मधेसी दलबीच भोट तानातान

भैरहवा, कार्तिक १६ - अन्तर्राष्ट्रिय जगतमै परिचित बुद्ध जन्मस्थल लुम्बिनी रहेको रुपन्देहीमा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी पनि बढ्दै गएको छ । मुख्य राजनीतिक दलका केन्द्रीय स्तरका धेरै नेताले यसपटक रुपन्देहीलाई चुनावी मैदान बनाएका छन् । अधिकांश उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त बन्दै टोलटोल र गाउँगाउँका मतदातासँग भेटघाट, अन्तरक्रिया, चुनावी प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् । ३ लाख ८८ हजार ३ सय ७ कुल मतदाता रहेको रुपन्देहीमा ७ निर्वाचन क्षेत्र छ । ४० राजनीतिक दल र स्वतन्त्र गरी यहाँ २ सय ३९ उम्मेदवार चुनावी मैदानमा भिडेका छन् । ०६४ को पहिलो संविधानसभा निर्वाचन तुलनामा यसपटक १ लाख ३४ हजार ५ सय ९१ मतदाता घटेका छन् । अघिल्लो चुनावमा १० वर्षे जनयुद्धबाट आएको माओवादी र मधेस आन्दोलनका कारण देखा परेको राजनीतिक वातावरण यसपटक नहुनुले विगतको चुनावी परिणाम यसपटक कायम हुन गाह्रो छ ।
निर्वाचन क्षेत्र नं. १
५७ हजार ४ सय १२ मतदाता रहेको यस क्षेत्रमा राजनीतिक दलका २५ र स्वतन्त्र ८ गरी ३३ उम्मेदवार चुनावी मैदानमा छन् । यस क्षेत्रबाट एमाले पोलिट ब्यूरो सदस्य छबिलाल बिश्वकर्मा, कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाक र एमाओवादीका देवेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ ।
दक्षिणमा सबैभन्दा धेरै यादव र त्यसपछि मुश्लिम समुदाय रहेको यस क्षेत्रमा अघिल्लो चुनावमा १२ हजार ६ सय ६४ मत ल्याएर एमाओवादीका घनश्याम यादव बिजयी भएका थिए । ११ हजार ३ मत ल्याई काँग्रेसका रज्जाकले दोस्रो स्थान लिएका हुन् ।
बुद्धको मावली स्थान देवदहको उचित प्रचारप्रसार र अन्तर्राष्ट्रिय जगतमा परिचित बनाउने, सुकुम्बासी समस्या समाधान, सिंचाइ, बिद्युतीकरण, स्वास्थ्यजस्ता चुनावी मुद्धा साझा बनेका छन् ।
बिगतमा निर्वाचित जनप्रतिनिधिले बिकास निर्माणमा केही गर्न नसकेकाले यस क्षेत्रपछि परेकाले यसपटक जनताले आफूलाई सकारात्मक रुपमा लिएकाले आफ्नो बिजयी सुनिश्चितता भएको बिश्वकर्माले दाबी गरे । लोकतान्त्रिक संविधान निर्माण, समुन्नत नेपाल, व्यवस्थित शान्ति सुरक्षा लगायत्का मुद्धा लिँदै रज्जाक आफू स्थानिय भएको र जनताको हरेक दुःखसुखमा साथ दिएकाले विजयी हुने दाबी गर्छन् । बिगतको परिणाम कायमैं राख्ने पाण्डेले बताए ।
क्षेत्र नं २
५६ हजार ९ सय ४४ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा सदरमुकाम भैरहवासमेत पर्छ । स्वतन्त्र ७ र ३१ दलका गरि ३८ जना चुनावी मैदानमा छन् । काँग्रेस केन्दि्रय सदस्य रामकृष्ण ताम्राकार, राप्रपा महामन्त्री दिपक बोहरा, एमालेका भरतकुमार पोखरेल र एमाओवादीका पुरानै उमेदवार बिनोदकुमार उपाध्याय चुनावी मैदानमा छन् ।
