शिक्षक/शिक्षकाबीचको अनैतिक सम्बन्ध सार्वजनिक भएपछि विद्यालय बन्द





सोलुखुम्बु, भदौ २८ जनकल्याण उच्चमावि जुवु सोलुखुम्बुमा कार्यरत एक शिक्षिकाले सोही विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो कुमारीत्व लुटेको आरोप लगाएपछि विद्यार्थीले विद्यालयमा पठनपाठन ठप्प पारेका छन्।

शिक्षिका रञ्जिता बनले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर शिक्षक कुमार बस्नेतले यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै विद्यालय प्रशासनमा उजुरी गरेपछि दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले पठनपाठन अवरुद्ध गराएका हुन्।

घटना सार्वजनिक भएपछि गत सोमबारदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ। विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको छलफल भए पनि कुरा नमिलेपछि थप अनुसन्धानका लागि शिक्षक शिक्षिका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ।

शिक्षक बस्नेतले भने आफूले बनमाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी गरेका छन्। उनले आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै खण्डनसमेत गरेका छन्। शिक्षक/शिक्षिका दुवैलाई हिजो साँझ जिल्ला प्रहरी कार्यालय ल्याइपुर्याकएको र थप अनुसन्धानपछि मात्र यथार्थ थाहा हुने प्रहरीनायब उपरीक्षक रमेशकुमार खड्काले बताए।

विद्यालयको पठनपाठनमा थप समस्या नहोस् भनेर उनीहरुलाई सदरमुकाम झिकाइएको प्रहरीको भनाइ रहे पनि विद्यार्थी भने घटनाको सत्यतथ्य छानबिन भएर दोषीलाई कारबाही नभएसम्म विद्यालयमा पठनपाठन हुन नदिने अडानमा छन्।

No comments:

Post a Comment