हिममानवको रहस्य खुल्यो



हिममानवको रहस्य खुल्यो
लन्डन – हिमाली क्षेत्रमा मानिसजस्तो अनौठो जीव (यती) रहेको बारे वर्षाैंदेखिको रहस्य खुलाएको एक बेलायती वैज्ञानिकले दाबी गरेका छन्। लन्डनस्थित अक्सफोर्ड विश्वविद्यालय मानवीय आणुवंशिक अनुसन्धानका प्राध्यापक ब्रायन स्काइजले उक्त जीव प्राचीन ध्रुवीय (पोलार) भालु र खैरो भालुको वर्णशंकर प्रजाति मात्र भएको अनुसन्धान निष्कर्ष सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्।
धेरै वर्षदेखि पर्वतारोही र स्थानीयले हिमाली क्षेत्रमा मानिसजस्तो अनौठो जीव 'यती' सँग जम्काभेट भएको दाबी गर्दै आए पनि ठोस प्रमाण नहुँदा हिममानव हिमाली क्षेत्रको रहस्यमै थियो।
हिमाली क्षेत्रका फरकफरक दुई स्थान भारतप्रशासित कस्मिरको लद्दाख र त्यहाँबाट करिब १ हजार ३ सय किमिपूर्व भुटानका स्थानीयले यती भनिएको अज्ञात जीवको रौं र नर्वेमा फेला परेको प्राचीन ध्रुवीय भालुको चिउँडोको डिएनए मेल खाएको ब्रायनको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ।
ध्रुवीय भालु ४० हजारदेखि १ लाख २० हजार वर्षसम्म अस्तित्वमा थियो।
ब्रायनले धेरै वर्षदेखि विभिन्न जीवका डिएनए संकलन गर्दै आएका छन्। उनले जटिल प्रकारको डिएनए विश्लेषणबाट यससम्बन्धी रहस्य सुल्झाउन सफल भएको बताएका छन्। उनले यसलाई अनपेक्षित र आश्चर्यजनक भनेका छन्।
'रोमान्चक तथा पूर्णरुपमा अनपेक्षित परिणाम आएको छ, त्यसले हामी सबैलाई आश्चर्यमा पारेको छ। तर यसको अर्थ अहिले पनि ध्रुवीय भालु हिमालय क्षेत्रमा डुल्दैछ भन्ने होइन,' ब्रायनले भनेका छन्।
उनले आफ्नो अनुसन्धानबाट प्राप्त प्रमाणले प्राचीन ध्रुवीय भालुको प्रजाति अहिले पनि हिमाल क्षेत्रमा छ भन्ने दाबी भने गरेका छैनन्। दुवैको बासस्थान खापिँदा नयाँ प्रजातिको जन्म भएको हुनसक्ने उनको भनाइ छ।
बेलायतका पर्वतारोही एरिक सिप्टोनले सन् १९५१ मा सगरमाथा आधार शिविरमा भेटिएको 'यती' का पाइलाका डोबको फोटा सार्वजनिक गरेपछि विश्वभर यसले चर्चा पाएको थियो।
बिनाअक्सिजन पहिलोपटक सगरमाथा आरोहरण गरेका विख्यात आरोही राइहोल्ड मेस्नरले पनि सन् १९८६ मा तिब्बतमा डरलाग्दो जीवसँग जम्काभेट भएको बारे अध्ययन गरेका थिए। उनले त्यहाँ ३ सय वर्षअघिको तिब्बतीय पाण्डुलिपि भेटेका थिए। चिमो (यतीको स्थानीय नाम) बारे पाण्डुलिपिमा 'यति बसोबास अयोग्य रहेको हिमाली क्षेत्रमा बस्ने भालुको एक प्रजाति' रहेको उल्लेख भएको समाचारमा जनाइएको छ।
'विज्ञानले कुनै पनि तथ्यलाई स्विकार्ने वा नकार्ने गर्दैन। यसले कुनै पनि तथ्यलाई परीक्षण गर्छ र त्यो मैले गरिरहेको छु,' ब्रायनले भनेका छन्।
उनको अनुसन्धानलाई प्रमुख विषय बनाएर च्यानल फोरले आइतबारदेखि तीनवटा वृत्तचित्र प्रसारण गर्दैछ। यससम्बन्धी उनको पुस्तक आगामी वसन्त ऋतुमा प्रकाशित हुँदैछ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete