यौन व्यवसायबाट करोडपति




लखनउ/ भारतको उत्तरप्रदेश राज्यको मेराठस्थित कवाडी बजारमा रहेको वेश्यालयको कारोबारमा हालैका दिनमा क्रान्तिकारी परिवर्तन देखिन थालेको छ । त्यहाँ कार्यरत १५ सय बढी वेश्याका छोराछोरी देशका प्रमुख विद्यालयमा अध्ययन गर्छन् । जसमध्ये एउटी कोठी मालिक्नीको कथा भने झन् रोचक छ । उनको केही समयअघि निधन भइसकेको छ, तर उनको कोठी सञ्चालन गरिरहेकी महिलाका अनुसार मृतकले वेश्यावृत्ति गरेर नै आफ्ना दुई भाइलाई उच्च शिक्षा हासिल गराएकी थिइन् । हाल ती महिलाका एक भाइ मध्यप्रदेशमा आइपिएस छन् भने अर्का भाइ उत्तरप्रदेशमा भेटनरी डाक्टरका रूपमा सेवा गरिरहेका छन् ।
त्यहाँ काम गर्ने वेश्याहरू प्रति महिना औसत एक लाख कमाउँछन् । आम्दानीको अधिक हिस्सा उनीहरूले आफ्ना छोराछोरीको पढाइमा खर्चिने गरेका छन् । उनीहरूका छोराछोरी उत्तरप्रदेश तथा देशका विभिन्न महँगा स्कुल तथा क्याम्पसमा उच्च शिक्षा हासिल गरिरहेका छन् ।


पश्चिम युपीको सबैभन्दा ठूलो वेश्यावृत्ति हुनेस्थल मेराठको कवाडी बजारलाई मानिन्छ । गत बुधबार प्रहरीले नेपालबाट तस्करी गरेर ल्याइएकी एक युवतीको खोजीमा कवाडी बजारमा छापा मारेको थियो । प्रहरीले छापा मारेपछि शुक्रबार तथा शनिबार यहाँ वेश्याको संख्या निकै कम पाइएको थियो ।
मेराठको कवाडी बजारमा साठीभन्दा बढी कोठी सञ्चालनमा छन् । एक कोठीकी मालिक्नीले बताएअनुसार यस बजारमा ११ सयदेखि १५ सय वेश्या निर्बाध रूपमा आफ्नो पेसा चलाउँदै आएका छन् । यहाँका कुल वेश्यामध्ये ५० प्रतिशत पारम्परिक रूपमा वेश्यावृत्ति गर्दै आइरहेका छन् । बाँकी वेश्या नेपाल, उडिसा, बंगाललगायत क्षेत्रबाट तस्करी गरेर ल्याइएका हुन् ।
वेश्याको हक-हितमा लामो समयदेखि कार्य गर्दै आएको संकल्प नामक संस्थाकी अध्यक्ष अतुल शर्माका अनुसार कवाडी बजारमा वेश्यावृत्ति गर्ने कुनै पनि महिलाका छोराछोरीले सरकारी विद्यालयमा पढेका छैनन् । उनीहरूका छोराछोरी धेरै डोनेसन दिँदा पनि भर्ना हुन कठिन हुने मेरठका टप मानिएका स्कुलमा पढिरहेको उनले बताइन् । मेराठमा मात्र होइन, वेश्याका छोराछोरी देशका सबैभन्दा राम्रा विद्यालयमा पढिरहेको उनले थपिन् । कतिपय वेश्याका छोराछोरी एमटेक तथा एमबिए गरेर कैयौँ बहुराष्ट्रिय कम्पनीमा समेत कार्य गरिरहेको शर्माले बताइन् ।


