छोरी भन्दा कान्छीलाई प्रअले भगाएपछि






आफ्नी छोरी भन्दा कान्छी उमेरको छात्रा संग बहु बिवाह गरेर प्रधानाध्यापक बेपत्ताभएपछि धादिङको बेनिघाट गाविस वडा नम्बर ८ बिशालटारमा रहेको चन्द्रोदय उच्च माविमा समस्या उत्पन्न भएको छ । गोरखा जिल्लाको घ्यालचोक गाविस घर भई चन्द्रोदय उच्च मावि बिशालटारको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आईरहेका रामेश्वर पोखरेलले आफ्नै घरमा डेरागरि बस्ने १८ बर्षिया सविता गुरुङलाई भगाएर कान्छी श्रीमती बनाएपछि पोखरेलले सम्हाल्दै आईरहेको प्रधानाध्यापकको जिम्मेवारी संकटमा परेको हो ।
पोखरेलका छोरा काठमाण्डौ बिश्वबिद्यालयमा इन्जिनियरीङ पढ्दै छन भने जेठी छोरी भारतको बैगलोरमा नर्स पढ्दै छिन । त्यसैगरि कान्छि छोरी पनि अहिले १२ कक्षामा पढ्दै गरिरहेको बेला पोखरेलले आफ्नी कान्छी छोरी भन्दा पनि कम उमेरको छात्रालाई भगाएर लगेको पोखरेलका छिमेकीहरुले बताएका छन ।
गोरखा जिल्लाको घ्यालचोक गाविसको उच्च माविमा कक्षा १२ मा पढ्दै गरेकी गुरुङ केहि महिना यता ट्युशन पढ्नका लागि भन्दै पोखरेलको घरमा बस्दै आईरहेकी थिइन । पोखरेलले सांझ विहान ट्युशन समेत पढाउंदै आईरहेकोमा एक साता अघि उनै छोरी उमेरकी छात्रालाई श्रीमती बनाएर भगाएका हुन । पोखरेल कान्छी श्रीमती लिएर भागेपछि अन्यौलमा परेको पोखरेल परिवारले यस घटनाका वारेमा केहि वताउन चाहेनन । पोखरेलकी जेठी श्रीमती पनि गोरखा जिल्लाको घ्यालचोक गाविसमा शिक्षिका पदमा कार्यरत छिन ।
उच्च माविको प्राचार्य समेत रहेका पोखरेल एक साता अघि देखि बिद्यालयमा अनुपस्थित रहेपनि चन्द्रोदय उच्च मावि व्यवस्थापन समितिले यस बिषयमा कुनै चासो नदेखाउनुले पोखरेलको गलत कार्यलाई ढाकछोप गर्न खोजिएको आरोप शिक्षक र बिद्यार्थीहरुको छ । बिद्यार्थी र शिक्षकले पोखरेललाई कारवाही गर्नुपर्ने आवाज उठाएपनि विद्यालय व्यस्थापन समितिले कुनै चासो नदेखाउनुमा पोखरेल एकिकृत माओवादी निकट रहेको अखिल नेपाल शिक्षक संगठनको सदस्य भएको र व्यवस्थापन समितिका अधिकांश पदाधिकारी एमाओवादी समर्थित भएका कारण घटनालाई गुपचुप राख्न खोजिएको सोहि बिद्यालयका एक शिक्षक बताउंछन ।
पोखरेल विना सुचना बिद्यालयमा अनुपस्थित भएपछि यस वारेमा खोजि गरि सम्वन्धित निकायलाई तत्काल सहि सूचना दिने काम सम्वन्धित व्यवस्थापन समितिको जिम्मेवारी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ

No comments:

Post a Comment