काठमाडौ, मंसिर २९ - भारतीय रुपैयाँ (भारु) माग गर्नेको लामो लाइन हुने राष्ट्र बैंकका कार्यालयहरूमा अहिले लाइन स्वाट्टै घटेको छ । करिब १ महिनादेखि राष्ट्र बैंकमा लाइन छोट्टएिको मात्र होइन, सटही काउन्टरमा पनि फालाफाल भारु पाइन थालेको छ ।
'काउन्टरबाट एकजनालाई २ हजारका दरले दिँदा पनि दिनमा ७ लाख भारु जान्थ्यो,' राष्ट्र बैंकको वीरगन्ज शाखाका व्यवस्थापक शंकरप्रसाद आचार्य भन्छन्, 'एक महिनाजति भयो, भारु माग्नेको संख्या नगण्य छ ।' महिना दिनअघिसम्म भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको उनी सम्भिmन्छन् ।
बजारमा हाताहात बढी मूल्यमा बिक्री हुने भएकाले रिक्सा, ठेलावाललगायत श्रमिकसमेत नागरिकता र रुपैयाँ बोकेर भारु सटही गर्न लाइन लाग्थे । १ सय भारु ८ रुपैयाँसम्म बढी (१ सय ६८ रुपैयाँ) मा बिक्री हुने भएकाले नाफा गर्न यसरी लाइन लाग्थे । बिहीबार दिउँसो वीरगन्ज कार्यालयमा भारु लिनेको लाइन थिएन । 'अहिले तोकिएकै विनिमय दरमै पर्याप्त भारु पाइएको छ,' उद्यमी विष्णु अग्रवाल भन्छन् । एक सय भारु बराबर १ सय ६० हुने गरी स्थिर विनिमय दर छ ।
गएको सोमबार भेट्न पुगेको वीरगन्ज उद्योग वाणिज्य संघको टोलीसँग गभर्नर युवराज खतिवडाले पनि भारु फालाफाल हुनुको कारण सोधेका थिए । सबै शाखा कार्यालयले भारुको माग घटेको सूचित गरेको डेपुटी गभर्नर महाप्रसाद अधिकारी बताउँछन् । 'तर कति घट्यो भन्ने कुराचाहिँ मंसिर मसान्तमा मात्र यकिन हुन्छ,' उनी भन्छन् ।
अर्थतन्त्रका सूचकहरूमा कुनै फेरबदल नआए पनि एकाएक सीमावर्ती बजारमा भारुको सहज उपलब्धताको कारण भारततर्फ ठूलो परिमाणमा अवैध रूपमा भएको सुन तस्करी नै भएको व्यवसायी बताउँछन् । नेपालबाट भारत सुन पठाउँदा तोलामै २ हजार भारु -३ हजार २ सय नेपाली रुपैयाँ) आम्दानी हुन थालेपछि दैनिक ठूलो परिमाणमा सुन अवैध रूपमा भारत गइरहेको छ । अत्यधिक सुन आयातले भारतीय अर्थतन्त्रमा असर गरेपछि पछिल्ला दिनमा त्यहाँको सरकारले सुन आयात नियन्त्रण गर्ने नीति लिएको छ । त्यहाँको सरकारले सुनमा भन्सार दर ह्वात्तै बढाएर १५ प्रतिशत पुर्याउनुका साथै बैंकहरूलाई मात्र सुन आयात गर्ने अधिकार दिएको छ । छोटो समयमा भारतले सुनको आयातमा २, ६, ८ प्रतिशत गर्दै १ महिनाअघि १५ प्रतिशत पुर्याएको थियो ।
सुनचाँदी धितोमा कर्जा दिन नपाउने व्यवस्था गरेको छ । वैध रूपमा सुनको आयात घटे पनि माग नघटेकाले अवैध कारोबार फस्टाएको रक्सोलका सुन व्यवसायी बताउँछन् । विवाहको मौसम माग दोब्बरले बढेको छ,' ती व्यवसायीले भने । वीरगन्ज नाकाबाट दैनिक ३० किलो सुन भारत जाने गरेको स्रोतको दाबी
छ । खासाबाट सुन भित्र्याई भारत चोरी निकासी गर्न 'ट्रान्जिट' का रूपमा वीरगन्ज प्रयोग हुँदै आएको छ । गत कात्तिक ५ मा पर्सा प्रहरीले एक व्यवसायीलाई १ किलो सुन अवैध रूपमा भारत लैजाने क्रममा नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक (एसपी) धीरजप्रताप सिंहका अनुसार वीरगन्जमा आधा दर्जनभन्दा बढी व्यवसायी सुनको अवैध कारोबारमा संलग्न छन् । 'केही ठूला घरानाले पनि यसमा लगानी गरेका छन्,' उनी भन्छन् । प्रहरीले निगरानी बढाएपछि सुन भरियाले मलद्वारमा लुकाएर सुन ओसारपसार गरेको प्रहरीको दाबी छ । भरियाले एक खेपको खर्च कटाएर २ हजार भारु पाउने गरेका छन् । नेपालबाट तस्करी हुने ९५ प्रतिशत सुन भारतको कोलकाता जाने गरेको व्यवसायीले बताउँछन् ।
भारतको केन्द्रीय बैंकले जनवरीदेखि स्टेपल गरिएका र केरमेट गरिएको नोट नचल्ने भन्दै यस्ता नोट बैंकमा बुझाउन सूचना जारी गरेकाले पनि बजारमा भारु आपूर्ति भएको व्यवसायी बताउँछन् । उद्यमी अग्रवालका अनुसार नोटको आयु बढाउन त्यहाँको केन्द्रीय बैंकले यस्तो सूचना गरेको छ । कतिपयपले आफूसँग भएका यस्ता नोट बैंकलाई दिनुका सट्टा बजारमा पुर्याएका छन् ।
वस्तुको आयात घटेकाले पनि बजारमा भारुको माग घटेको डेपुटी गनर्भर बताउँछन् । अमेरिकी डलरको घटबढको कारण अन्योल भएपछि व्यवसायीले आयात घटाएका हुन् । वस्तु आयातमा न्यूनबिजकीकरण गर्ने व्यवसायीले बंैकिङ प्रणालीबाट बिजकअनुसारको रकम पठाई बाँकी अनौपचारिक प्रणालीबाट पठाउँछन् । यसरी भारतमा पैसा पठाउँदा भारु नै पठाइन्छ । 'तर आयात नै घटेकाले अनौपचारिक रूपमा पैसा पठाउने क्रम स्वतः घटेको छ,' अधिकारी भन्छन् । वीरगन्ज भन्सार नाकाबाट २ महिनायता आयात घटेको छ । आयात २० प्रतिशतले घटेको भन्सार प्रमुख रामहरि अर्याल बताउँछन् ।
भारुको उपलब्धता बढेसँगै हुन्डीसमेत सस्तिएको छ । एक महिना अघिसम्म १ लाख रुपैयाँ भारत पठाउँदा कमिसनका रूपमा ७ हजार ५ सय रुपैयाँ तिर्दै आएका व्यवसायीले बुधवार १ हजार ५ सय रुपैयाँ मात्र तिरेका छन् । न्यून बिजकीकरण गरी सामान आयात गर्ने व्यवसायीले भन्सारमा घोषणा गर्ने रकम बराबरको प्रतीतपत्र (एलसी) खोलेर बाँकी रकम हुन्डीमार्फत पठाउँछन् ।' भारतबाट नेपालमा निकासी गर्न रोक लगाइएका चिनी, रासायनिक मलको पैठारीकर्ताले पनि भुक्तानीका लागि हुन्डीमार्फत रकम पठाउँछन् ।
चुनाव पनि हो कारण
बजारमा भारु आपूर्तिको कारण संविधानसभा निर्वाचन पनि रहेको राष्ट्र बैंकको अनुमान छ । कतिपय उम्मेदवारले संस्थागत र व्यक्तिगत गरी दुई स्रोतबाट चुनाव खर्च पाएका थिए । भारतीय संस्थापनले आफू निकटका पार्टी र उम्मेदवारलाई चुनाव खर्च बाँडेको थियो । नेताको औकात हेरी तिनले खर्च बाँडेका थिए । यसबाहेक कतिपय उम्मेदवारले सीमापारि रहेका नातागोता तथा जातिगत संस्थाबाट खर्च थापेका थिए । रोटीबेटीको सम्बन्ध भएकाले पारिका नातेदारले नेपालमा चुनाव लडेका उम्मेदवारलाई सहयोग गरेका थिए । यसबाहेक सिमापारि रहेका जातीय संस्थाले यताका उम्मेदवारलाई जातका अधारमा पनि खर्च पठाउने गर्छन् । यस्तो सहयोग भारुमै हुन्छ ।
No comments:
Post a Comment