एक कोठीकी मालिक्नीका अनुसार प्रत्येक दिन उनीहरूले प्रतिकोठीको ६ सय रुपैयाँ प्रहरीलाई अनिवार्य नबुझाएमा उनीहरूको व्यवसाय चौपट हुन्छ । कोठीमा काम गर्ने हरेक महिलाले आ-आफ्नो हिस्साको रकम एकमुष्ठ जम्मा गरेर प्रहरीलाई बुझाउँदै आएका छन् । यति मात्र नभई, प्रत्येक महिलाले व्यक्तिगत रूपमा तीन सय रुपैयाँ प्रहरी तथा तीन सय रुपैयाँ कोठीको भाडा अनिवार्य बुझाउनुपर्छ । एउटा कोठीमा औसत १० देखि १२ महिला काम गर्छन् ।
मेराठको कवाडी बजारमा महिलाको मोल चार सयबाट सुरु हुन्छ । एक कोठीकी मालिक्नीका अनुसार यहाँ आउने अधिकांश ग्राहक निम्न वर्गका हुन्छन् । कहिलेकाहीँ सादा पोसाकमा सेनाका जवानसमेत आउने गरेको उनको अनुभव छ । यहाँको वेश्यालयबाट महिलालाई बाहिर लैजानुपरेमा ग्राहकले महिलाको बुकिङ अनिवार्य रूपमा गर्नुपर्छ । बुकिङको रेट १२ सयदेखि दुई हजार रुपैयाँसम्म हुन्छ । त्यसबाहेक सेक्युरिटीबापत ३० देखि ४० हजार रुपैयाँ धरौटी राख्नुपर्छ । महिलालाई सकुशल फिर्ता ल्याइदिएपछि सो रकम फिर्ता हुन्छ ।

वेश्यावृत्ति गर्ने महिलाका सपना
यहाँ काम गर्ने एक वेश्या जरिना -काल्पनिक नाम) का छोरा अहिले १७ वर्ष पुगेका छन् भने जरिनाको उमेर ३० वर्ष पुगेको छ । उनलाई बंगलादेशबाट तस्करी गरेर ल्याइएको थियो । आफ्नो छोरा आइएएस बनोस् भन्ने जरिनाको चाहना छ । जसका लागि कोचिङलगायत लाग्ने सम्पूर्ण खर्च गर्न उनी तयार छिन् । 'छोराले मेरो सपना पूरा गरिदेओस्, उसका लागि म जे पनि गर्न तयार छु,' उनले भनिन् । जरिना मात्र होइन, वेश्यालयमा भेटिएका हजारभन्दा बढी वेश्याले आफ्ना छोराछोरीले आइएएसलगायत राम्रो पेसा अँगालून् भन्ने चाहना रहेको बताए । मेराठको कवाडी खानामा सञ्चालित सबै कोठी एक-अर्कासँग टाँसिएका छन् । एक कोठी मालिक्नीका अनुसार यहाँ काम गर्ने हरेक महिलाले महिनामा औसत एक लाखभन्दा बढी कमाउँछन् । काम गर्ने अधिकांशको औसत उमेर १३ देखि ३० वर्ष रहेकोसमेत उनले बताइन् । करिब १३ वर्षको उमेरदेखि वेश्यावृत्तिमा लाग्ने महिलाको रिटायरमेन्टको औसत उमेर तीस वर्षको छ । करिब सत्र वर्षको अवधिमा एउटा वेश्याले औसत दुई करोडभन्दा बढी कमाउने गरेको उनले बताइन् । अधिकांश वेश्याको रिटायरमेन्ट प्लान भनेको उनीहरूका छोराछोरीको पढाइ पूरा गर्ने भएको संकल्प संस्थाकी अध्यक्ष अतुल शर्माले जनाइन् ।
यहाँ काम गरिरहेका केही वेश्याले अचेल विवाहसमेत गर्न थालेका छन् । केही समयअघि यहाँ काम गर्ने एक महिलाले आफ्ना सन्तानका पितासँग विवाह गरिन् । सबैभन्दा अचम्मको कुरा त के भने आफ्ना सन्तानको बुबा को हो भनेर कुनै पनि वेश्या अनजान हुँदैनन् । उनीहरूलाइ आफ्नो गर्भमा रहेको बच्चाको बुबा को हो भनेर पहिले नै प्रस्टसँग थाहा हुन्छ । पछिल्लो समयमा यहाँ जन्मेका सबै बच्चाको जन्मदर्ता प्रमाणपत्र छ, जसमा उनीहरूको बुबाको नामसमेत सामेल छ ।

No comments:

Post a Comment