अघिल्लो चुनावमा १० हजार ६ सय १२ मत ल्याएर मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव -गुल्जारी) ले बिजय हासिल गरेका थिए । आफ्नै गाउँ शिवपुरमा भएको विवाद र झडपमा मणि र जितेन्द्र नामका दुई वाईसीएल कार्यकर्ताको हत्यामा अभियोग लागेका ओमप्रकाश उमेदवारी मनोनयनमा समेत उपस्थित थिएनन् । खुलेर प्रचारप्रसार गर्न नपाएका ओमप्रकाशको विजयीको मुख्य कारण उतिबेलाको मधेश आन्दोलन नै थियो । अहिले त्यो परिस्थिति छैन ।
लोकतान्त्रिक संविधान निर्माण, समुन्नत नेपाल, हत्या, हिंसा र आतङ्कको अन्त्य, बेरोजगारीको अन्त्य, सवै खालको अधिनायक बाद र अतिवादको अन्त्य भन्दै घरदैलोमा पुगेका ताम्राकारले बिगतमा लुम्बिनीको बिकासमा गरेको योगदानलाई जनताले नभुल्ने बताउँछन् ।
अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर १ बाट लडेका बोहरा यसपटक जोडतोडकासाथ २ मा केन्दि्रत छन् । सुनौलीदेखि मुस्ताङ्ग हुदै चिन जोड्ने सडक निर्माण, भैरहवालाई शैक्षिक हव बनाउने, अत्याधुनिक रंगशाला, भैरहवा-लुम्बिनी र सुनौली-बुटवल सडकलाई प्रदूषणमुक्त बनाउन ट्रलीबस अवधारणा अघि सार्दै मतदातासमक्ष बोहरा पुगेका छन् ।
अघिल्लो निर्वाचनमा ९ हजार ८ सय २१ मत ल्याएका तत्कालीन एमालेका देवी चौधरी यसपटक फोरम लोकतान्त्रिकबाट लडेका छन् । तर, उनकै पार्टीका सन्तोष पाण्डेले स्वतन्त्र उमेदवारी दिएका छन् । एमालेका भरतकुमार पोखरेलले जनसंगठन बलियो भएको आधारमा आफ्नो विजयी सुनिश्चितता भएको दाबी गर्छन् । 
क्षेत्र नं ३  
६३ हजार ९ सय ९० मतदाता रहेको रुपन्देही ३ मा स्वतन्त्र ७ र दलका २८ गरी ३५ जना उमेदवार चुनावी मैदानमा छन् । यहाँ युवा नेताबीच प्रतिस्पर्धा हुँदैछ । यो क्षेत्रबाट काग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँड र एमाले केन्द्रीय सदस्य घनश्याम भुसाल मुख्य प्रतिस्पर्धामा हुन् । एमाओवादी उमेदवार भरत अर्यालले पनि उनीहरूलाई टक्कर दिने छन् । अघिल्लो चुनावमा काग्रेसकाट खाँडले एमालेभन्दा १ हजार ३ सय ३२ मत बढी ल्याएर बिजयी भएका थिए ।
मतदातालाई रिझाउन तिनै नेताले संविधान निर्माणमात्र होइन, विकासे नारालाई पनि प्राथमिकतामा राखेका छन् । यसअघि जितेर मन्त्री बनिसकेका खाँडले आफ्नो पालामा गरेका विकास निर्माण हेरेर सुरु गरिएका योजना पूरा गर्न र समुन्नत विकासको ढोका खोल्न मत मागेका छन् । एमालेका भुसालले भने लोकतान्त्रीक संविधान, गाउंको सन्तुलीत विकास र आर्थिक स्वरोजगारका लागि भन्दै मत मागेका छन् । एमाओवादीका प्रत्यासी अर्यालले साना दल र चौधरी समुदायलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् ।
क्षेत्र नं. ४
एमाओवादी नेता बावुराम भट्टराई र एमाले सचिव विष्णु पौडेलको उमेदवारीका कारण रुपन्देही ४ चर्चामा छ । एमालेका तर्फबाट पौडेलले अघिल्लोपटक एमाओवादीले भन्दा २ हजार ४ सय ५९ मत बढी ल्याएर जितेका थिए । एमाओवादीभन्दा काग्रेस मात्रै २ सय २९ मतले पछाडि थियो । जीतलाई आफ्नो पाटीकै प्रतिष्ठासंग जोडेर अभियानमा लागेका एमाओवादी र एमालेसामु रुपन्देही ४ मा काग्रेसको पनि टक्कर पर्ने छ । दुई प्रभावशाली उमेदवारको भिडन्तमा कांग्रेसलाई पनि अनुकूल बातावरण बन्दै गएको छ । 
कांग्रेसले स्थानीय विकासका पुराना योजनाकार मानिने सूर्यप्रसाद प्रधानलाई उमेदवार बनाएको छ । यो क्षेत्रमा एमाले संगठन राम्रो छ । आफ्ना सदस्य चोरिन नदिन पनि एमालेले सतर्कता अपनाएको छ । पार्टी संगठन उल्लेख्य राम्रो नभएको एमाओवादीले पार्टीकै शक्तिलाई चुनावमा लगाएको छ । घरदैलोमा व्यस्त काग्रेसका सदस्य पनि आफ्नै उमेदवारलाई जिताउने अभियानमा जुटेका छन् ।
६५ हजार २ सय ४ मतदाता रहेको यस क्षेत्रमा १० स्वतन्त्र र २१ राजनीतिक दलका गरि कुल ३१ उमेदवार छन् । विगतमा जितेको क्षेत्र, पार्टी संगठन राम्रो भएको र जीतपछि बुटवलको विकासका लागि गरेका उल्लेखनीय कामका कारण आफूले जित्ने दाबी पौडेल गर्छन् । आफ्नो समयमा गरेका बुटवलको सडक विस्तार, बृहत खानेपानीको सुरुवात, वुद्ध परिपथको विकास, कालीगण्डकी तिनाउ डाइर्भसनलगायत काम सुनाउदै पौडेलले भोट मागिरहेका छन् । एमाओवादीले लुम्बिनीको विकास गरी राष्ट्रकै मुहार फेर्न विशेष योजनासाथ भट्टराईलाई रुपन्देहीमा ल्याएको भन्दै मतदाताको घरमा पुगेकोे छ ।
क्षेत्र नं. ५
५२ हजार ७ सय ८९ मतदाता रहेको यस क्षेत्रमा स्वतन्त्र ७ र राजनीतिक दलका २१ गरी कुल २८ उमेदवार चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा ११ हजार ८० मत ल्याएर बिजयी भएका एमालेका रामनाथ ढकाल यसपालि पनि मैदानमा छन् । १० हजार ७ सय ८५ मत ल्याएर दोस्रो स्थान लिएका तत्कालीन माओवादीका बसन्तकुमार श्रेष्ठ अहिले नेकपा-माओवादीमा रहेकाले उनको उमेदवारी छैन ।
०५६ देखि यस क्षेत्रमा चुनाव लड्दै आएका काँग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाह र एमाओवादीले जिल्ला इञ्चार्ज दधिराम न्यौपानेलाई उठाएको छ । सडक, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी यस क्षेत्रको साझा चुनावी मुद्दा हो । एमालेले आफ्नो पालामा गरेका काम देखाउदै थप मत तान्ने प्रयास गरिरहेको छ । एमाओवादीले मधेश केन्द्रीत दल र काग्रेसका मतलाई आफूतिर तानीरहेको छ । काग्रेस भरत शाह पुराना नेता भएकाले उनको पक्षमा पाका पुस्ताको सदासयता छ । तिनै दलले चुनावी अभियानलाई तीव्र पारेका छन् ।
क्षेत्र नं ६
४९ हजार ५ सय ४२ मतदाता रहेको यस क्षेत्र शिक्षा, स्वास्थ्य, यातायातलगायतका सुबिधाबाट बढी नै वञ्चित रहेकाले जिल्लाकै दुर्गम क्षेत्र मानिन्छ । १६ गाविस समेटिएको यस क्षेत्रलाई मर्चवार क्षेत्रको नामबाट पनि चिनिन्छ ।
यो निर्वाचन क्षेत्र मधेसवादी दलका सर्वाधिक चर्चित नेताले उमेदवारी दिएका छन् । ७ स्वतन्त्रसहित ३५ उमेदवार मैदानमा छन् । तमलोपा केन्द्रीय महामन्त्री सर्बेन्द्रनाथ शुक्ल, महेन्द्र रायले नेतृत्व गरेको तराई मधेश सद्भावना पार्टी नेपालका केन्दि्रय सदस्य उमाशंकर यादव, मधेशी जनअधिकार फोरम नेपालका केन्दि्रय सदस्य बसिउद्धिन खान, अघिल्लो निर्वाचनमा २ नम्बरबाट निर्वाचित ओमप्रकाश, राप्रपा नेपालबाट जितेन्द्रनाथ शुक्ललगायत चर्चित नेता यस क्षेत्रमा छन् ।
काँग्रेसले यसअघिकै उमेदवार अष्टभुजा पाठक र एमालेले महिला पम्फावती खनाललाई उमेदवार बनाएको छ । मधेशवादी दल केन्दि्रत यस क्षेत्रमा मधेशवादी दलले स्वायत्त मधेश प्रदेशको निर्माण, समावेशी लोकतान्त्रिक संविधानको निर्माण र विभिन्न निकायमा समानुपातिक प्रतिनीधित्वको सुनिश्चितता नारा दिएको छ ।
क्षेत्र नं. ७
विश्वमा नेपाललाई चिनाउने बुद्ध जन्मस्थल लुम्बिनी यस क्षेत्रमै पर्छ । ४२ हजार ४ सय २६ मतदाता रहेको यस क्षेत्रमा स्वतन्त्र ९ समेत ३९ उमेदवार चुनावी मैदानमा छन् । मधेशी जनअधिकार फोरमबाट ८ हजार १ सय २१ मत ल्याएर बिजयी बनेका मुहम्मद वकिल मुसलवान अहिले फोरम लोकतान्त्रिकबाट लडेका छन् । तमलोपाका केन्दि्रय सदस्य  कमलेश्वर पुरी गोस्वामी, काँग्रेसबाट दिनेशमणि त्रिपाठी, एमालेबाट श्रीराम यादव र एमाओवादीबाट मकसुद अलि चुनावी मैदानमा छन् ।
अधिकांश उमेदवार मधेशी दलका रहेको यस क्षेत्रमा पार्टीगत चुनावी नाराबाहेक लुम्बिनीसंगसगै यस वरपरका स्थानिय वासीन्दाको आर्थिक स्तर बृद्धि हुने कार्यक्रम संचालन गरिनुपर्ने सवै उमेदवारको चुनावी मुद्दा हो । अधिकांश दलले लुम्बिनीको नाम भजाएर आफ्नो स्वार्थ पूरा गर्ने तर केही नगर्नेबिरुद्ध आफ्नो उमेदवारी भएको कमलेश्वरले बताए ।
अघिल्लो निर्वाचनमा उनी ३ उय ७३ मत कमी भएर पराजित भएका थिए । आफू सभासद् र मन्त्री छदा सडक, अर्बौं रुपैया लागतका चारवटा ठूला पुललगायत विकासे कार्यक्रम ल्याएकाले जनताको साथ आफुलाई रहेको दावी पुर्व सभासद् मुहम्मद वकिलको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete