काठमाडौं ।’हाकिमहरू सेक्सका बिरामी छन्, तिनको उपचार नगरी जागिर खानै सकिएन’ भनी एउटा ‘अति गोप्य’ भेला (क्लोज क्याम्प) मा कुरा उठेपछि अहिले कान्तिपुर पब्लिकेशन्समा तहल्का मच्चिएको छ । पत्रिका, रेडियो, टेलिभिजनसमेत गरी दर्जनौं महिला सञ्चारकर्मी उपस्थित सो क्लोज क्याम्पमा कान्तिपुरमा काम गर्ने महिलाले सबैभन्दा बढी आनो अफिसका भेद खोले । भेद अरुले नै खोले । तर, ‘होचोको मुखमा घोचो’ भनेजस्तो यतिबेला रेडियो कान्तिपुरकी दीपा दाहालको जागिर धरापमा परेको छ । कान्तिपुरमा मात्र हैन, त्यही क्लोज क्याम्पमा जुन-जुन मिडिया हाउसबारे कुरा उठे, ती सबैमा भेलाका आद्योपान्त विवरण पुग्नाले अहिले महिला सञ्चारकर्मीमाझमै विश्वासको संकट परेको छ । ‘क्लोज क्याम्प’ मा नेपालका मिडिया हाउस सेक्सको अखडामा परिणत हुँदै गएका घटना, पात्र र परिस्थितिबारे विस्तृत कुरा उठेको थियो । संगीता लामा अध्यक्ष रहेको डब्ल्युडब्ल्युजे (क्रियाशील महिला पत्रकार) ले ‘सञ्चारगृहमा महिलामाथि हुने यौनजन्य हिंसा र विभेद’ सम्बन्धी अध्ययनका क्रममा आयोजना गरेको ‘क्लोज क्याम्प’ मा ती कुरा उठेका हुन् । तर, त्यहाँ कुरा उठ्नाले समस्याहरू झन् बढेका छन् । र, अहिले पीडित महिला सञ्चारकर्मीका उजुरी ठाउँ–ठाउँमा पुगेका छन् । त्यसमध्ये अधिकांश उजुरी प्रधानमन्त्री कार्यालयस्थित महिला हिंसासम्बन्धी डेस्कमा दर्ज भएका छन् । क्लोज क्याम्पमा कान्तिपुरका हाकिमहरूलाई ‘सेक्सका विरामी’ भन्ने महिला पत्रिकातिरकी हुन् । तर, आरोप रेडियोकी दीपालाई लागेपछि उनी आफूमाथि भएका दुईवटा हिंसाका उजुरी बोकेर विभिन्न ठाउँमा पुगिसकेकी छन् । रेडियो कान्तिपुरका समाचार प्रमुख प्रविण अधिकारीले दीपालाई एसएमएस गरी आपत्तिजनक अश्लील शब्दमा यौनप्रस्ताव राखेको टेक्स्ट उनले मोबाइल सेटमा सुरक्षित राखेकी छन् । र, न्याय खोज्न गएका ठाउँमा देखाउने गरेकी छन् । त्यसबाहेक त्यसप्रकारका अन्य एसएमएस पनि सुरक्षित राखेकी छन् । त्यस्तै, रेडियोका प्राविधिक श्रीकृष्ण न्यौपानेले अफिसमा काम गर्दागर्दै आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी पनि बोकेर हिँडेकी छन् । ‘केही महिला सञ्चारकर्मीले राजीखुशीले माथिल्लो ओहोदाका अधिकारीसँग यौनसम्बन्ध राख्ने र तिनैले यौन शोषित हुन नचाहने अन्य महिलाबारे अनेकन कुरा लगाई दुःख दिने’ भनी दर्जनौं उजुरी प्रधानमन्त्री कार्यालयस्थित महिला हिंसासम्बन्धी डेस्कमा पुगेको छ । यसमध्ये गोरखापत्रकी ४५ वर्षीया हरिकला अधिकारीले डब्ल्युडब्ल्युजेमार्फत पाँच पृष्ठ लामो उजुरी दिएकी छन् ।
