प्रचण्ड झाप्पुवाला पदम

कात्तिक । चुनावी प्रचार प्रसार अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० किर्तिपुरस्थित पाँगाबासीले उम्मेदवार समेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बहिस्कार गरेपछि पाँगाबासी चर्चामा छन् ।

नेवार समुदायको बसोबास रहेको उक्त क्षेत्रमा नेवारी भाषाको झिगो स्वनिगः पत्रिकालाई एमाओवादी कार्यकर्ताले कब्जामा लिएर च्यातेपछि प्रचण्डसँग पाँगाबासी आक्रमक बनेका छन् । यतिसम्म कि ती क्षेत्रहरुमा प्रचण्डका पोष्टरहरु च्यातिएका छन् त कतै इन्टु लगाइएका छन् । जहाँ प्रचण्डले राम्ररी प्रचार गर्न समेत सकिरहेका छैनन् ।

शनिबार बिहान चिसो चिसो मौसममा त्यहीं पाँगाबस्तीमा कालो कोट, कालै पाइन्ट र कालै जुत्तामा सजिएको युवा नमस्कार गर्दै झुल्कियो । उनी थिए प्रचण्डलाई गत वर्ष गालामा झाप्पु हानेर चर्चा बटुलेका बागलुंगका युवा तथा प्रचण्ड नेतृत्वकै पूर्व माओवादी कार्यकर्ता पदम कुँवर । जो अहिले काठमाडौं क्षेत्र नम्बर १० का स्वतन्त्र उम्मेदवार समेत हुन् ।

दर्जन बढी स्थानीय युवाहरुको साथ पाएका उनी कतै हात हल्लाउदै हिड्थे, कतै पसल तथा उनलाई हेर्न उभिएको भिडमा गएर भोट माग्थे । प्रचण्डलाई झाप्पु हान्दा कुटाई खाएका उनको अनुहारमा काला खतहरु अझै देख्न सकिन्छ । गालामा काला खत, गलामा माला लगाएका उनी नमस्कार भन्थें, अनि कतै भने म पदम कुँवर भन्दै भोट माग्थे । भोट माग्दा तपाईलाई नै हो, ढुक्क हुनुहोस् भनेर पठाउँदा भने उनी मख्ख पर्थे ।
युवाहरु भेट्ने बित्तिकै नियाउरो तर मायालु स्वरमा नमस्कार गर्दै हात मिलाउँथे । केटाकेटीलाई पनि सुमसुमाउन पछि पर्दैथिए उनी ।

भर्खरको युवा भएर पनि होला, युवतीहरुसँग भने अलिक जलाए जलाए जस्तो देखिन्थे । त्यहीं पनि नमस्कार भन्न भने पछि पर्दैन थिए, युवतीहरु भने लाजले भुतुक्कै हुँदै तर्किन्थे । उनी आफ्नो बाटो तेर्सिन्थे ।

युवाहरुका साथै शहिद बेपत्ता तथा घाइतेहरुले देखाएको बाटोमा हिड्ने बताउने उनलाई शनिबार बिहान पाँगाबासीले राम्रै स्वागत गरेका थिए । स्थानीय युवाहरुको झोल झ्याम्टासम्मको साथ पाएका उनलाई हेर्न भिड नै लागेको थियो । भिडमा उनी अल्मलिदा उनका सहयोगीहरु भने पदम जी ल जाउ जाउ भनिरहेका हुन्थें ।

ग्याँस चुलो चुनाव चिह्न पाएका पदमका बारेमा चुनाव चिह्न भने अलिक बुझिएन है पनि भन्थे स्थानीयहरु । भित्तामा टासिएका अरु उम्मेदवारका पोष्टर तथा पम्प्लेटहरु टासेर च्यातिसकेपनि उनका कतै टाँसिएका भेटिएनन् । उनका सहयोगी  भन्दै थिए, पोष्टर टाँस्न त पैसा नै छैन, कसरी टास्नु त नि ।

पाँगाबस्तीमा जति उनी घुमे त्यति नै हौसिए । किन की उनले त्यहाँ सोचे भन्दा बढी माया पाए रे । तपाईको प्रतिस्पर्धी चाँही कसलाई लिनु भएको छ भनेर सोध्दा दुई हात बाँधेर निर्धक्कले भने 'प्रचण्ड' नै हो ।









यो विषयमा तपाईको धारणा राख्नुहोस्

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete