बझाङको चैनपुरबाट उकालो लाग्दा एकजना बिनु चँदारा नामकी महिलाले मेरो नजिक आएर ब्याग समातिन् र भनिन्, 'तमी जस्तो हिट्न्या मेरो पनि मन थियो । हिटेरै त हो संसार देखिन्या । तमी हिट हाम्रै सट्दा । संसार छिचोल्न नसक्या पनि दुईचार डाँडा त मै पनि छिचोल्छु ।' मुगु जिल्लाको राता पानीमा पुग्दा एक हुल महिला झुम्म जम्मा भए अनि गफिन थाले । अरू बेला त्यस्तै हो, पँधेरामा पानी भर्ने बेलासम्म बेस्सरी बात मार्न पाउँदा खुब मजा लाग्ने बताए । त्यो बेला त अलि मात्तिएर पनि बोल्न पाइयो । यो कुरामा उनीहरूको रमाइलो देखियो । कतिले भने कपाल कोर्दा मात्र हो फुर्सद हुने भनेको त्यही भएर कपाल टाइम लिएर कोर्न मन लाग्छ । अनि कसैलाई धाराको पानी सानो आएको मन पर्छ रे । किनभने धारामा पानी सानो आएकैले गाग्री भरिन समय लाग्छ अनि गफिने समय पनि बढ्छ ।
मधेसका गाउँहरू जब म डुल्थें र महिलाहरूको हुलमा पुग्थें उनीहरू पनि हिंडडुलकै रमाइलोमा लोभिन्थे । मधेसी गाउँका चियापसलमा स्वाट्ट छिरेर, चिया खाँदै नचिनेका मान्छेसँग गफ गरेको कुरा मैले सुनाउँदा उनीहरूको लोभिएको अनुहार हेर्न लायक हुन्थ्यो । केटा मान्छेका लागि दिनदिनैका सामान्य कुरा महिलाहरूका लागि सपना हुन् । अक्षर जान्न नपाएका महिला मात्र होइन, मजाले डिग्री लिएर बसेका महिला पनि यस्ता साना सुखका लागि तड्पेको देखिन्छ । नेपालमा जता पुगे पनि अधिकांश महिलाको एकमुस्ट गुनासो हुन्छ, 'हामीलाई के गर्दा दुःख लाग्छ त ? आजकल धेरै संघसंस्थाले सोध्छन् तर रमाइलो के गर्दा लाग्छ कसैले सोध्दैनन् ।'
केटीका दुःख र रमाइलोका कुरा एका सिक्काका दुई पाटा हुन् । बलात्कारलाई विरोध गर्ने समाजले उसको यौन सुखको अनुभूतिलाई आत्मसात् गर्न पनि सक्नुपर्छ । एउटी अविवाहित केटीले यौन हिंसाका बारेमा प्रशस्त बोल्न र विचार दिन पाउँछे तर उसको यौन अनुभूतिलाई बर्जित विषय ठानिन्छ । म विवाहको संस्थामा जान्नँ वा अलि पछि जान्छु तर यौन सुख लिन्छु भनी कुनै केटीले भने जिब्रो टोक्ने कि नटोक्ने ? केटाले यही कुरा भने प्राकृतिक कुरा हुने, केटीले भन्नासाथ सामाजिक र सांस्कृतिक मान्यता पोत्ने दोहोरो मापदण्डको विषयमा हामीले प्रवेश गर्ने बेला भइसक्यो । केटीको यौनमा सामाजिक र सांस्कृतिक लेप पोतिएको छ । यसले गर्दा उसको व्यावसायिक जीवन छोटिन्छ वा सुरु हुनै पाउँदैन । अनि आत्मनिर्भर जीवनका अनगिन्ती रमाइलोबाट ऊ वञ्चित गरिन्छे ।
महिला परिवार र समाजमा रमाइलोको व्यवस्थापन गरिदिने मात्र होइन, आफैं पनि रमाउन जन्मेको पात्र हो भन्ने कुरामा हेक्का पुगेको छैन । खान लाउन पाऊन्, हिंसा नहोस्, पढ्न पाऊन्, जागिर पाऊन्, राजनीति गरून्, आजकल मनग्ये उठेका छन् यी कुरा । तर केके न ठूलो मानिएको यौनको रमाइलोलगायत भनेजस्तो लुगा लगाएर हिंड्न पाउने र मन लागेको खान पाउनेसम्मका रमाइलोका विषयमा अब छलफल चाहियो । महिलाका सुखका कुरा दबिएका छन्, पुरुषका दुःखका । महिला हाँस्दा उत्ताउलो, पुरुष रुँदा कमजोर । दुःखमा परेकी महिला मज्जासँग रोएर हल्का हुन पाउँछिन् । संघसंस्था अदालत धाउन पाउँछिन् तर केटा मान्छे मर्म लुकाएर हाँस्छन् । सिक्काका दुवै पाटा कमजोर छन् । पुरुषले दुःखमा रुन नपाउने मान्यता पनि हिंस्रक हो, महिलाले हाँस्न नपाउनु जस्तै । हाम्रो हाँसो र आँसु साटासाट गरौं । यो संसार हामीले नै सुन्दर पार्नुपर्छ ।
No comments:
Post a Comment