बागलुङ–कुश्मीसेरा सडक ग्राभेल गरिने

१३ करोड लागत स्टिमेट गरिएको सडकको पहिलो ८ किमी ग्राभेलका लागि नेपाल प्रगती निर्माण सेवाले तीन करोड ९७ लाख रुपैयाँमा ठेक्का लिएको इन्जिनियर रामचन्द्र मिश्रले बताए ।
  • jeep.jpg1
जिल्लाको सबैभन्दा ठूलो आयोजनाको रुपमा सदरमुकाम देखि कुश्मीसेरा जोड्ने सडक ग्राभेलको काम शुरु गर्न सम्झौता भएको छ । जिविसको ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) मार्फत निर्माण हुने २२ किमी सडकको पहिलो र दोश्रो प्याकेजको सम्झौता भइ काम शुरु भएको हो । १३ करोड लागत स्टिमेट गरिएको सडकको पहिलो ८ किमी ग्राभेलका लागि नेपाल प्रगती निर्माण सेवाले तीन करोड ९७ लाख रुपैयाँमा ठेक्का लिएको इन्जिनियर रामचन्द्र मिश्रले बताए । त्यसतै उक्त सडककै दोश्रो प्याकेजको ७ किमी खण्डमा लुम्बिनी रफिना संयुक्त निर्माण सेवाले तीन करोड ९३ लाख ९९ हजारमा ठेक्का लिएको हो । प्रगती निर्माणका केशर खड्का तथा लुम्बिनी रफिनाका कमल केसी र प्रमुख जिल्ला इन्जिनियर कृष्णप्रसाद पौडेलले सम्झौतामा हस्ताक्षर गरेपछि आइतबारदेखि निर्माणको काम शुरु भएको हो । आगामी १५ महिना भित्र सडक ग्राभेल गर्ने गरी निर्माणको काम थालिएको पौडेलले बताए । कार्यक्रमले २२ किमी सडक खण्ड निर्माण गर्दा जग्गावालाको मुआब्जा दिने, प्रभावित क्षेत्रका महिला, जनजाती र दलित तथा अन्य सरोकारवाला लाइ शिप मूलक तालिम दिएर स्वरोजगार बन्न सक्ने बनाउने समेत लक्ष राखेको छ । ड्रिलिपले यस अघि सदरमुकाम देखि बिहुँको घोडाबाँधे सम्म पनि यस्तै प्रकृतिको सडक निर्माण गरेको थियो । २५ किमी सडक ग्राभेल गर्दा झण्डै दुइसय जनालाइ स्वरोजगार मूलक तालिम दिने तथा विभिन्न रचनात्मक काममा लगाउने समेत गरेको थियो । स्थानीय उपभोक्ता समिति मार्फत जिविकोपार्जन सुधारका कार्यक्रम गरिने मिश्रले बताए । सडक निर्माण संगै उक्त खण्डमा पक्की नाली, कल्भर्ट तथा गेजवे समेत निर्माण गरिने कार्यक्रम छ । ग्राभेल भएमा कुश्मीसेरा सम्म बाह्रै महिना सवारी संचालन हुनेछन् । जिल्ला सदरमुकाममा मात्र चार किमी पक्की सडक भएकोले बर्षादमा सबै ग्रामीण सडकमा सवारी संचालन नहुने समस्या पर्दै आएको छ । यसअघि ग्राभेल गरिएको घोडाबाँधे खण्डमा मात्र बर्षादमा नियमित सवारी चल्दै आएका छन् । पूर्वपश्चिम मध्यपहाडी लोकमार्गले पनि अधिकांस स्थानमा निर्माणको काम गरिरहेकोले अहिले सम्म बर्षादमा नियमित सवारी संचालन नभएर जिल्लाबासीले सास्ती खेप्दै आएका थिए । जिविसले अघिल्लो जिल्ला परिषदमा कम्तिमा ६ वटा सडकलाइ बाह्रै महिना संचालन गर्ने बनाउने निर्णय गरेपनि बर्षादमा चलेका थिएनन् । ती आयोजनामा खर्च बढी लाग्ने र श्रोत कम भएपछि संचालनमा आउन नसकेको स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले बताए । ‘क्रमागत रुपमा केही बर्षमा सडक नियमित बनाउन सकिन्छ’ पौडेलले भने,‘सानो श्रोत भएकोले चाहेजस्तो गरेर सडक नियमित चल्ने बनाउन सकिएको छैन ।’ भएका सडकलाइ हेरालो राख्ने र नियमित मर्मत गर्दा संचालन गर्न सकिने उनले बताए । यस अघि कुस्मीसेरा खण्डको यो सडकमा ट्रयाक खोल्न र मर्मतमा झण्डै एक अर्व खर्च भइसकेको अनुमान गरिएको छ ।

No comments:

Post a Comment