१२ बुँदे र विस्तृत शान्ति सम्झौता खारेज भएको वैद्यको घोषणा

MOHANकाठमाडौं, पुस १ - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज भएको घोषणा गरेका छन् ।
झण्डै एक साता चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न सोमबार राजधानीमा भएको पत्रकार सम्मेलनमा वैद्यले अब नयाँ शिराबाट सहमति खोजिनुपर्ने बताए ।
तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे समझदारी भएको थियो ।
१० वर्षे लामो नेपाली गृहयुद्ध अन्त्य गर्दै २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो । अहिलेसम्मको राजनीति यिनै सम्झौताको जगमा अडिएको छ ।
'१२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता खारेज भइसकेको छ,' वैद्यले भने, 'अब नयाँ शिराबाट सहमति खोज्नुपर्छ ।' उनले सर्वपक्षीय गोलमेच सम्मेलनबाट राजनीतिक निकास निकाल्नुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष वैद्यले दोस्रो संविधानसभा निर्वाचन बिथोल्न मंसिर ४ अघि विभिन्न ठाउँमा भएको बम विष्फोटको जिम्मा लिएका छन् ।
'जनताको लागि आवश्यक ठानेर कार्यकर्ताले बम पड्काएको हो,' उनले भने ।
वैद्यले पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी सडकमा आए कार्यगत एकता हुन सक्ने बताए ।
'उहाँहरु सडकमा आउनुभयो भने कार्यगत एकता हुन सक्छ,' उनले भने, 'एमाओवादीका जितेका सभासद्ले राजीनामा दिनुपर्छ, समानुपातिकको सूची बुझाउनु हुँदैन ।'

No comments:

Post a Comment