गणराज्य-संवाद

भारतीयलाई भारतकै उदाहरण



पछिल्लो समयमा नेपाली संघीयताको परियोजनाप्रति भारतीय पक्षको चासो उजागर भएको छ। वैशाखमा एमाओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई उनको भारत भ्रमणका बेला भाषिक आधारमा प्रदेशहरू गठन गर्नु उपयुक्त हुने सुझाव दिएको बताइए पनि त्यसबारे नेपालमा खासै विमर्श भएको छैन। यो सुझाव त्यताकाले नेपालको कुभलो चिताएर दिएको पक्कै होइन र भारतले नेपालको संघीयकरणमा चासो राख्नुलाई अर्घेलो ठान्नुहुँदैन। यसमा भारतका साथै चीनको चासो पनि जायज छ। तर, नेपालमा संघीयताको आधार तय गर्न भाषा मात्र पर्याप्त छैन भन्ने यथार्थसँग भने भारतीय सुझावदाताहरू अनभिज्ञ देखिन्छन्। भाषासँग गाँसिएका र नगाँसिएका पक्षहरूसमेत नेपालको संघीयकरणका मानक हुनुपर्नेछ र हुन्छन् नै।

नेपालमा संघीयताको मोडेलबारे सतहमा देखिएका धेरैजसो माग धरातलीय यथार्थविपरीत छन्, माग र यथार्थबीच मेल छैन। कतिपय मागहरू दाताहरूबाट दान पाएका आधारमा उचालिएका, उफारिएका छन्। तिनमा राष्ट्र संघीय, युरोपेली र अमेरिकी सहायताको ओइरो छ। क्रिस्चियन मिसनरीहरू पनि घुमाउरो पाराले जातीयतालाई उचालिरहेका छन्। विशेष गरी लुकीछिपी इसाई बनेका कम्युनिस्टहरू जातीयताका प्रवक्ता बनेका छन्। कतिपय विद्वानहरू पनि यसै लाममा उभिएका छन्। यसर्थ, संघीयकरणको मुद्दा भारतीय सुझावदाताहरूले भनेजस्तो सजिलो छैन। यहाँ पहिचानका विविध आयाम छन्। परापूर्वदेखि एउटै भौगोलिक क्षेत्रमा विभिन्न भाषाभाषी, जातजाति छरिएर, खप्टिएर, मिसिएर बसेका छन्। ती जातजाति, भाषाभाषीलाई फुटाएर प्रदेशहरूको नक्सा बन्दैन, बनाउन जबरजस्ती गरे संविधान नै लेखिँदैन।

जस्तै ः गुरुङहरू मनाङबाट इलाम, पाँचथर, ताप्लेजुङसम्म फैलिएका छन्। मगरहरू रोल्पा, रुकुम हुँदै देशैभरि फिँजिएका छन्। हिमाली जातजाति मधेसमा, मधेसीहरू पहाडमा, खसआर्य -पर्वतीय ब्राह्मण, क्षेत्री, दलित, संन्यासी, ठकुरी) सर्वत्र र नेवारहरू हरेक मुकाममा छन्। तामाङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखामा सीमित छैनन्, पूर्व र दक्षिणतिर पनि फिँजिएका छन्। राई र लिम्बू अपेक्षाकृत एकैथलोमा भए पनि उनीहरूमाथि समेत नेपालका अन्य जातजाति र भाषाभाषी खप्टिएका छन्। यता आएर राई-लिम्बू पनि अरूमाथि खप्टिने क्रम बढ्दो छ। थारूहरू भित्री मधेस र मधेसैभरि छरिएका छन्। देशैभरि जातजाति र भाषाभाषीको अप्रतिम इन्द्रेणी बनेको छ। सबै जातजाति सबैतिर स्थायी भएर बसेको यस्तो देशलाई चाक्ला चाक्ला गरेर जातजाति अथवा भाषाभाषीका नाममा धनीपुर्जा बाँड्नै सकिँदैन।

