको थियो। उनी क्यानडाको एयरपोर्टमै पक्राउ परेका थिए।

के हो रेड कर्नर नोटिस?
लुकी बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सन् १९२३ मा गठन गरिएको हो। सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको सयौँ सदस्य हो। इन्टरपोलमा हालसम्म एक सय ९० देश सदस्य छन्।
इन्टरपोलले सम्बन्धित देशको प्रहरी संगठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ। अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेड कर्नर नोटिस जारी गर्न अनुरोध गर्छ। सोही अनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भए पनि पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ। इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन्। सोही अनुरूप खोजी कार्य हुन्छ।
नेता पनि नोटिसमा
सन् २००३ मा राज्यविरुद्धको अपराध, हत्या आतंक आदिमा संलग्न रहेको भन्दै पुष्पकमल दाहालसहित १४ जना माओवादी नेताका नाममा पनि रेड कर्नर नोटिस जारी गरिएको थियो। पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरफलाई पाकिस्तान सरकारले रेड कर्नर नोटिस जारी गर्न गरेको आग्रहलाई भने इन्टरपोलले अस्वीकार गरेको थियो।
- See more at: http://www.nagariknews.com/friday/story/4726#sthash.XD0jNchg.dpuf

No comments:

Post a Comment