गोरखापत्रमा उनी अहिले ११ तहकी उम्मेदवार हुन् । उनले आफूमाथि यौनजन्य दुव्र्यवहार भएको र त्यस्तो नगर्न अनुरोध गर्दा बालपत्रिका ‘मुना’ मा थन्किनुपरेको गुनासो गरेकी छन् । उता, ‘गोरखापत्रमा कार्यरत स्ट्रिन्जर महिलाहरूको तर्फबाट’ भन्दै प्रधानमन्त्री कार्यालयमा एउटा बेनामे उजुरी परेको छ । ‘स्ट्रिन्जर’, अर्थात् जतिवटा समाचार छापियो, त्यही आधारमा पैसा पाइने पदमा कार्यरत महिलासँग न्युज डेस्कका हाकिमले यौनजन्य व्यवहार चाहने र नपाएमा समाचार नहाल्नेजस्ता समस्या रहेको सो उजुरीमा लेखिएको छ । युवराज गौतमको पालादेखि सुरु भएको यो चलन अहिले सीताराम अग्रहरिको पालासम्म सहनै नसकिने रºतारमा बढेको उजुरीमा छ । त्यस्तो व्यवहार चाहने भनी उजुरीमा ५० कटेका बूढादेखि भर्खरका तन्नेरी सरोज ढुंगेल, भक्त थापासम्मलाई झोसिएको छ । ती स्ट्रिन्जर महिलाले ‘हाकिमहरूसँग घुम्न गएपछि मात्रै समाचार छापिन्छ’ भन्दै गोरखापत्रका केही कर्मचारीले उकास्न खोजेको पनि उजुरी गरेका छन् । उता, निजी टेलिभिजन च्यानलमा मौलाएको यौन विसंगतिले सरकारी स्वामित्वको नेपाल टेलिभिजनलाई पनि बाँकी राखेको रहेनछ । त्यहाँको स्टुडियोभित्रै एडिटिङ गर्ने शाक्य र अंग्रेजी समाचार वाचिका एक महिलालाई अन्य सहकर्मीले आपत्तिजनक अवस्थामा भेटाएपछि शाक्यको जागिर नै गयो । सुरक्षा अधिकृतसँग विवाह गर्न लागेकी महिलालाई भने दुई महिना निलम्बन गरी हालै सफाइ दिइएको छ । ‘लय संग्रौला रिटायर्ड भएपछि धेरैका छोरीचेलीले सुखसँग जागिर खान पाउने भए’ भनिएको त्यहाँ अहिले लयको इतिहास बिर्साउनेगरी त्यस्ता गतिविधि मौलाएको डब्ल्युडब्ल्युजेमा चर्चा चल्यो । त्यहाँ ‘जबरजस्ती’ का घटना कम छन् । बरु, उमेर चढेकाहरूले व्यापारी फसाउने प्रतिस्पर्धा गर्दा इमान्दारहरू पनि बद्नाम हुनुपर्ने समस्या रहेको महिला सञ्चारकर्मीमाझ चर्चा छ । उसो त नेपाल टेलिभिजनमा परिवारवादले पनि नराम्रोसँग प्रश्रय पाउँदा क्षमतावान सञ्चारकर्मी पाखा लागेका छन् । दुई वर्षदेखि रोकिँदै आएको समाचार वाचिका छनौटको काम हालै सम्पन्न भयो । अंग्रेजी र नेपाली भाषाका गरी नौ जना समाचारवाचिका छान्ने क्रममा गोविन्द धितालकी भान्जी सोफिया न्यौपाने उत्तीर्ण भएकी छन् । ग्लोबल आइएमई बैंकमा जागिर खाने सोफियालाई अहिले टेलिभिजनभरिका मान्छेले ‘भाञ्जी’ भनेर बोलाउँछन् । त्यस्तै, चूडामणि लुइँटेलले भतिजी विभा लुइँटेललाई पनि समाचार वाचिकामा उत्तीर्ण गराएका छन् । उनलाई कार्यक्रम निर्माता बनाउनका लागि अहिले आभाषबाट तालिम गरेको प्रमाणपत्र बनाउन चूडामणि सक्रिय छन् । उनले यसअघि भाइ प्रेमलाई टेलिभिजनमा घुसाइसकेका छन् । यसबाहेक सहायकस्तरका कर्मचारीले पनि यसपटक छोरीहरूलाई समाचार वाचिकाको जागिर खुवाएका छन् । रेडियो नेपालको रेकर्डिङ स्टुडियोभित्रै बलात्कार प्रयास भएको भन्दै डब्ल्युडब्ल्युजेको भेलामा त्यहाँ सिसिटिभी राख्नुपर्ने माग उठेको छ । पूर्वकी ढुंगेलकी छोरीलाई लोकेन्द्र ओलीले रेकर्डिङ स्टुडियोभित्रै दुव्र्यवहार गरेको प्रसंगमा सो कुरा निक्लिएको हो ।
-जनआस्था
No comments:
Post a Comment