दसैंमा टेलिकमको मात्र साढे ६८ लाखको एसएमएस व्यापार


दसैंमा टेलिकमको मात्र साढे ६८ लाखको एसएमएस व्यापार
काठमाडौं -'जीवन प्रविधिमा भर पर्दै गएको छ। पहिला शुभकामना कार्ड छापेर बाँडिन्थ्यो, पछि इमेलमा पठाउन थालियो। अहिले मोबाइल एसएमएस नै ठीक,' लक्ष्मी गु्रपका निर्देशक अन्जन श्रेष्ठको प्रतिक्रिया हो यो। श्रेष्ठले दसैंको शुभकामना सन्देश ३ हजार जनालाई मोबाइलबाटै पठाए। श्रेष्ठले मात्र होइन यो दसैंमा एक करोड ३७ लाख शुभकामना सन्देश आदान प्रदान भए।
दशैंमा शुभकामना आदानप्रदान गर्ने विभिन्न माध्यम छन्। तर, सबैभन्दा बढी प्रभावकारी मोबाइल एसएमएस नै हुने गरेको छ। तपाईंले पनि इमेल, फेसबुक, टि्वटर वा कार्डबाट शुभकामना दिए पनि यो दसैंमा मोबाइलबाट पनि एसएमएस गर्नुभयो होला। नेपाल टेलिकमको सेवा लिएका ग्राहकले फूलपातीदेखि टीकाको दिनसम्म १ करोड ३७ लाख एसएमएस गरेका छन्। 
'अहिले सबैभन्दा प्रभावकारी र सहज मोबाइल मेसेज नै भएको छ,' लक्ष्मी ग्रुपका श्रेष्ठले भने, 'मोबाइलमा सेभ भएका सबै र आफूलाई आएकोलाई रिप्लाई गर्दा ३ हजारभन्दा बढीलाई पठाएँ,' उनले भने। 'दसैंको शुभकामना पठाउँदा मोबाइल मेसेज सबैभन्दा सहज हुन्छ, छोटो लेख्ने र छिटो पठाउने दुवै। यसले पर्सनल अट्याचमेन्ट पनि बढाउँछ,' उनले भने।
नेपाल टेलिकमका अनुसार उसको नेटवर्कमा दसैंको ४ दिनमा १ करोड ३७ लाख एसएमएस आदानप्रदान भएको छ। पोहोर दसैंको चार दिनभन्दा यो दशैंको चार दिनमा ३ प्रतिशत बढी एसएमएस आदानप्रदान भएको हो। गत दसैंको ४ दिनमा १ करोड ३३ लाख आदानप्रदान भएको थियो। घटस्थापनादेखि टीकाको दिनसम्म त २ करोड १५ लाखभन्दा बढी टेक्स्ट सन्देश आदानप्रदान भएको टेलिकमले जनाएको छ।
'मोबाइल प्रयोगकर्ता बढ्दै गएपछि एसएमएस गर्ने क्रम पनि बढिरहेको छ,' टेलिकमका सहप्रवक्ता राजेश जोशीले भने। हरसमय हातमा हुने मोबाइलबाट सन्देश पठाउन सजिलो हुने भएकाले दसैंमा शुभकामना दिनेहरु पनि बढेका हुन्। 'अझ हामीले दसैंलाई लक्षित गरी मेसेजमा ५० प्रतिशतको छुट दिएका छौं, छुटले पनि मेसेज आदानप्रदानमा सहयोग पुर्‍यायो,' उनले भने।
नेपाल टेलिकमले एसएमएसबाट दसैंको चार दिनमा करबाहेक ६८ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ। टेलिकमले अघिपछि प्रति एसएमएस करबाहेक एक रुपैयाँ लिने गरेकोमा दसैंको अवसरमा ५० पैसा लिएको थियो। फोन, एसएमएस जस्ता दूरसञ्चार सेवामा सेवा प्रदायकले लिने शुल्कबाहेक १० प्रतिशत दूरसञ्चार सेवा शुल्क र १३ प्रतिशत भ्याट तिर्नुपर्छ।
सबैभन्दा बढी एसएमएस विजया दशमीको अघिल्लो दिन महानवमीका दिन आदानप्रदान भएको छ। टेलिकमका अनुसार महानवमीमा ३७ लाख एसएमएस आदानप्रदान भयो। त्यस्तै अष्टमीमा ३४ लाख र टीकाको दिन ३३ लाख एसएमएस आदनप्रदान भएको थियो। गत वर्षभन्दा टीकाको दिन यो वर्ष १३ प्रतिशतले एसएमएस बढेको टेलिकमले जनाएको छ। फूलपातीको दिनमा भने ३१ लाख एसएमएस भएको थियो। 'घटनास्थापनादेखि नै एसएमएसबाट शुभकामना दिने क्रम बढे पनि दसैंको चार दिन अत्याधिक रह्यो,' जोशीले भने 'ती चार दिन अरुभन्दा शुभकामना सन्देश बढी आदानप्रदान भएको देखिन्छ।'
टेलिकमले कात्तिक १ गतेसम्म एसएमएसमा ५० प्रतिशत छुट दिएको छ। तिहार र छठमा पनि छुट दिने टेलिकमले जनाएको छ। नेपालमा जिएसएम मोबाइलका प्रयोगकर्ता धेरै छन्। त्यसैले जिएसएम मोबाइलबाट नै बढी एसएमएस भएको टेलिकमले जनाएको छ। एनसेल र युटिएलबाट पनि एसएमएस आदनप्रदान भएका थिए। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपाल टेलिकमका ८५ लाख ४० हजार ८ सय ६७ जिएसएम र सिडिएमए मोबाइल प्रयोगकर्ता छन्। त्यस्तै एनसेलको जिएसएम मोबाइल प्रयोगकर्ता १ करोड ६८ लाख ९ हजार ८ सय ५२ छन्। एनसेलले भने पूर्णिमापछि दसैं एसएमएसको परिणाम थाहा हुने जानकारी दिएको छ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete