भट्टराईको राष्ट्रपति बन्ने दाउ

काठमाडौ, साउन १ । पदीय भागबन्डाको विषयमा चर्को विवाद भएपछि विस्तारित बैठक आह्वान गरेको एकीकृत नेकपा माओवादीले पदत्याग गरेका डा.बाबुराम भट्टराईलाई मनाउन नसकेपछि अन्ततः अध्यक्षलाई शर्वसक्तिमान बनाएर अन्य सबैलाई केन्द्रीय सदस्यमा थन्क्याउने भएको छ। कुनै बेला अध्यक्षलाई सेना, सरकार र मोर्चा सबैको जिम्मेवारी दिँदा अग्रपंक्तिमा विरोध गर्ने भट्टराई स्वयंको प्रस्तावका आधारमा एमाओवादीले अहिले संगठनात्मक क्षेत्रमा देखिएको विवाद हलको त्यस्तो जुक्ति निकाल्न लागेको छ ।

एमाओवादीभित्र सधैंजसो आफू र आफ्नो परिवारका सदस्यलाई केन्द्रमा राखेर निर्णय लिन माहिर भनी आलोचना खेप्दै आएका भट्टराईले किन अध्यक्षलाई सर्वशक्तिमान बनाएर अन्य सबैलाई केन्द्रीय सदस्यमा खुम्च्याउने प्रस्तावमा अडान लिइरहेका छन् रु अहिले एमाओवादीभित्र यस विषयमा निकै ठूलो बहस हुन थालेको छ। अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्षमै रहिरहन गरेको आग्रहलाई त उनले मानेका छैनन् नै, वरिष्ठ नेताको प्रस्ताव पनि लत्याएका छन्। जसका कारण दिनँहुजसो बस्दै आएको एमाओवादीको पदाधिकारी, संगठन विभाग, ब्युरो इन्चार्ज र राज्य समिति संयोजकहरूबीचको छलफलले समाधान दिन सकिरहेको छैन।

सोमबारको बैठकमा पनि नेताहरूका बीचमा कुरा मिल्न नसक्दा समाधान निस्कन सकेको छैन। यद्यपि, अध्यक्ष मात्रै कायम गरी अन्यलाई सदस्य राखेर जाने भट्टराईको प्रस्तावमा सहमति खोज्ने बिन्दुमा अध्यक्ष दाहाल पुगिसकेको स्रोतको भनाइ छ। दाहाल पार्टीका महत्वपूर्ण निर्णय लिनुपर्दा ‘आवश्यकताको सिद्धान्त’का आधारमा खास–खास नेताहरूसँग छलफल गर्ने गरी अध्यक्ष र सदस्य मात्र रहने संगठनात्मक संरचना निर्माण गरेर जाने निष्कर्षमा पुगेका छन्।

आफूले ‘पदत्याग’ गरे पनि पदाधिकारीमा नै रहेका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीका विषयमा कुनै सोचविचार नै नगरी पार्टीको सर्वोच्च निकाय महाधिवेशनले चुनेका सबैलाई (अध्यक्षबाहेक) पदत्यागका लागि बाबुरामले बारम्बार गरेको आग्रहका पछाडिको मक्सद के हो त रु अहिले एकीकृत माओवादीका नेता तथा कार्यकर्ताबीच बहस छ।स्रोतका अनुसार भट्टराई कुनै पनि हालतमा केन्द्रीय सदस्यभन्दा माथिल्लो जिम्मेवारी अहिले लिने पक्षमा देखिन्नन् । उनी आफ्नो पदत्यागको अडानमा यथावत् रहनेछन् । तर, फेरि अर्का उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटीलाई पनि पदाधिकारीमा रहन दिने पक्षमा उनी छैनन् ।

त्यही भएर उनले अध्यक्ष मात्रै राखेर अन्य सबैलाई केन्द्रीय सदस्यको मात्र जिम्मेवारीमा राख्ने प्रस्तावमा अडान लिइरहेका छन् । बाबुरामनिकट एक नेताका अनुसार भट्टराई पार्टी संगठनको अस्त–व्यस्ततालाई मिलाउनका लागि जस्तोसुकै त्याग गर्न तयार छन् भन्ने कुरा जनताको नजरमा प्रस्ट्याउन आतुर छन् । उनले पदत्यागको घोषणा गर्दा जनस्तरबाट ‘नौटंकी निर्णय’ को संज्ञा पाएकाले पनि अडानमा दह्रोसँग खुट्टा टेकेको देखाउन चाहन्छन् ।

तर, अध्यक्ष दाहालनिकटका नेताहरू भट्टराईको पदत्यागको घोषणा, उनले लिएको अडान र समाधानका लागि राखेको प्रस्तावका बीचमा स्वार्थकेन्द्रित राजनीति लुकेको दाबी गर्छन् । ‘भट्टराईको अबको मिसन राष्ट्रपति बन्ने देखिन्छ, त्यसका लागि भट्टराईले अहिलेदेखि नै वातावरण निर्माण थालिसकेका छन्,’ दाहालनिकट एक पोलिटब्युरो सदस्यले भने, ‘तर, उनको त्यो रणनीति सम्भव होलाजस्तो लाग्दैन ।’

ती नेताका अनुसार भट्टराई अहिले आवश्यकता पर्‍यो भने देशभित्र जस्तोसुकै त्याग गर्न सक्ने त्यागी नेताको छवि बनाउन चाहन्छन् भने बाह्य रूपमा पनि विश्वासको वातावरण निर्माणमा जुटेका छन् । ‘भट्टराईजी अध्यक्षलाई शर्वशक्तिमान बनाउन भूमिका खेलेको भन्दै त्यसको गुन पछि लिने दाउमा लागेको देखिन्छ,’ दाहालनिकट अर्का नेताले भने, ‘उनको उद्देश्य राष्ट्रपति बन्ने ध्याउन्नमा केन्द्रित छ । ’ पदाधिकारीमा रहेका श्रेष्ठ र बोगटीले भने भट्टराईको प्रस्तावमा चर्को विरोध गरिरहेका छन् । तैपनि, अध्यक्षले बोगटीलाई मनाउन सक्ने र श्रेष्ठ अन्ततः सहमतिमा आउन बाध्य हुने निष्कर्ष भट्टराईको देखिन्छ ।

No comments:

Post a Comment