दाइजोमा सुन नल्याएपछि बेहुला रित्तो हात फर्किए



रौतहट- दाइजो नदिएको भन्दै केटा पक्षले विवाह तोडेको समाचार हामीले सुन्दै आएका छौं। तर रौतहटमा भने दाइजोबापत सुन नल्याएको भन्दै केटी पक्षले विवाह तोडेका छन्। आइतबार राति जन्ती लिएका आएका भारत बिहारको सितामढी बैरगनिया थानाक्षेत्रको जमुआ गाँउका बेहुला एक्लै फर्किएका छन्। आइतबार राति रौतहटको बिर्ती प्रष्टो-८, बडका बरेडवामा आएका उनीहरु सोमबार बिहान भोकभोकै फर्किएका थिए।

सुनको गहना बेहुला पक्षले नल्याएको आक्रोशमा बेहुली पक्षले दाइजोस्वरुप केटा पक्षलाई दिएको रकम जन्तीको गाडी घेरेर असुल गरेका छन्। लाल साह सोनारको २५ वर्षीय छोरा सुरेश साहको बिर्ती प्रष्टोका बडेरवा टोलका चुल्हाइ साहकी छोरीसँग विवाहका लागि जन्ती आएको थियो।
बेहुलासहित जन्तीहरु विवाह मण्डपमा प्रवेश गर्नासाथ बेहुलीका बुबा चुल्हाइ साहले गहना के के लिएर आएका छौं भनी बेहुला पक्षलाई सोधेका थिए। सुनको गहना नल्याएको भनेपछि विवाह नगर्ने अडानका साथ जन्तीलाई घेरेर विवाहबापत दिइएको दाइजोको १३ हजार रुपैया असुल गरी छोडेका थिए। 'विवाह गर्नुअघि दाइजोबापद सुन ल्याउने सहमति गरेका थियौं,' बेहुलीका बुबा चुल्हाइ साहले भने, 'विवाहमा नल्याएको देखेपछि हामीले विवाह तोड्यौं।' उनले वाचा पूरा नगरेकाले विवाह नगरेको स्पष्ट पारे।
बेहुला पक्षले आर्थिक अवस्था कमजोर रहेको बताउँदै विवाह गर्न ल्याएको चाँदीको गहनाहरु देखाएपछि बेहुली पक्ष आक्रोसित भएर लगन गाठो तोडेका थिए। एकथान पनी सुनको गहना ल्याउन नसक्ने केटासँग छोरीको विवाह नगर्ने अडान बेहुली पक्षले राखेपछि विवाह टुटेको थियो। केटाका बुबाले नजिकैको बजारबाट सुनको साधारण गहणा ल्याएर विवाह गराउनुपर्ने भने पनि उनको केही नलागेको स्थानीयले बताए।
लगन गाठोको समय सकेपछि रातभरि भोकै पेट जन्तेहरु बेहुलीको घरमा बसी सोमबार बिहान फर्किएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायब निरीक्षक प्रहलाद केशरीले बताए। बेहुलाकेटा रोगी रहेका र कमाउन पनि नसक्ने भएको साथै गहना पनि नल्याएकाले विवाह टुटेको बेहुली पक्षले सोमबार दाबी गरेको छ। तर विवाह मण्डपमा सुनको गहनाको अलावा कुनै चर्चा न आएको बेहुला पक्षको भनाइ छ।

No comments:

Post a Comment