निर्वाचनमा 'धाँधली' भएको भन्नेबारे छानबिन प्रक्रिया अघि बढाउन कांग्रेस-एमाले तयार भएपछि एमाओवादीले संविधानसभामा जाने स्पष्ट संकेत दिएको छ । कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूबीच भएको औपचारिक/अनौपचारिक छलफलमा धाँधली भएको भन्नेबारे छानबिन गर्नुपर्ने मुख्य मागलाई राजनीतिक रूपमा सम्बोधन गर्ने भएपछि ऊ संविधानसभामा जाने भएको हो ।
सभानुपातिकको अन्तिम सूची बुझाउने म्याद थप्न माग गर्दै निर्वाचन आयोगलाई लेखिएको संयुक्त पत्रमा सोमबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेर संविधानसभामा जाने स्पष्ट जनाउ दिएका हुन् । एमाओवादीे मोर्चामा भएका दल मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिका पार्टी, सद्भावना पार्टी, फोरम लोकतान्त्रिक पार्टीले पनि समानुपातिक सूची बुझाउने म्याद बढाउने माग पत्रमा हस्ताक्षर गरेका छन् ।
पत्र लिएर कांग्रेस-एमाले नेतासँगै एमाओवादी नेता पोस्टबहादुर बोगटी पनि निर्वाचन आयोग पुगेका थिए । 'हामीले संविधानसभामा नजाने भनेका छैनौं, हामीले उठाएका माग राजनीतिक रूपमा सम्बोधन गर्न तयार हुने देखिएपछि समानुपातिक सूची बुझाउने म्याद थप्न आग्रह गरिएको हो,' उनले कान्तिपुरसँग भने, 'राजनीतिक समितिको बैठकमा सकारात्मक छलफल भइरहेको छ ।'
समानुपातिक सूची बुझाउनेबारे छलफलै नगरेको एमाओवादीको अब त्यसतर्फ ध्यान केन्दि्रत हुने भएको छ । 'यो तीन दिनमा समानुपातिकको अन्तिम सूची तयार पार्न सकिने अवस्था पनि थिएन,' बोगटीले भने, 'हामीले उठाएका चासो सम्बोधन हुनेबित्तिकै हामी संविधानसभामा जान्छौं ।'
कांग्रेस र एमाओवादीबीच अनौपचारिक छलफलपछि एमाओवादी संविधानसभामा जान सकारात्मक भएको हो । दाहाल निकट स्रोतका अनुसार प्रमुख दलहरू सहमति नजिक छन् । 'सहमतिको सम्भावना बढै गएको छ,' लाजिम्पाट स्रोतले भन्यो, 'विशेष गरी हाम्रा मागमा कांग्रेस सकारात्मक छ । छलफल जारी छ, आगामी बैठकमा सहमति हुने सम्भावना छ ।' निर्वाचनमा धाँधली भएको भन्नेबारे छानबिन प्रक्रिया अघि बढाउन आयोग वा समिति बनाइने छ ।
निर्वाचनको मतगणता जारी भएकै बेला छानबिन नभएसम्म संविधानसभामा नजाने घोषणा गरेपछि एमाओवादीमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय दबाब परेको थियो । एमाओवादीभित्र पनि संविधानसभामा तत्काल जाने/नजानेबारे दुई धार थियो । पछिल्लो समय भने संविधानसभामा सहभागी भएर संविधान निर्माणका लागि संघर्ष गर्नुपर्नेमा सबै नेता सहमत हुन थालेका छन् ।
एमाओवादी नेता देवेन्द्र पौडेलले संविधानसभालाई पनि एउटा संघर्षको मोर्चा बनाउने बताए । 'संविधानसभामा गएर अग्रगामी संविधान बनाउने संघर्ष गर्नुपर्छ,' उनले भने, 'निर्वाचनको धाँधलीबारे पनि छानबिन प्रक्रिया सुरु भएपछि हाम्रो पार्टी संविधानसभामा जान्छ ।'
विगतको संविधानसभामा भएका सहमतिलाई कायम राखेर जाने, संविधानसभाबाहिर रहेका दललाई सहभागी गराउने प्रयास गर्नेमा प्रमुख दलबीच विवाद छैन ।
उच्चस्तरीय राजनीतिक समितिको म्याद थपेर राजनीतिक सहमति गर्ने प्रयास जारी रहेकाले एमाओवादीले केन्द्रीय समिति बैठक पुस दोस्रो साता सारेको छ ।
No comments:
Post a Comment