भारतीय सुझावदाताहरूले वास्तवमा यो यथार्थ नबुझेर भाषिक आधार सुझाएका हुन्। भारतमै उत्तर क्षेत्रका प्रदेशहरू भाषिक आधारमा बनेका छैनन्, त्यसमाथि पर्वतीय प्रदेशहरू -जम्मु कश्मीर, हिमाचल, उत्तराखण्ड) र तिनका भावर र तराईको अन्तरसम्बन्ध तोडिएको छैन। विगतका केही अपवादबाहेक नामकरणमा उदाहरणीय र अनुकरणीय सतर्कता अपनाइएको छ। कहाँ, कसरी, कुन आधारमा प्रदेश गठन गर्दा उपयुक्त हुन्छ भनेर वर्षौं लगाएर अध्ययन गरिएको छ। नाका थुन्दैमा 'लौ आऊ प्रदेश बनाऊँ' भनेको छैन। भारतले पछिल्लो समयमा अवलम्बन गरेको संघीयकरणको विधि वास्तवमै प्रशंसनीय छ, यसै कारण भारत संगठित हुँदै शक्तिशालीसमेत बन्दै आएको छ।

नेपालकै पश्चिम सरहदसँग जोडिएको उत्तराखण्डको प्रसंग लिऊँ, यो प्रदेश आठ वर्षअघि उत्तर प्रदेशबाट छुट्याएर बनाइएको हो। यहाँ उत्तराखण्डको प्रसंग किन पनि सान्दर्भिक हुन्छ भने नेपालको सांस्कृतिक भूगोल त्यहाँसँग धेरै मेल राख्छ र त्यो प्रदेश गठन गर्दा तय गरिएको आधार नेपालको संघीयकरणमा सहायक सन्दर्भ बन्न सक्छ। फेरि, हालै नेपालको कर्णाली-महाकाली भूखण्ड र उता भारतको उत्तराखण्डमा अविरल र अतिवृष्टिका कारण जनधनको भयावह क्षति भयो। यस प्राकृतिक विपदाका घडीमा उत्तराखण्डसित नेपालको अन्तरसम्बन्ध अरू खुलेर देखिएको छ।

संघीयताको एउटा आधारभूत पक्ष विपद् व्यवस्थापन पनि हो। त्यहाँ उद्धारकार्य र पुनःस्थापनमा प्रदेश र केन्द्र दुवै युद्धस्तरमा संलग्न भएका छन्, नेपालतर्फ भने त्यस्तो तत्परता छैन किनभने सबै काम काठमाडौँबाटै गरिन्छ। कर्णाली-महाकाली भूखण्डमा यदि प्रादेशिक संरचना हुन्थ्यो भने विपद् व्यवस्थापन पक्कै तत्परतापूर्वक गरिन्थ्यो। उता यसपालिको विपदामा यदि त्यहाँ प्रादेशिक व्यवस्थापन हुँदैन थियो र सबै प्रबन्ध दिल्लीबाट मात्र गर्नुपर्ने हुन्थ्यो भने स्थिति अरू भयावह हुने थियो।

त्यही उत्तराखण्ड र नेपालका बीचमा महाकाली नदी बग्छ। साँच्चै भन्नुपर्दा, महाकालीले राजनीतिक सिमाना निर्धारण गर्छ, भूगोल छुट्याउँदैन। प्रकृतिको स्नेह र कोप दुवैतिर एकैनास पर्छ। यही भूगोलमा परापूर्वदेखि एउटा विशिष्ट सभ्यता हुर्किएको छ, पर्वतीय हिन्दु सभ्यता र यहाँ प्राचीनकालदेखि दुवैतर्फ खसआर्यजनको बसोवास छ। नदीहरूमा उता भागीरथी, मन्दाकिनी, अलकनन्दा छन्, यता महाकाली, सेती र कर्णाली। तल मैदानमा पुगेपछि यी नदीहरू मिसिएर अथाह जलराशि प्रवाहित हुन्छ, त्यही प्रवाह गंगा हो। गंगाको काखमा हुर्किएको सभ्यता, नेपाल-भारत दुवैको साझा धरोहर हो।

अझ गहिरिएर हेर्दा, राजनीतिक रूपमा दुई देशमा विभाजित भए पनि कर्णाली-महाकाली र उत्तराखण्डको भूभाग प्राकृतिक र सांस्कृतिक हिसाबले एउटै हो। त्यति मात्र होइन, सन् १८१५ को सुगौली सन्धिपूर्व आजको उत्तराखण्ड -कुमाउँ र गढवाल मण्डल) नेपाली सरहदभित्रै थिए। त्यसैले पनि यताको र उताको विपदाप्रति नेपाली मनले कुनै भेदभाव गर्दैन, गर्नुहुँदैन। भारतमा कुमाउनी र गढवाली भेट्दा नेपाली नै भेटेसरह हुन्छ। पहाडी ब्राह्मण क्षेत्री, ठकुरी, संन्यासी र दलितसँग उनीहरूको अनुहार छुट्टिदैन। यता पोखरेल, उता पोखरियाल छन्। उप्रेती, प्रसाईं, पन्त यताउता दुवैतिर छन्। अरू पनि थर प्रकरण धेरै मिल्छन्। नेपालले भारतलाई, भारतले नेपाललाई सुझाव दिनु यसर्थ स्वाभाविक हो। तर, सुझावमा अन्तरनिहित आशय, त्यसको सार पक्ष नकेलाई होहल्ला गर्नु किमार्थ उचित होइन।

उत्तराखण्डको सन्दर्भबाट नेपाल-भारत सम्बन्ध दक्षिणतिर मात्र छैन, पश्चिममा पनि फैलिएको छ भन्ने प्रस्ट हुन्छ र यथार्थ यही हो। यसका साथै सम्बन्ध पूर्वतिरसमेत विस्तारति छ। हुन त यो पाटोसँग कोही अनभिज्ञ छैन तर महत्त्व भने दक्षिणले मात्र पाएको छ। मानौँ मधेससँग मात्र भारतको अन्तरंग सम्बन्ध छ, शेष नेपालको जनजीवन तथा भूगोल र भारतका बीच कुनै आदानप्रदान नै छैन झैँ गरेर मधेसी र भारतको गांगेय मैदानबीचको सम्बन्धका वरपिर ितानाबाना बुनिएको छ। यस तानाबानाका धागाहरू नियोजित रूपमा बुनिएका र नेपाली इतिहासलाई दक्षिणमुखी देखाउँदै बंग्याइएका छन्।

खासमा कर्णाली-महाकाली र भारतको उत्तराखण्डबीचको आत्मीयताको चर्चा गररिहँदा ध्यान भूगोल र सभ्यतामा थियो। भाषाको प्रसंग त्यसपछि आउने हो। वास्तवमा सभ्यता फराकिलो, त्यसपछि भाषा अलि संकुचित तर जातीय आधार औधी नै संकीर्ण हुन्छ। आधार तय गर्दा, सक्दो फराकिलो हुन सक्दा त्यसले विभिन्न भाषाभाषी र जातजातिलाई समेट्छ।

पुनः उत्तराखण्डकै सन्दर्भ हेरौँ। उत्तराखण्ड प्राचीन नाम हो, त्यहाँ विभिन्न संस्कृतिहरू परस्परमा समरस भएका छन्। पर्वतीय क्षेत्रका बद्रीनाथ, केदारनाथ, गंगोत्रीजस्ता तीर्थस्थल र मैदानका हरिद्वार, ऋषिकेश एकापसमा गंगाका स्रोतहरूद्वारा अनुबन्धित छन्। कुमाउँ क्षेत्रका नैनीताल र अल्मोडालाई देहरादुनसँग भाषाले होइन, सभ्यताले गाँसेको छ। भाषाभेद, जातिभेद हुँदाहुँदै पनि सभ्यता निर्मित सम्बन्ध प्रगाढ हुन्छ। भारतीय संघीयतामा उत्तराखण्ड वास्तवमै उदाहरणीय र अनुकरणीय छ। यसले कसैलाई बाहेक गर्दैन, सबैलाई आफूमा समेट्ने उदारता यसको गठनको सिद्धान्तमै अन्तरनिहित छ। भाषिक आधार हुन्थ्यो भने त्यहाँ गढवाली र कुमाउनीबीच तानातान चल्थ्यो। त्यहाँ पनि तराई र भावर छन्, पहाड, भावर र समतलबीच खिचातानी चल्थ्यो।

भारत स्वतन्त्र हुँदा भाषालाई संघीयकरणको आधार बनाउने योजना थिएन, भाषिक आधारको बीजारोपण सन् १९५० को दशकमा भएको हो। त्यति हुँदा पनि प्रदेशहरूको नामकरणमा होस पुर्‍याइएको थियो। सकेसम्म जाति अथवा भाषासूचक नाम राखिएको थिएन। सुरुमा सभ्यता नै मानक थियो, त्यसलाई अद्यापि निरन्तरता दिइएको छ। यसमा भाषिक आधारमा राखिएको नाम तमिलनाडु एउटा अपवाद हो भने पूर्वोत्तरमा एकल जातीय आधारमा बनेका नागाल्यान्ड र मिजोरम डरलाग्दा अपवाद हुन्। नागाल्यान्ड र मिजोरम अपवाद मात्र होइनन्, जातीय विद्वेषका नमुना पनि हुन्।

पूर्वोत्तर भारतमा हुने जातीय हिंसा, विस्थापन र पृथकतावादी संगठनहरूद्वारा जबरजस्ती चन्दा असुली र अपहरणका घटनाका प्रेरणा नागाल्यान्ड र मिजोरम हुन्। यी प्रदेश गठन गर्न अपनाइएको शैली नै मणिपुरमा नागा, कुकी र मैतेई पृथकतावादीले अपनाएका छन् भने असममा युनाइटेड लिबरेसन प|mन्ट अफ् असम -उल्फा) र बोडो पृथकतावादी त्यसैको अनुकरण गररिहेका छन्। त्यति मात्र होइन, यी दुई प्रदेश आफ्ना परम्परागत धार्मिक आस्थाबाट विच्छिन्न भएर क्रिस्चियन चर्चका अधीन भएका छन्। मिसनरी सहायताको ओइरो, जातीय पृथकता र आफ्नो प्रादेशिक क्षेत्रबाट अल्पसंख्यकहरूलाई बलजफ्ती विस्थापित गर्नु, यी दुई प्रदेशको विशेषता नै हो। भारतमा सर्वत्र भाषिक आधारमा प्रदेश बनेका छैनन्। नयाँ प्रदेशहरू उत्तराखण्ड, झारखण्ड र छत्तीसगढ हुन् अथवा सन् १९७० को दशकमा बनाइएको मेघालय, बहुसांस्कृतिक र साझा नाममा आधारति छ।

सदाशयपूर्वक हेर्दा, आफ्नो पूर्वोत्तर भारत आफैँ जातीय विद्वेषबाट ग्रस्त भएको हुँदा भाषिक आधार फराकिलो हुने ठानेर भारतीय नेताहरूले नेपालको संघीयकरणमा भाषिक आधार अवलम्बन गर्नु उपयुक्त हुने सुझाव दिएका हुन सक्छन्। यहाँ कतिपयमा भारतको सुझावलाई बाध्यात्मक मान्ने स्वभाव छ तर कुनै पनि सुझाव स्वीकार्ने/नस्वीकार्ने निश्चय भने आफैँले गर्नुपर्छ। उताबाट सुझाव दिइँदा यताबाट नेपालमा प्रदेशहरू सबै अटाउने स्थानीय सभ्यताका आधारमा तय हुन सक्छन्, जाति र भाषाविशेषका आधारमा होइन भन्न सक्नुपर्छ। नेपाललाई बुझ्दै नबुझी कोही बोल्दै छ भने उसलाई सच्चिन आग्रह गर्न मिल्छ, गर्नुपर्छ ।

No comments:

Post a Comment